म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि
फाइल फोटो

जेनेभा । म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको आज यहाँ सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

म्यान्मारको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसङ्घीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंंसालगायत यौन र लैङ्गिक अपराध र बालबालिकाविरुद्धका अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ ।

प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यान्मारका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय उनीहरूलाई दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको, आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका सामग्री प्रतिवेदनमा समावेश गरिएका छन् ।

महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यान्मारमा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरेका छन् ।

रोहिंग्याहरूले निरन्तर झेल्नुपरेको दुर्दशा, अपराधका दोषीहरूमाथिको कारबाही, दण्डहीनताको अन्त्यमा जोड दिएका छन् । सङ्कलित प्रमाणको संरक्षण गर्ने बताउँदै उनले त्यसका आधारमा दोषीलाई कारबाही गर्नुपर्छ भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved