निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपालभ्युज

निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताएका छन् ।

“नेपालमा लगानीको वातावरण छ । पुराना र जटिल कानुनहरू परिवर्तन भएका छन् । अरु बाँकी कानुनहरू परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईंले अन्य देशमा पाउने भन्दा राम्रो छ,” उनले भने ।

गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न सुरु गरेको बताउँदै यसलाई थप प्रभावकारीरूपमा अगाडि बढाउन उनले आग्रह गरे । नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरूले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

“तपाईंहरूले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।

उक्त अवसरमा गैर आवसीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको जानकारी गराउनुका साथै उनले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली संघलाई आग्रहसमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved