यी सात उम्मेदवार, जो प्रधानमन्त्री बन्ने दौडमा छन्

कांग्रेसमा आकांक्षीको लर्को, एमाले र माओवादीमा भने निर्विकल्प

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्य चुनावी मुद्दा अब प्रधानमन्त्री बन्ने छ। कांग्रेसमा देउवापछि अन्य चारजना नेता पनि प्रधानमन्त्री बन्ने भन्दै मैदानमा उत्रिएका छन् ।

यी सात उम्मेदवार, जो प्रधानमन्त्री बन्ने दौडमा छन्

काठमाडौं। निर्वाचनमा दलहरूले मत माग्ने मुख्य आधार एजेन्डा नै हो। दलले बनाएको चुनावी एजेन्डासँगै उम्मेदवारले पनि मतदातासँग भोट माग्नकै लागि आफैँले छुट्टै एजेन्डा बनाउँदै आएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्य चुनावी मुद्दा भने अब प्रधानमन्त्री बन्ने छ।

कांग्रेसमा देउवापछि रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र गगन थापाले समेत प्रधानमन्त्रीको दाबी गरेका छन्। ओली र प्रचण्डको विकल्पमा एमाले र माओवादीमा अर्को नेताको दाबी छैन।

केपी शर्मा ओली

झापा ५ बाट उठेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई चुनाव जितेमा प्रधानमन्त्री बन्ने र पुराना बाँकी काम पुरा गर्ने आश्वासन दिँदै आएका छन्। ओली २०४८ सालको आमनिर्वाचनदेखि निरन्तर सोही क्षेत्रबाटै चुनावी मैदान छन्।

०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओलीले अन्य चुनाव भने हारेका छैनन् । यसपटक कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धनसँग ओली चुनावी मैदानमा उत्रिएका छन् । तर उनले पनि राप्रपासँग तालमेल गरेर सुरक्षित हुने बाटो रोजेका छन् । कांग्रेसले खगेन्द्र अधिकारीलाई नै दोहोर्‍याएको छ । अधिकारी गत चुनावमा पनि ओ‌लीसँग फराकिलो मतान्तरले हारेका थिए ।

ओलीको विकल्पमा एमालेमा प्रधानमन्त्रीको रूपमा अर्को नेताको दाबी छैन। एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ ।

ओली पहिलोपटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए। आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए।

दोस्रोपटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए। २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रूपमा कसैलाई अघि सारेको थिएन। तर, गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने।

एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भयो। तर दुई पटक संसद् विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए।

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्रीको एजेन्डा लिएर नयाँ क्षेत्रमा चुनावमा होमिएका अर्का उम्मेदवार हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनी गोरखा २ मा प्रतिनिधिसभाका उम्मेदवार हुन्। अहिलेसम्म चार वटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येक पटक क्षेत्र फेरेका छन्। काठमाडौं–१० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए।

२०६४ मा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं–१० बाट हारे। सिरहा–५ बाट भने झिनो अन्तरले जिते। २०७४ मा चितवन–३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेका छन्। उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता भएका छन्।

सत्ता गठबन्धनलाई बहुमत हासिल गराउने र आफू प्रधानमन्त्री बन्ने उनको आकाङ्क्षा छ। औपचारिक घोषणा नगरेपनि प्रधानमन्त्रीको उम्मेदवार आफू भएको भन्दै उनी चुनावी प्रचारमा छन्। यसअघि दुईपटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले प्रधानमन्त्रीको लास्ट ‘इनिङ्स’ खेल्न चाहेको सार्वजनिक रुपमै बताइसकेका छन् । प्रचण्डविरुद्ध नेकपा एमालेले अब्दुस मियाँलाई उतारेको छ ।

संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित प्रचण्ड २०६५ भदौमा प्रधानमन्त्री बनेका थिए। उनको सरकारलाई नेकपा (एमाले), मधेशी जनअधिकार फोरमको समर्थन थियो। १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बनेपछि उनले त्यो अवसर पाएका थिए। उनको पहिलो कार्यकाल २०६६ वैशाखसम्म रह्यो।

संविधान बनेपछि २०७२ असोजमा माओवादीले नेकपा एमालेसँग नौ/नौ महिना प्रधानमन्त्री हुने सहमति गरेको थियो। पहिलोपटक प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नौ महिनापछि सत्ता छाड्न मानेनन्। सत्तामा उक्लने प्रचण्डको चाहना पनि पूरा हुन पाएन। उनले सत्ता गठबन्धनको भरपर्दो विकल्प कांग्रेसलाई देखे। एमालेसँगको गठबन्धन टुटाएर १९ साउन ०७३ मा काङ्ग्रेसकै समर्थनमा प्रधानमन्त्री बने।

तर चुनाव नजिक आएपछि भने उनी फेरि एमालेसँग गठबन्धन गर्न पुगे तेस्रो पटक प्रधानमन्त्री बन्ने आकाङ्क्षा लिएर। तर, पार्टीभित्रको शक्ति सङ्घर्षकै कारण माओवादी र एमालेको एकता भई बनेको नेकपा विघटन भयो। ओलीले सहमति अनुसार प्रधानमन्त्री सुम्पन चाहेनन्।

नेकपाबाट एमाले र माओवादी अलग भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्यूत गर्न प्रचण्डले कांग्रेससँग गठबन्धन गरे। सो समयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका उनले चुनावपछि भने आफू प्रधानमन्त्री हुने विश्वास लिएका छन् ।  चुनावअघि विभिन्न सार्वजनिक कार्यक्रममा उनले आफू ‘वेटिङ प्रधानमन्त्री’ भएको बताउँदै आएका छन्।

देउवाको रहर अझै पुगेको छैन  

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्री हुने दौडमा छन् । डडेल्धुराबाट निर्वाचन लड्न लागेका देउवा छैटौँपटक प्रधानमन्त्री बन्ने कसरतमा छन् । देउवा डडेल्धुराबाट वि.सं २०४८ मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनमा निर्वाचित हुँदै आएका छन् ।

यसअघि, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । देउवा २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी देउवा पाँचपटक प्रधानमन्त्री भए । ज्योतिषमा विश्वास गर्ने देउवाले आफू सात पटकसम्म प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् । उनले आफूले जिते मात्र डडेल्धुराले जित्ने तर्क गर्दै मतदातालाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् ।

१८ पटकको दौडमा रामचन्द्र 

१७ पटक प्रधानमन्त्री र एक पटक पार्टी सभापतिमा पराजित भइसकेका पौडेल योपटक पनि संसदीय प्रतिस्पर्धामा छन् । उनी तनहुँ एकबाट चुनाव लड्दै छन् । यसपटक उनी पराजयका श्रृंखला तोड्न चाहन्छन् । सांसद जित्ने मात्र होइन  प्रधानमन्त्री नै बन्ने दौडमा पौडेल छन् । तर, यो पटक पनि उनलाई रोक्न कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले विद्रोही रुपमा उम्मेदवारी दिएका छन् ।

२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग पौडेल पराजित हुनुमा जोशीको पनि हात थियो । तनहुँ एकमा नेकपा एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ । राना भन्दा पनि जोशीको उम्मेदवारी पौडेलका लागि खतरा हुने मानिएको छ । तर, पौडेलले भने आफ्नो भूमिका देशले खोजिरहेको बताएका छन् ।

२००१ सालको असोजमा जन्मेका पौडेल राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि राजनीतिमा होमिएका हुन् । सुशील कोइरालाको मृत्युपछि कांग्रेसको कार्यवाहक सभापति समेत भइसकेका पौडेलले पाँच पटक संसदीय चुनाव जितेका छन् ।

उनले २०४८ को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए । तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए । तनहुँको क्षेत्र नम्बर १ बाट लगातार पाँचपटक निर्वाचित पौडेल २०७४ सालमा भने पराजित भएका थिए ।

पौडेल संसदमा भएको प्रधानमन्त्रीको चुनावमा १७ पटकसम्म पराजित भएका थिए । २०६७ साउनमा प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए । आवस्यक

मत तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म प्रतिस्पर्धा भयो । आठौं प्रतिस्पर्धामा प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे ।

१७औँ पटकमा झलनाथ प्रधानमन्त्रीमा निर्वाचित भए भने रामचन्द्रले हारे । यो पटक उनलाई गठबन्धनको साथले संसदमा पुर्‍याए पनि प्रधानमन्त्री बन्न भने सहज छैन । पार्टी भित्रै आकांक्षी धेरै छन् भने अर्को तर्फ पार्टी महाधिवेसनमा शेरबहादुर देउवालाई समर्थन गरेकाले इतर समूह उनीसँग रुष्ट छ ।

शशांक कोइराला

कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा.शशांक कोइरालाले पनि प्रधानमन्त्री बन्ने चाहना सार्वजनिक रुपमा प्रकट गरेका छन् । उनी यो पटकपनि नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छन् । उनले आफ्नो चुनावी एजेण्डा नै प्रधानमन्त्री भएका बताइसकेका छन् ।

बीपी पुत्र शशांक २०६४, २०७० र २०७४को संसदीय निर्वाचनमा नवलपुर १ बाटै विजयी बनेका थिए । पटक-पटक जितेर पनि केही गर्न नसकेको आरोप खेपेका कोइरालाले यो पटक प्रधानमन्त्री बन्ने फण्डा लिएर जनतासँग भोट मागिरहेका छन् ।

तर पार्टीमा उनको प्रधानमन्त्री बन्ने दाबीलाई गम्भीर रुपमा भने कसैले पनि लिएको छैन ।

गगन थापा

कांग्रेस महामन्त्री गगन थापा यो पटक पनि काठमाडौं ४ बाटै चुनाव लड्दै छन् । सर्लाही र कास्कीबाट समेत सिफारिसमा परेका थापाले अन्तिममा काठमाडौं चार नै रोजेका छन् । प्रष्ट वक्ताको छवी बनाएका थापाले योपटक भने प्रधानमन्त्री बन्नकै लागि संसदमा जान खोजेको बताउँदै आएका छन् ।

राजनीतिक जीवनमा छिटो फड्को मारेका थापा कांग्रेस पार्टीभित्र लोकप्रिय छन् । विद्यार्थी राजनीतिको जगमा उदाएका उनी २०५९ मा राजा ज्ञानेन्द्रको शाही प्रतिगमनपछि भएका संघर्षका कारण बढी चर्चामा आएका थिए ।

थापाले दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार निर्मल कुइँकेललाई १३ हजार र हालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई १६ हजार मतान्तरले हराएका थिए ।

यस्तै २०७० र २०७४ को निर्वाचनमा पनि थापा गतिलो मतान्तरले विजयी बने । यो निर्वाचनमा पनि उनले पुरानै प्रतिस्पर्धी पाएका छन् । थापासँग एमालेका राजन भट्टराई चुनावमा लड्दै छन् । उनी यसअघिको चुनावमा थापासँगै पराजित भएका थिए ।

संस्थापन इतर समूहमा रहेका थापालाई प्रधानमन्त्री बन्न सहज भने छैन । त्यसका लागि सबैभन्दा पहिले उनी पार्टी संसदीय दलको नेता निर्वाचित हुनु पर्नेछ । अहिले टिकट वितरण र समानुपातिक सूची बनाउँदा संस्थापनकै हालिमुहाली रहेकाले थापाको आकांक्षा कसरी पुरा होला भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशमान सिंह

गणेशमान सिंह पुत्र प्रकाशमान सिंह पनि योपटक प्रधानमन्त्री बन्ने भन्दै चुनावी मैदानमा उत्रिएका छन् । उनले चुनाव अघि नै प्रधामन्त्रीमा दाबी गरेका छन् । कांग्रेस महाधिवेसनमा नै शेरबहादुर देउवाले सिंहलाई प्रधानमन्त्रीको आश्वासन दिएर आफ्नो पक्षमा पारेको कांग्रेस बृतमा चर्चा चलेको थियो । शेरबहादुरलाई समर्थन गरेर जिताएको लाभ प्रधानमन्त्री बनेर असुल गर्ने सिंहको दाउ छ ।

उनी यो पटक पनि काठमाडौं एक बाटै उम्मेदवार बनेका छन् । लामो समयसम्म कम्युनिस्टको वर्चस्व रहेको उक्त क्षेत्रमा २०६४ सालपछि भने कांग्रेसले जित्दै आएको छ ।

यो क्षेत्रबाट प्रकाशमानले ह्याट्रिक गरेका छन् । चौथो पटका सांसद बनेर प्रधानमन्त्री बन्ने उनको सपना छ । तर उनलाई यसपटक क्षेत्रमै जित्न कठिन रहेको विष्लेषण भइरहेको छ ।

उनीसँग रमेश खरेल, पुकार बम, रवीन्द्र मिश्र जस्ता चर्चित व्यक्ति प्रतिस्पर्धामा छन् । गत चुनावमा पनि सिंहले मिश्रलाई ८ सय १८ मत अन्तरले मात्रै पराजित गरेका थिए । सांसदमा जेनतेन जिते पनि प्रधानमन्त्री र संसदीय दलको नेता बन्न चाहिने सांसदको समर्थन उनलाई प्राप्त हुनेमा आशंका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved