इमरानको ‘जिहाद’सँगै पाकिस्तानी राजनीतिमा नयाँ संकट

इमरान खान र उनको पार्टी पिटिआई लाई वेवास्ता गर्दै नयाँ चुनावमा जान सरकारलाई त्यति सजिलो देखिन्न । खानको पार्टीले आन्दोलन चर्काउँदै लगे पाकिस्तानी राजनीतिमा थप नयाँ संकट उत्पन्न हुने ठानिएको छ ।

नेपालभ्युज

इमरानको ‘जिहाद’सँगै पाकिस्तानी राजनीतिमा नयाँ संकट

नेपाल भ्युज । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खानले शुक्रबार लाहोरदेखि इस्लामावादसम्मको ३८० किमी लामो यात्रा प्रारम्भ गरे। यो यात्रालाई उनले ‘जिहाद’ भनेका छन्। पाकिस्तानी राजनीतिको संकट चर्किदै जाँदा उनले यो यात्रा सुरु गरेका हुन् ।

त्यहाँको निर्वाचन आयोगले २१ अक्टोबरमा पीटीआई नेता इमरान खानको सांसद सदस्यता खारेज गर्दै ५ बर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेपछि खानको पार्टी पीटीआईले यस्तो यात्रा गर्ने निर्णय गरेको हो । खानमाथि सत्तामा हुँदा उपहारमा पाएका सामाना राज्य कोषमा जम्मा गर्नुको साटो महंगो मूल्यमा बेचेर भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

विपक्षीले उनलाई ‘घडी चोर’ को आरोप लगाउने गरेका छन् । खान पुगेका ठाउँमा विपक्षी दलका कार्यकर्ताले ‘घडी चोर– मुर्दाबाद’ को नारा लागाउने गरेका छन् । खानले भने आफू फेरि सत्तामा आउने निश्चित भएपछि विपक्षीले षडयन्त्र र राज्यशक्तिको दुरुपयोग गरेको बताउने गरेका छन् ।

यद्यपि, खानले राज्यकोषमा भएका विदेशी उपहार नियमबमोजिम किनेर बेच्दा आफूलाई फाइदा भएको स्वीकार गरेका छन् । उनको एक भनाइअनुसार राज्य कोषमा भएका उपहारहरू २ करोड १५ लाखमा किनेर ५ करोड ८० लाखमा बेचेका थिए । यो काम विद्यमान कानुन र प्रक्रियाबमोजिम भएको खानको दाबी छ ।

तर, निर्वाचन आयोगले भने यसलाई भ्रष्टाचार भनेको छ। त्यसवापत उनलाई ५ वर्ष चुनाव लड्न बञ्चित गर्नुका साथै सांसद पद खारेज गर्दिएको छ। पाकिस्तानको कानुनअनुसार १० हजारभन्दा कम मूल्यका विदेशी उपहार प्राप्त गर्ने व्यक्तिले आफूसँग राख्न सक्दछ तर, त्यसभन्दा बढी मूल्यका उपहार राज्यकोषमा जम्मा गर्नुपर्दछ ।

राज्य कोषमा यसरी जम्मा भएका उपहार प्रधानमन्त्री र राष्ट्रपतिले खरिद गरेर आफूसँग राख्न सक्दछन तर, बिक्री गरेर मुनाफा कमाउन भने पाउँदैनन् । खानले आफ्नो स्वामित्वमा आएका चीज बिक्री गर्न पाउनु आफ्नो अधिकार भएको बताएका छन् ।

तर, निर्वाचन आयोग यस कुरामा सहमत हुन सकेन । पीटीआईले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गर्ने बताएको छ। सन् २०१८ मा प्रधानमन्त्री बनेका इमरान खानलाई गत अप्रिलमा सत्ताबाट हटाइएको थियो ।

अल्पमतमा परेपछि उनले संसद विघटन गरी नयाँ चुनावमा जाने प्रयास गरेका थिए । तर, संसद विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतले खारेज गर्दिएको थियो सरकारबाट हटेपछि उनले अमेरिकी षडयन्त्रमा आफूलाई सत्ताच्यूत गरिएको र नयाँ चुनावपछि फेरि भारी जनदेशका साथ सत्तामा फर्किने दाबी गर्दै आएका थिए ।

त्यसपछि भएका स्थानीय, प्रदेशिक चुनावले उनको पार्टी पीटीआई झनै लोकप्रिय हुँदै गएको देखाएका थिए ।

खानको संसद पद खारेजी र चुनाव लड्न रोक लागउने निर्णयको दुई दिनपछि खान समर्थक एक पत्रकार अर्सद सरिफको केन्याको राजधानी नैरुवीमा हत्या भएको थियो । केन्याली प्रहरिले स्थानीय सुरक्षा गार्डले झुक्किएर अर्शद सरिफमाथि गोली चलाएको र त्यसको छानबिन गरिने बताएको छ ।

तर, पाकिस्तानी राजनीतिमा भने यसले बबन्डर सिर्जना गरेको छ । पाकिस्तानी सरकारको षडयन्त्रमा उनलाई मारिएको आरोप खानले लगाएका छन् । पत्रकार सरिफले सरकार र सेनाका कतिपय कामको विरोध गर्दै आएका थिए ।

सामाजिक सञ्जालमा सेनाबारे गरिएको एक टिप्पणीपछि उनलाई राज्यद्रोहको मुद्धामा पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि उनी केन्या पलायन भएका थिए । उनले शुक्रबार सुरुवात गरेको लाहोर–इस्लामावाद ३८० किमी राजनीतिक यात्रा पत्रकार सरिफप्रति समर्पित भएको बताएका छन्।

सरकारले भने यात्राक्रममा हुन सक्ने अवाञ्छनीय क्रियाकलाप रोक्न भन्दै सुरक्षा व्यवस्था कडा परेको छ। इमरान खान र उनको पार्टी पीटीआईलाई बेवास्ता गर्दै नयाँ चुनावमा जान सरकारलाई त्यति सजिलो देखिन्न । खानको पार्टीले आन्दोलन चर्काउँदै लगे पाकिस्तानी राजनीतिमा थप नयाँ संकट उत्पन्न हुने ठानिएको छ ।

नोभेम्बर ४ मा खानको ‘जिहादी यात्रा’ इस्लामावाद पुग्नेछ । पकिस्तानी सरकारले भने त्यस दिनको सम्भावित जनप्रदर्शनलाई लक्षित गर्दै १३,००० सुरक्षाकर्मी तैनाथ गरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved