महिला साफ फुटबल

भुटानविरुद्ध लगातार चौथो जितको खोजी

नेपालभ्युज

भुटानविरुद्ध लगातार चौथो जितको खोजी

काठमाडौं । महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमने-सामने हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा मंगलबार बेलुका साढे पाँच बजे खेल सुरु हुनेछ ।

महिला साफ च्याम्पियनसिपको इतिहासमा प्रतिद्वन्दीको तुलनामा भुटान केही कमजोर देखिएको छ । विगतमा तीनपटक नेपालले भुटानसँग प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले तीनवटै खेलमा फराकिलो अन्तरले बाजी मारेको छ । 

सन् २०१३ मा पाकिस्तानको इस्लामावादमा आयोजना भएको साफमा पहिलोपटक नेपाल र भुटान भिडेका थिए । सो खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो । सोही खेलमार्फत सावित्रा भण्डारी ‘साम्बा’ ले डेब्यु गरेकी थिइन् । 

यस्तै, सन् २०१७ मा भारतको सिलिगुडीमा नेपाल र भुटान दोस्रोपटक मैदानमा उत्रिएका थिए । सो खेलमा पनि नेपाल ८–० गोलअन्तरकै जित निकाल्न सफल भएको थियो । अहिलेका प्रशिक्षक कुमार थापाले त्यस संस्करणमा पहिलोपटक टोलीलाई प्रशिक्षित गरेका थिए । 

सन् २०१९ मा नेपालको विराटनगरमा आयोजना भएको साफमा दुई राष्ट्रले तेस्रोपटक प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

यसलाई हेर्दा भुटानविरुद्ध घरेलु टोली बलियो देखिन्छ । भुटानले नेपालविरुद्ध हालसम्म एक गोल पनि गर्न सकेको छैन । साथै गोल मेसिन साम्बा र महिला टोलीको वाल एन्जिला तुम्बापो सुब्बाको प्रदर्शनले नेपाल सशक्तरूपमा प्रस्तुत हुने देखिन्छ । 

यद्यपि, दोस्रोबाट तेस्रो खेलमा आइपुग्दा भुटानले केही सुधार गरेको देखिन्छ । दुई वर्षको अन्तरालमा भुटानले डिफेन्समा सुधार गरेको छ । सोमबार भएको पत्रकार सम्मेलनमा पनि भुटानका प्रशिक्षक क्युङ सुकले पूर्वतयारीलाई ध्यान दिएर विगतको गल्ती सुधार्ने प्रयत्न गरेको बताइन । कप्तान पेमाले मैत्रीपूर्ण खेलमा पाएको अनुभवलाई सदुपयोग गर्ने बताइन् । 

 नेपाल पहिलोपटक साफको उपाधी जित्ने योजनामा छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा पाकिस्तानले आठ वर्षपछि सहभागिता जनाएको हो। प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved