सामाजिक सञ्जालमा बेथिती

‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल

पोर्नस्टारदेखि अर्कै घटनाका पीडितसम्मलाई छाडेनन्

जताततै यही फोटो भाइरल भएपछि धेरैलाई लागेको छ– ‘‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी यिनै हुन्।’’ युवतीलाई कतिले गाली पनि गरिरहेका छन्। झापा घर भएकी नाइट क्लब जाँदा अर्कै युवाबाट बलात्कृत युवतीलाई समेत धेरैले सन्दीपसँग जोडेका छन्। आश्चर्य त विदेशी पोर्नस्टारलाई समेत सन्दीपबाट बलात्कृत युवती भन्दै प्रचार गरिएको छ।

‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबरजस्ती करणीको जाहेरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा बहस चलिरहेको छ।

सामाजिक सञ्जालमै एकथरीले आरोपित सन्दीप ‘बलात्कारी नै भएको’ ठहर गरिसकेका छन्। अर्काथरीले सामाजिक सञ्जालमै सन्दीप ‘निर्दोष भन्दै’ फैसला सुनाइसकेका छन्। ‘होटलभित्र राजीखुसी पसेको जोडी, बाहिर निस्कँदा केटी बलात्कृत, केटा बलात्कारी हुन नसक्ने भन्दै’  युवतीप्रति लाल्छना लगाउनेको कमी छैन। सन्दीप निर्दोष रहेको र उनलाई फसाउने षड्यन्त्र गर्ने युवती भन्दै सामाजिक सञ्जालमा विभिन्न युवतीको तस्वीर राखेर भाइरल बनाउने काम पनि भइरहेको छ। यसले अन्जान र निर्दोष युवतीको चरित्र हत्या भइरहेको छ।

सन्दीपविरुद्ध २१ भदौमा उजुरी परेपछि भोलिपल्टैबाट फेसबुक, टिकटक, ट्विटरतिर धेरैले एउटा फोटो कपी पोस्ट गर्ने र सेयर गर्ने काम गरिरहेका छन्। दर्ता नभई सञ्चालनमा रहेका केही अनलाइन मिडियाले समेत ती युवतीको फोटो सार्वजनिक गरेका छन्।

सन्दीपका समर्थकको शिकार बनिन् निर्दोष युवती

जताततै यही फोटो भाइरल भएपछि धेरैलाई लागेको छ– ‘‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी यिनै हुन्।’’ त्यसैले होला पोस्टमा ती युवतीलाई कतिले गाली पनि गरिरहेका छन्।

सन्दीपका समर्थकले  ‘‘फ्यान हुँ भन्दैमा सँगै घुम्न किन जानु?, एकै कोठामा बस्न तयार भएपछि १६ दिनपछि उजुरी लिएर जाने पनि बलात्कृत हुन्छ?, मन मिले चमत्कार, नमिले बलात्कार र यस्तै यस्तै।’’ भनेर गाली गरिरहेको भेटिन्छ।

 

विदेशमा खिचेको फोटो : कहिल्यै विदेश नगएकी युवतीको भन्दै प्रचार

यो फोटो झट्ट हेर्दा १८ वर्षमाथि उमेरकी देखिन्छिन्। फोटो हिउँ परेको ठाउँमा खिचिएको छ। फोटो हेर्दा ठाउँ विदेशको जस्तो देखिन्छ।

पछाडि देखिने घर नेपालको बन्दै आएको शैलीको छैन। नियालेर हेर्ने हो भने पाटी देखिएको एउटा कारको नम्बर प्लेट विदेशी नै देखिन्छ। काठमाडौं प्रहरीका अनुसार सन्दीपविरुद्ध उजुरी गर्ने किशोरीको उमेर नागरिकता अनुसार १७ वर्ष ७ महिना छ। अनि अर्को कुरा उनी अहिलेसम्म विदेश गएकी छैनन्। प्रहरीले उजुरीकर्ता अहिलेसम्म विदेश नगएको र उनका अभिभावक पनि विदेशमा नभएको बताएको छ।

काठमाडौं प्रहरीले  भाइरल तस्वीरमा देखिएकी युवती उजुरीकर्ता नभएको बताएको छ। काठमाडौं प्रहरीले भन्यो ‘‘कानुनअनुसार उजुरीकर्ताको नाम र तस्वीर गोप्य राखिएको छ। तर, अहिले सामाजिक संञ्जालमा सार्वजनिक कुनै पनि पोस्ट पीडितको होइन। यस्ता भ्रम छर्ने खालका सामग्री नराख्न आग्रह गछौँ।’’

यी युवती को हुन् भन्ने अहिलेसम्म खुलेको छैन। पछिल्लोपटक उनले फेसबुक पनि ‘डिएक्टिभ’ गरेकी छन्।  तर, अहिलेसम्म आफूविरुद्ध भएको गलत प्रचारबाजीबारे कतै उजुरी पनि दिएकी छैनन्। उनी नेपाल बाहिर रहेको अनुमान गरिएको छ।

यस्तै, बलात्कार भएको भनिएको होटलकाे सीसीटीभी फुटेज भन्दै केही क्लिपहरू भाइरल भएको छ। ती कुनै पनि सत्य नरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।

पीडितको उजुरी आए प्रहरीले कारबाही गर्ने

यो मुद्दामा सामाजिक सञ्जाल प्रयोगकर्ता संवेदनशील नहुँदा फोटो सार्वजनिक गरिएको युवती पीडित बनेकी छिन्। बालबालिकासम्बन्धी ऐन, २०७५ ले पीडितको नाम गोप्य राख्नुपर्ने भनेको छ। वास्तविक उजुरीकर्ताकै पनि फेटो सार्वजनिक गर्न मिल्दैन। तर, घटनासँग असम्बन्धित व्यक्तिलाई जोडेर चरित्र हत्या भएको छ।

आफ्नो फोटो दुरुपयोग भएको भन्दै ती युवतीले फोटो सार्वजनिक गर्नेविरुद्ध उजुरी दिएमा कारबाही हुने नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

तर, अहिलेसम्म कसैले ‘चरित्र हत्या भएको भन्दै’ उजुरी नगरेको जनाइएको छ। प्रवक्ता पशुपतिकुमार रायले नेपाल भ्युजसँग भने, ‘‘उजुरी दिएको युवती भन्दै आफ्नो फोटो सार्वजनिक भएको र सार्वजनिक गर्नेलाई कारबाही गराउन भन्दै कसैको पनि उजुरी परेको छैन। उजुरी नपरे पनि हाम्रो ध्यानाकर्षण भएको छ। यसरी भ्रम सिर्जना गर्न र अरूको चरित्रहत्या गर्न पाइँदैन।’’

यो पनि पढ्नुहोस् –

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

अर्कै घटनालाई पनि जोडियो सन्दीपसँग

कतिपयले फेसबुक र टिकटकमा अर्की युवतीलाई पनि भाइरल बनाएका छन्। भिडिओसहित भाइरल भिडिओ क्लिपमा युवतीले  पीडा पोखेकी छिन्।

उनले भनेकी छिन्, ‘‘त्यो केटा गएको पाँच मिनेटपछि उठ्दा म पूरै नग्न थिएँ। मेरो एउटा पनि कपडा थिएन। भित्र लगाउने वस्त्र पनि थिएन। राति सुत्दा पूरै लुगा लगाएर सुतेकी थिएँ। अनि कोठाको ढोका पनि खुल्लै थियो। एकैपटक त्यस्तो अवस्थामा उठ्दा त ला मलाई के भयो भनेर पूरै ‘सक्ड’ भएँ।’’

यो सुनेपछि धेरैले सन्दीपलाई गाली गर्दै फाँसी नै दिनुपर्नेसम्मका गाली गरेका छन्। टिकटक र फेसबुकमा भाइरल यो क्लिप पनि सन्दीप लामिछानेविरुद्ध उजुरी दिएकी युवती भनेर पत्याउनेहरूले धमाधम सेयर गर्दै सन्दीपप्रति आक्रोश पोखिरहेका छन्।

सन्दीपविरुद्ध उजुरी परेको अघिल्लो दिन नै सार्वजनिक भिडिओलाई उजुरीपछि एडिट गरेर सानो क्लिप भाइरल गराइएको छ। 

ती युवतीले बलात्कृत भएको भन्दै उजुरी दिएकी त हुन् तर, सन्दीपविरुद्ध भने होइन। अहिले १८ वर्ष ६ महिना उमेरकी ती युवतीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी थिइन्। झापा घर बताउने उनले नाइट क्लब जाँदा अर्कै युवाबाट बलात्कृत भएको भन्दै उजुरी दिएकी थिइन।

‘एउटा न्युज पोर्टलमा ५ सेप्टेम्बर (२०भदौमा) मा १ बजेर ७ मिनेटमा अपलोड गरिएको भिडिओबाट एडिट गरेर सानो क्लिप बनाएर भाइरल बनाएको देखिन्छ। सन्दीपविरुद्ध जाहेरी भने २० भदौमा परेको थियो।

उजुरी पर्नु अघिल्लो दिन नै ‘रमाइलो गर्न नाइट क्लब जाँदा बलात्कारीको जालमा परेँ’ शीर्षकमा सो भिडिओ प्रकाशित छ। यसैले सन्दीपलाई उजुरी गर्ने युवती भन्दै भाइरल सो क्लिप वास्तविक उजुरीकर्ताको होइन।

पोर्न स्टारसमेत भाइरल

लेबनानमा जन्मिएर अमेरिकामा बसाई सरेकी मिया खालिफा पूर्व पोर्नस्टार हुन्। अक्टोबर २०१४ मा अश्लील चलचित्र उद्योग ‘पोर्न फिल्म’ मा उनी प्रवेश गरेकी थिइन्। पछि उनले ‘पोर्न उद्योग’ छाडिन्।

उनै मियाको समेत तस्वीर हालेर अहिले सन्दीपविरुद्ध उजुरी दिने केटी भन्दै भाइरल गराइएको छ। कतिपयले उनको तस्वीर राखेर ‘सन्दीपलाई फसाउने केटी’ भन्दै पोस्ट गरेका छन्। धेरैले त्यसैलाई वास्तविक भन्दै सेयर गरिहरेका छन्।

पूर्व पोर्नस्टार मिया खालिफा, उनको याे तस्वीर राखेर ‘सन्दीपलाई फसाउने केटी’ भन्दै कतिपयले पोस्ट गरेका छन्।

गलत फोटो पोस्ट गर्नेलाई तीन वर्षसम्मको जेल

फोटो सार्वजनिक भएकी युवतीले उजुरी दिएमा सार्वजनिक गर्नेलाई तीन वर्षसम्मको सजाय हुने व्यवस्था छ। मुलुकी फौजदारी संहिताको दफा ३०७ मा तीन वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। तर, विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

सामाजिक सञ्जालको प्रभाव विस्तारसँगै निर्दोषलाई पनि यसरी चरित्र हत्या गर्ने क्रम बढ्दो छ। यो रोक्न प्रहरीकै सक्रियता आवश्यक देखिन्छ।

यो पनि पढ्नुहोस्-

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved