पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद

नेपालभ्युज

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद
फाइल फोटो

कावासेती ।  बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन् ।

यसैगरी पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरमा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलामा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको बुलिङ्टार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिए।

यातायात सम्पर्क विच्छेद भएपछि दसैँ मान्न घर गएका फर्किन पाएका छैनन् भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमाद–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

पहाडी क्षेत्र जोड्ने मुख्य बाटोमा ठाउँठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलामा समेत बाढी आएपछि गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने सडक पूर्णरूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामान लैजानसमेत कठिन भएको छ ।

पूर्वी नवलपरासीमा बाढीले ८० घर डुबायो

लगातार वर्षापछि नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोटमा ८० घर डुबाएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए।

गैँडाकोट–२ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीको टोलीले डुबान क्षेत्रमा रहेका मानिसलाई चौपाया र सरसामानसहित उद्धार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको पाठकले बताए ।

लगातार परेको वर्षापछि नारायणी नदीमा आएको बाढीका कारण जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नारायणी नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा रहेका छन् । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारीमा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved