नवौं राष्ट्रिय खेलकुदमा भद्रगोल, सुरुवातमै अनेकौं चटक

खेलकुदस्थल समयमै तयार नहुनु, खेलाडीको पोसाक व्यवस्थापन नहुनु, राष्ट्रिय प्रतियोगिताको लागि पनि खेलाडीले नै पैसा खर्च गरेर जर्सी बनाउन पर्नु, जर्सीमा साइनपेनले नाम लेख्नु, एक खेलाडीलाई लगाएको पदक फिर्ता लिएर अर्कोलाई लगाइदिनु । यस्ता अनेक नाटक देखिन थालेका छन् ।

नवौं राष्ट्रिय खेलकुदमा भद्रगोल, सुरुवातमै अनेकौं चटक

काठमाडौं। फितलो व्यवस्थापनका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरुवातमै विवादमा आएको छ । प्रतियोगितामा एक-दुई हैन अनेकौं कमजोरी छरपस्ट भइरहेका छन् ।

खेलकुदस्थल समयमा नै तयार नहुनु, खेलाडीको पोसाक व्यवस्थापन नहुनु, राष्ट्रिय प्रतियोगिताको लागि पनि खेलाडीले नै पैसा खर्च गरेर जर्सी बनाउन पर्नु, जर्सीमा साइनपेनले नाम लेख्नु, एक खेलाडीलाई लगाएको पदक फिर्ता लिएर अर्कोलाई लगाइदिनु । यस्ता, अनेक नाटक देखिन थालेका छन् ।

७ प्रदेश ३ विभागीय र १ एनआरएनए गरी कुल ११ टोलीको सहभागिता रहेको राष्ट्रिय खेलकुद सुरुवातबाटै आलोचित भएको छ । बिहीबार सुरु भएको महिला हक्की र पुरुष फुटबलमा पनि बेवास्ता गर्न नसकिने व्यवस्थापकीय कमजोरी देखियो ।

महिला हक्कीमा सामग्री समयमा उपलब्ध नहुँदा ढिला सुरु भएको थियो । दोस्रो खेललाई उद्घाटन खेल बनाएर खेलाइएको थियो । पोखरास्थित गोस्टेघाट मैदानमा पुरुष फुटबल निर्धारित समयमा शुरु हुन सकेन । पहिलो कारण बन्यो । प्रदेश १ को टोली ठीक समयमा खेल स्थलमा नपुग्नु । प्रदेश १ खेलस्थल निकै टाढा भएको कारण देखाउँदै मैदानमा ढिला पुगेको थियो ।

तर, मैदान पुगिसकेपछि पनि सहज रूपमा भने खेल सुरु हुन सकेन । यसपछिको कारण थियो, एनआरएनएले प्रतियोगिताको नियम उलङ्घन गरी राष्ट्रिय टोलीका खेलाडीलाई आबद्ध गरेको भनेर लफडा भयो ।

अन्य प्रदेशका खेलाडी आबद्ध गर्न नपाउने नियम हुँदा नेपालका खेलाडीलाई एनआरएनएबाट खेल्नु दिनु अस्वीकार्य भएको भन्दै प्रदेश १ ले विरोध जनाएको थियो । प्रदेश १ ले एनआरएनएमा राष्ट्रिय खेलाडीलाई राखे प्रतिस्पर्धा नै नगर्ने बताएपछि निकै लामो समय विवाद भयो ।

राखेपले प्राविधिक जिम्मेवारी सम्बन्धित खेलकुद संघलाई दिएको छ । प्राविधिक सहयोगका लागि मैदानमा भएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’को टोली पनि निरीह भयो ।  छलफलपश्चात् डेढ घण्टा ढिला खेल सुरु भयो । जसका कारण खेललाई ३५ मिनेटको २ हाफमा खेलाइएको थियो ।

एनआरएनएले प्रदेश १ लाई २–० गोलअन्तरले पराजित गर्‍यो । तर, एनआरएनएको छनोट प्रक्रियाबिना नै नेपालकै खेलाडीलाई सहभागी गराएको कदमप्रति असन्तुष्ट भएको प्रदेश १ ले भने प्रोटेस्टको प्रक्रिया अपनायो ।

तर, एनआरएनएबाट खेलेका राष्ट्रिय खेलाडीको पीडा भने छुट्टै छ । राखेप र प्रदेशबीचको समन्वयको अभाव तथा अस्पस्ट नियमका कारण राष्ट्रिय खेलाडी  किचलोमा परेको देखिन्छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण चलिरहँदा प्रदेश १ का खेलाडी बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलको बन्द प्रशिक्षणमा थिए । यसकारण पनि प्रदेश १ का खेलाडीले राष्ट्रिय खेलकुदको प्रशिक्षण गुमाए ।

छनोटमा नभएका खेलाडीलाई सहभागी नगराउने नियमको पालना गर्दै जिल्लाले प्रदेश १ लाई राष्ट्रिय खेलाडीको नाम टोलीमा सिफारिस गरेनन् । प्रदेशबाट खेल्न नपाउँदा एनआरएनएबाट खेल्ने आशा खेलाडीले बोकेका थिए ।

१८० दिन विदेशमा बसेका नेपाली खेलाडीलाई मात्र टोलीमा राख्न पाउने प्रावधान थियो । तर, एनआरएनएले सो नियमको उल्घङ्न गर्दै नेपालमा भएका खेलाडी समावेश गरेको तर्कसहित प्रदेश १ ले प्रोटेस्ट हालेको हो ।

बागमतीले सुनील बल, अन्जन विष्ट र विशाल श्रेष्ठलाई समावेश गरेर टोली निर्माण गर्‍यो । गण्डकीले पनि गोलरक्षक दीप कार्कीलाई समावेश गरेको थियो ।

यद्यपि, प्रदेश १ ले भने छनोट गुमाएका झापाका निशान खड्का, पुजन उपरकोटी, अनन्त तामाङ, विशाल राई, र धनकुटाका सुजल श्रेष्ठलाई टोलीमा समावेश गरेन ।

प्रोटेस्टपश्चात् विभिन्न टिकाटिपणी आउँदा र खेलाडीलाई नै दोषीको रूपमा हेरिँदा राष्ट्रिय टोलीका अनन्त तामाङ र पुजन उपरकोटीले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख पोखे । दुवैजनाले बिहीबार नेपाली फुटबल जगतमा ‘मामा’ भनेर चिनिने भागिरथ आलेलाई सम्बोधन गर्दै एकैप्रकारको स्टाटस लेखे ।

आलेले आफूहरूलाई टोलीमा नराख्न प्रपन्च रचेको आरोप लगाउँदै उनलाई ‘शकुनी मामा’ भनेर पनि खेलाडीले सम्बोधन गरेका छन् ।

सो स्टाट्सपश्चात समाजिक सञ्जालमा खेलाडीको नै दोष रहेको आरोप पनि आए । आफ्नो प्रदेशबाट नखेली पैसाको लागि एनआरएनएबाट खेलेको भन्दै कतिपयले टिप्पणी गरे । यस्ता, भनाइको खण्डन गर्दै शुक्रबार राष्ट्रिय खेलाडी सुजल श्रेष्ठले भने प्रदेशबाट खेल्ने मौका नदिँदा यस्तो अवस्था सिर्जना भएको प्रस्टाएका छन् । साथै ‘सकिन्छ खेलाउनुस नत्र खेल्न दिनुस’ भन्दै सुजलले खेलाडीको पीडा व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद अन्तर्राष्ट्रिय खेलकुदको लागि ढोका भएको राखेप, नेपाल सरकार र सम्बधित संघलाई थाहा हुनुपर्ने तथ्य हो । यद्यपि, भद्रगोल व्यवस्थापन र बजेट अभावमा नेपाली खेलाडी सहभागी हुन बाध्य छन् । यसले खेलाडीको मनोबल भने पक्कै घटाउँछ । स्वर्ण पदकको अपेक्षा गर्ने तर उपलब्धिका लागि आवश्यक पर्ने तालिम, तयारी र लगानी उपलब्ध नगराउने सरकारी निकाय यसका लागि मुख्य दोषी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved