धनुषा र महोत्तरीमा महिला उम्मेदवारको खडेरी

दलहरूले नपत्याउँदा महिला सहभागिता निराशाजनक

धनुषा र महोत्तरीमा महिला उम्मेदवारको खडेरी

जनकपुरधाम। प्रतिनिधिसभा तथा प्रदेश सभाको आसन्न निर्वाचनमा आइतबार सम्पन्न मनोनयन दर्ता उत्साहजनक देखिए पनि महिला सहभागिता भने निराशाजनक रह्यो। महिला अधिकार, उत्थान र समावेशीका हिमायती भएको दाबी गर्ने दल नै महिला उम्मेदवारका सवालमा पछि हटेका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको खडेरी देखिएको छ । धनुषामा प्रतिनिधिसभा सदस्यका लागि कुल १०३ जनाले उम्मेदवारी दिँदा ६६ जना स्वतन्त्र उम्मेदवारहरू छन् भने ६ जना महिलाले मात्र उम्मेदवारी दिएका छन् । त्यस्तै, प्रदेश सभाका लागि १३८ जनाले उम्मेदवारी दिँदा महिलाको संख्या १० र स्वतन्त्र उम्मेदवारको संख्या ७७ रहेको छ । प्रतिनिधि सभातर्फ धनुषाको चारवटै निर्वाचन क्षेत्रमा १०३ जनाले उम्मेदवारी दर्ता गराएकोमा धनुषा–३ बाहेक अन्य क्षेत्रमा एकजना पनि महिला नेतृको उम्मेदवारी परेको छैन।

धनुषा–३ मा मात्र ६ जना महिला उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । जसमध्ये ३ जनाले स्वतन्त्र उम्मेदवारी नै दिएका हुन् । त्यस्तै, प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ १३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको संख्या १० मात्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जनाले उम्मेदवारी दिएका छन् । जसमा १७ जना स्वतन्त्र उम्मेदवारहरू छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा–१ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने महिला उम्मेदवार एकजना पनि छैनन् । धनुषा–१ को (ख) मा पनि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये स्वतन्त्र ९ जना रहेका छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ । प्रतिनिधि सभातर्फ धनुषा–२ मा १६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा अर्थात् ८ जना स्वतन्त्र उम्मेदवारहरू छन् भने महिलाको संख्या शून्य रहेको छ ।

प्रदेश सभातर्फ धनुषा–२ को (क) मा १४ जनाले उम्मेदवारी दर्ता गराउँदा स्वतन्त्रको संख्या ८ रहेको छ भने एक जना पनि महिला उम्मेदवार छैनन् भने २ को (ख)मा पनि १७ जनाले उम्मेदवारी दर्ता गराउँदा ८ जना स्वतन्त्र र महिला उम्मेदवारको संख्या शून्य रहेको छ । यता, सबैभन्दा महत्वका साथ देखिने धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभातर्फ कूल ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला उम्मेदवारको संख्या ६ रहेको छ भने २१ जना स्वतन्त्र उम्मेदवारहरू छन् ।

यस क्षेत्रमा महिलातर्फ नेकपा एमाले र जसपा बिचको गठबन्धनबाट एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउँदा नेपाल जनता पार्टीबाट पूनम चौधरी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको तर्फबाट प्रविणा कुमारी ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै, ज्योति कुमारी साह, पूजा साह र मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

प्रदेश सभातर्फ धनुषा–३ को (क)मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । २० मध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । जसमध्ये पूनम देवी दास तत्माले मात्र स्वतन्त्रतर्फ आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।

धनुषा–३ को (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जना स्वतन्त्र उम्मेदवारहरू छन् भने यस क्षेत्रबाट ५ जना महिलाको स्वतन्त्र उम्मेदवारी परेको छ । प्रदेश सभा सदस्यका लागि यहाँ स्वतन्त्र महिला उम्मेदवारहरू किरण देवी साह, पवन देवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीताकुमारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै, प्रतिनिधि सभातर्फ धनुषा–४ मा ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा २० जना स्वतन्त्र उम्मेदवार छन् भने महिला उम्मेदवारको संख्या शून्य रहेको छ ।
प्रदेश सभातर्फ धनुषा–४ को (क)मा १९ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये नेपाल लोकतान्त्रिक पार्टीबाट आशा देवी साह, जनमत पार्टीबाट मिथलेश देवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीरा कुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छिन् । यस क्षेत्रमा ८ जना स्वतन्त्र उम्मेदवारहरू छन् ।

त्यस्तै, धनुषा–४ को (ख)मा १३ जना उम्मेदवारहरू प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धामा देखिएका छन् । जसमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जनता प्रगतिशिल पार्टी नेपालको तर्फबाट एक मात्र महिला उम्मेदवार शोभा कार्कीको उम्मेदवारी परेको छ । आगामी निर्वाचनका लागि धनुषामा ४ लाख ९ हजार ९८५ मतदाता कायम भएका छन् । जसमध्ये महिला १ लाख ९३ हजार १०४ र पुरुष २ लाख १६ हजार ८७५ जना रहेका छन् भने अन्य ६ जना छन् ।

त्यसैगरी, महोत्तरीमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरीबाट ८ प्रतिशत महिलाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका ४ प्रतिनिधि र ८ प्रदेशसभा गरी १२ सिटका लागि २३९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २१ जना महिलाले मात्र मनोनयन दर्ता गराएका छन् । यो सङ्ख्या कुल उम्मेदवारको साढे ८ प्रतिशत मात्र हो । यो प्रतिशतले संविधानले महिलाका लागि प्रत्याभूत गरेको ३३ प्रतिशतको उपहास भएको महिला नेतृहरूको गुनासो छ ।

चारै क्षेत्रका निर्वाचन अधिकृतले जारी गरेको पछिल्लो रिपोर्टअनुसार प्रतिनिधि सभाका ४ सिटका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ५ अर्थात् २ प्रतिशत मात्र छ । प्रदेश सभाका ८ निर्वाचन क्षेत्रमा १७० जनाले मनोनयन दर्ता गराएकामा ६ स्वतन्त्र गरी १६ जना अर्थात् ९ प्रतिशत महिलाको मात्र उम्मेदवारी परेको छ ।

प्रदेश सांसद एवं नेकपा एमालेकी नेतृ शारदादेवी थापा निर्वाचनमा महिलाहरूको न्यून सहभागितालाई विभिन्न कोणले विश्लेषण गर्छिन् । उनको भनाइमा दलहरूले महिलाको नेतृत्व र अस्तित्वलाई नस्वीकार्ने प्रवृत्तिका कारण संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत आरक्षणबाट समेत वञ्चित हुनुपरेको हो । ‘कानुनलाई बाध्यकारी नपारेसम्म संविधानमा लेखेर मात्र नहुने रहेछ’ प्रदेश सांसद थापाले भनिन् ।

प्रतिनिधि सभाका लागि त निर्वाचन क्षेत्र नं २ र ४ बाट एक जना महिलाको पनि उम्मेदवारी परेन। प्रदेश सभाका लागि भने सबैभन्दा बढी क्षेत्र नं १ बाट ७ जना महिलाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, २ बाट ३ जना, ३ बाट २ जना र ४ बाट ४ जना महिलाले मनोनयन गरेको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन् ।

यो पटक महोत्तरीमा साना ठुला २४ वटा पार्टी चुनावी मैदानमा देखापरेका छन् । तर, सबैभन्दा बढी राप्रपा नेपालबाट ५ महिलाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, राप्रपा, एमाले, लोसपा, नेकपा एकीकृत समाजवादीलगायत ११ पार्टीले मात्र महिलालाई अवसर दिएको देखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved