तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्बको वस्तु नेपाल भित्रिँदा निर्यात शून्य

नेपालभ्युज

तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्बको वस्तु नेपाल भित्रिँदा निर्यात शून्य
फाइल तश्वीर

काठमाडौं । चीनसँग नेपालको प्रमुख व्यापारिक नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्बाधरूपमा नेपालमा वस्तुहरू आइरहेको छ ।

‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि, यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने ।

रसुवागढी र तातोपानी नाका एकातर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो । २०७६ चैत ११ गते कोरोना नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको छैन ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो २८ महिनामा (२०७६ चैतदेखि २०७९ असार मसान्तसम्म) तातोपानी र रसुवागढी नाकाबाट ६८ अर्ब २२ करोड ५४ लाख ८ हजार रुपैयाँको वस्तु चीनबाट नेपाल आएको छ । सो अवधिमा नेपालबाट ती नाका हुँदै एक रुपैयाँको वस्तु पनि चीनतर्फ गएको छैन ।

लामो समयदेखि रसुवागढी र तातोपानी नाकाबाट चीनले आफ्नो भूमिमा नेपाली वस्तु भित्रन दिएको छैन । कारण उसले कोरोना महामारी देखाउँदै आएको छ । तर, चीनबाट नेपाल भित्रने वस्तुमा भने कुनै रोकतोक गरेको छैन । चीनको यो रवैयाले गर्दा नेपाली व्यावसायी मर्कामा पर्दै आएका छन् । उनीहरू अन्य बाटो प्रयोग गरी वस्तुहरू चीन पठाउन बाध्य भएका छन् ।

‘रसुवागढी र तातोपानी नाका खुला गर्नुपर्यो भनेर नेपाली व्यवसायीहरूले पटक-पटक भाग गरेका छन्, तर खुलाउन सकिएको छैन,’ निर्देशक खड्काले भने, ‘व्यवसायीहरूले अन्य बाटो प्रयोग गरेर वस्तुहरू चीन पठाउँदै आएका छन् ।’

गत आर्थिक वर्ष वर्ष २०७८/७९ मा मात्र रसुवागढी र तातोपानी नाकाबाट ४० अर्ब ६५ करोड २६ लाख ६० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । रसुवागढीबाट २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ र तातोपानीबाट १४ अर्ब २ करोड ३७ लाख २० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँ र तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ गरी २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को चैत, वैशाख, जेठ र असार महिनामा रसुवागढीबाट ७ करोड ७८ लाख २१ हजार रुपैयाँ र तातोपानीबाट ४ अर्ब ६३ करोड ८ लाख ९२ हजार रुपैयाँ गरी ४ अर्ब ७० करोड ८७ लाख १३ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved