छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने, फोनकल विवरण नमाग्ने

नेपालभ्युज

छानबिन समितिले आजदेखि प्रतिवेदन लेख्ने, फोनकल विवरण नमाग्ने

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले उनको फोनकल रेकर्ड नमागेरै बुधबार (आज)बाट प्रतिवेदन लेख्न थाल्ने भएको छ। समिति गठन भएको १६ औँ दिनमा बुधबार बिहान साढे ११ बजे शुरू हुने बैठकबाट अहिलेसम्म प्राप्त विवरणमाथि प्रतिवेदन लेख्न थालिने भएको हो।

आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक हुनु अघिल्लो दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेका उनको फोनकल विवरण नहेरीकन नै प्रतिवेदन लेख्न लागिएको हो।

शर्माको फोनकलको विवरण मगाउन विपक्षी नेकपा एमालेका सांसदहरूले माग गरे पनि सत्तारुढ दलका सांसदहरूले अस्वीकार गरेका छन्। जसकारण शर्माले कसुर गरेको पर्याप्त प्रमाण बिनानै प्रतिवेदन लेख्न थालिएको हो। हरेक व्यक्तिलाई केही न केही आरोप लाग्दै आएको भन्दै फोनकल विवरण माग्दा व्यक्तिगत गोपनीयता र स्वतन्त्रता हनन् हुनसक्ने निष्कर्षसहित नहेरिने भएको समितिका सदस्यहरूले बताएका छन्।

अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। सचिव अर्यालले भने, ’’बुधबार बिहान बस्ने समिति बैठकमा प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन्छ।’’

यसअघि समितिले शर्मासहित अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव लगायत व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। उक्त अनुसन्धान र सोधपुछबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए÷नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनमा अघि बढेको हो।

आर्थिक वर्ष २०७९\८० को बजेट सार्वजनिक हुनु अघिल्लो दिन तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न समिति गठन भएको हो। उक्त आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved