मधेशमा बढ्दो गर्मी : अस्पतालमा बढे बिरामी, बन्द हुन थाले विद्यालय

वर्षात् नहुँदा गर्मीजन्य संक्रमणका बिरामीहरु समेत बढ्न थालेका छन्।

मधेशमा बढ्दो गर्मी : अस्पतालमा बढे बिरामी, बन्द हुन थाले विद्यालय

जनकपुरधाम। बढ्दो गर्मीले मधेशमा जनजीवन प्रभावित बनेको छ।

असार तेस्रो साता यतादेखि पानी नपर्दा धनुषासहित मधेश प्रदेशवासीलाई घरबाहिर निस्किनै मुस्किल पर्न थालेको छ।

एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्यान्हतिर ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने गर्छ।

गर्मीकै कारण दिउँसो मुख्य बजारका सडकहरु सुनसान हुने गरेका छन्। सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या घटेको छ। विद्यालय, उद्योग व्यवसाय, प्रभावित बनेका छन्।

पर्याप्त वर्षा हुन नसक्दा ‍धान रोपाइँ समेत प्रभावित बनेको छ। कृषि ज्ञान केन्द्र धनुषाका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन।

गर्मीजन्य संक्रमण बढ्यो

वर्षात् नहुँदा गर्मीजन्य संक्रमणका बिरामीहरु बढ्न थालेका छन्। गर्मीका कारण स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप बढेको चिकित्सकहरु बताउँछन्।

प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासले अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेको बताए। पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी पनि बढेको डा. दासको भनाइ छ।

चिकित्सकहरूले यो समयमा पर्याप्त पानी पिउन र ताजा तथा स्वच्छ खानेकुरा मात्रै खान सुझाव दिएका छन्।

बन्द हुँदै विद्यालय, पठनपाठन प्रभावित

अत्यधिक गर्मीका कारण कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ स्थित माध्यमिक विद्यालय सखुवा बजारका प्रधानाध्यापक सन्तोष यादव बताउँछन्।

‘‘अत्यधिक गर्मी छ। पढ्ने समयमा विद्यार्थीहरु कापी किताब समातेर हम्केर बस्ने गर्छन्,’’ उनले भने, ‘‘पंखा चलाउन विद्युत आउने–जाने ठेगान हुँदैन। पढाइमा उनीहरुको ध्यान केन्द्रित गर्नै समस्या परेको छ। गर्मीले चिड्चिडाहट भएर पढ्नै मान्दैनन्।’’

क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए। ‘‘विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्,’’ उनले भने, ‘‘घमौराले गर्दा शरीर चिलाउँछ, उनीहरु पढ्न पाउँदैनन्।’’

गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्‍याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ताले बताए। अभिभावक ज्योती झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने बताइन्। ‘‘समय समयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन,’’ झाले भनिन्, ‘नानीबाबुहरू त गर्मीले झर्कने, रुने गर्छन्।’’

गर्मीकै कारण २९ असारदेखि २६ साउनसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाको शिक्षा शाखामा प्रमुख मिहिलाल यादवले बताए।

यादवले भने, ‘‘हाम्रो नगरपालिकाभित्रका धेरैजसो विद्यालयका छाना जस्तापाताले छाएका छन्। गर्मीको समयमा बस्न मुस्किल हुने हुँदा केही दिनका लागि विद्यालयमा बिदा दिइएको हाे।’’

नगर क्षेत्रका संस्थागत विद्यालयहरू पनि बन्द गर्न अनुरोध गरिएको उनले बताए। संस्थागत विद्यालयहरू प्याब्सन, एन प्याब्सन तथा मधेश प्याब्सनको निर्णयअनुसार साउन देखि बन्द गर्न लागिएको जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा आधारभूत तथा माध्यमिक गरेर ५१ वटा सामुदायिक विद्यालयहरू छन्।

पेय पदार्थको बिक्री बढ्यो, मूल्य मनलाग्दी ! 

पेय पदार्थका व्यापारीलाई भने गर्मीले फाइदा पुर्‍याएको छ। गर्मीका कारण पेय पदार्थको बिक्रीमा वृद्धि भएको व्यापारीहरु बताउँछन्।

अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रीमको व्यापार बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताए। दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भु प्रसाद गुप्ताको पसलमा पनि बिहानैदेखि ग्राहकको भिड लाग्ने गर्छ।

जिल्लाका ग्रामीण भेगमा समेत पेय पदार्थको बिक्री बढ्न थालेपछि व्यापारीहरुले मनलाग्दी मूल्य तोक्न थालेका छन्। किराना तथा डेरीमा ४० रुपैयाँमा पाइने ड्यु तथा कोकाकोलाको मुल्य होटेलहरुमा ५० रुपैयाँ तिर्नुपरेको उपभोक्ताको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved