वीरगञ्ज। वीरगन्जस्थित नापी कार्यालय पर्साका एक बिचौलिया घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका-१३ मुरली घर भएका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे पक्राउ गरेका हुन्।
निजामती कर्मचारीको पोशाक लगाएर उनी नापी कार्यालयमा प्रवेश गरेका थिए। सेवाग्राहीले दिएको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई वीरगन्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट नियन्त्रणमा लिएको हो।
नापी कार्यालयका कर्मचारीले बहाना बनाएर सेवाग्राहीको काम नगरेपछि पाण्डेले सेवाग्राहीलाई लालपुर्जा दिने आश्वासनमा घुस रकम मागेका थिए। त्यसका लागि पाण्डेले सेवाग्राहीसँग घुसबापत १ लाख २५ हजार रुपैयाँ मागेका थिए।
पक्राउ परेका पाण्डेविरुद्ध ठगी कसुरमा कारबाही अगाडि बढाइने प्रहरी उपरीक्षक बस्नेतले बताए।
Facebook Comment
Comment