चुनावअघि नै प्रहरीमा ४ एआईजीको दरबन्दी रिक्त हुँदै

बिदामा बसे एआईजी अरुण बिसी

नेपालभ्युज

चुनावअघि नै प्रहरीमा ४ एआईजीको दरबन्दी रिक्त हुँदै

काठमाडौं। निर्वाचनअघि नै प्रहरीमा ४ एआईजीको दरबन्दी रिक्त हुँदै छ । प्रहरीमा हाल दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त छ । ०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष रहेकाले अहिलेका आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेर हदका कारण अवकाश पाएका हुन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि थप दुईजना एआईजीले अवकाश पाउँदै छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुकले कात्तिक २४ बाट अवकाश पाउँदै छन् । प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बिसी कात्तिक १४ बाट अवकाशमा जाँदै छन् ।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अवकाश हुने समय निकट भएकाले उनले बिदा लिएका छन् । ‘एआईजी अरुण बिसी बिदामा बस्नुभएको छ’ प्रहरी प्रधान कार्यालयका ती अधिकृतले भने, ‘तिहार पछिसम्म उहाँ बिदामा बस्नुभएको छ ।’

उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुक एआईजीको उमेर हद बढाउने कसरमा लागेका छन् । प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेर हद ५८ वर्ष बनाउन कात्तिक ३ मा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको थियो । तर, सो प्रस्ताव उपर कुनै निर्णय नभएको एकजना मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

२०७८ चैत १७ मा धीरजप्रताप सिंहसँगै रवीन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । विश्वराज पोखरेलसहित ४ प्रतिस्पर्धीलाई पछि पार्दै एआईजी भएको एक महिनामा सिंह आईजीपी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved