युक्रेनका भूभाग आफ्नो क्षेत्रमा गाभेको पुटिनको घोषणा

नेपालभ्युज

युक्रेनका भूभाग आफ्नो क्षेत्रमा गाभेको पुटिनको घोषणा

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन् ।

यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उनले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, ‘मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनको राज्यको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिन आदेश दिएको छु ।’

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो ।

अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूको शब्दमा ‘यो एक छद्म जनमत सङ्ग्रह’ पछि आएको हो ।

रूसको आक्रमणपछि रूसी सेनाको कब्जामा रहेको क्षेत्रमा भएको जनमत सङ्ग्रहमा रूसले आफ्नो पक्षमा बहुमत प्राप्त गरेको जनाएको छ । रूसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र सोही महिनामा डोनेट्स्क र लुहान्स्कको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको थियो ।

यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रूसको नियन्त्रणमा रहेका तर युक्रेनले दावी गरेको चार क्षेत्रहरूमा रूसको पहलमा गरिएको जनमतसङ्ग्रहको लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

सीएनएनका अनुसार अमेरिकाको पहलमा ल्याइएको उक्त प्रस्तावमा सबै देशलाई यी चार क्षेत्रको स्थितिमा आएको परिवर्तनलाई मान्यता नदिन आग्रह गरिएको छ । अल्बानियाले पनि समर्थन गरेको यो प्रस्तावले युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले धम्की वा बल प्रयोगका कारण कुनै पनि देशले आफ्नो देशको भूभाग कब्जा गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएका छन् । गुटेर्रेसले भनेका छन्, ‘यतिबेला मैले महासचिवको रूपमा राष्ट्रसङ्घको घोषणा–पत्र कायम राख्ने मेरो कर्तव्यलाई जोड दिनै पर्छ ।

उनले थपे, ‘घोषणा–पत्रमा स्पष्टरूपमा भनिएको छ ‘धम्की वा बल प्रयोगका कारण अर्को देशले कुनै पनि देशको भूभाग कब्जा गर्नु बडापत्र र अन्तर्राष्ट्रिय कानून र सिद्धान्तको उल्लङ्घन’ हो ।’

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी भूभाग मिचेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई गैरकानुनी भनेका थिए । रूसको यो कदमलाई ‘भूमि हडप्ने कार्य’ को संज्ञा दिँदै उच्च अमेरिकी कूटनीतिज्ञले मस्कोको कब्जालाई अमेरिकाले कहिल्यै मान्यता नदिने बताएका थिए।

ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै भने, ‘क्रेमलिनको छद्म सन्दर्भ युक्रेनको भूमि हडप्ने थप प्रयासलाई ढाकछोप गर्ने निरर्थक प्रयास हो ।’ यसअघि क्रेमलिनले युक्रेनको कब्जामा रहेका चार क्षेत्रलाई समेट्न रूसले शुक्रबार हस्ताक्षर गर्ने बताएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भने,’ग्रान्ड क्रेमलिन प्यालेसको जर्जियाली हलमा स्थानीय समयअनुसार १५.०० बजे नयाँ भूभागलाई रूसमा गाभ्ने विषयमा हस्ताक्षर समारोह हुनेछ ।’ एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved