कुष्ठरोग के हो र कसरी बच्ने ?

मानव सभ्यताको सबैभन्दा पुरानो रोगका रूपमा कुष्ठरोगलाई लिने गरिन्छ। कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर काला स्नायु (नशा)मा असर गर्दछ।

नेपालभ्युज

कुष्ठरोग के हो र कसरी बच्ने ?

काठमाडौं। मानव सभ्यताको सबैभन्दा पुरानो रोगका रूपमा कुष्ठरोगलाई लिने गरिन्छ। कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर काला स्नायु (नशा)मा असर गर्दछ।

यो रोगबाट प्राचीन कालदेखि नै मानिसहरू ग्रस्त थिए। तर, सन् १८७३ मा मात्र आएरमात्रै यो रोगको कारण पत्ता लाग्यो। नर्वेका वैज्ञानिक डाक्टर जिए ह्यानसनले कुष्ठरोग किटाणुको कारणले हुने रोग हो भन्ने पत्ता लगाएका थिए।

यस रोगले छालामा असर गर्दा शरीर नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखापर्नुका साथै स्नायुहरूमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशीहरू कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

लक्षण

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु, अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु, बिस्तारै हातखुट्टाका औंलाहरू कमजोर हुनु, र खुम्चँदै जानु, अपांगता हुनु, स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झमझम गर्नु।

कसरी सर्छ ?

उपचार नगरेका कुष्ठरोगका बिरामीको सम्पर्कमा आउँदा श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ। तर यो हत्तपत्त चाँडै सरिहाल्ने भन्ने हुँदैन। यो एकदमै कम सर्ने सरुवा रोग हो। कुष्ठरोग भएको २ देखि ५ वर्षभित्र रोगका लक्षण देखिन्छ।

के गर्ने

कुष्ठरोगबारे अनेक भ्रम समाजमा व्याप्त भएकाले सबैभन्दा पहिले ती भ्रमलाई चिरेर समाज र परिवारमा यसबारे सचेतना फैलाउन आवश्यक छ। कसैलाई कुष्ठरोग देखिएमा आत्तिहाल्न पर्दैन। यो सर्ने सम्भावना एकदमै कम हुन्छ र यसको निदान हुन्छ। कसैलाई यो रोग देखिएमा बिरामीलाई अस्पताल पुर्‍याउन सहयोग गर्ने र रोगबारे सही जानकारी दिई उपचारमा सहयोग गर्ने गर्नुपर्छ। कसैलाई कुष्ठरोगका लक्षण देखिएमा वा शंका भएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्छ।

उपचार

कुष्ठरोगको उपचार दुई प्रकारले गर्ने गरिन्छ। केही बिरामीले ६ महीना र केहीले एक वर्षसम्म औषधि सेवन गर्नुपर्छ।

डाक्टर बास्कोटाका अनुसार शरीरमा धेरै किटाणु र दागहरू भएका बिरामीले अन्य व्यक्तिलाई यो रोग छिटो सार्नसक्ने संभावना हुन्छ। त्यस्ता बिरामीहरूले १२ महीनासम्म औषधि सेवन गर्नुपर्ने उनले बताए।

कुष्ठरोग लागेर समयमै उपचार गरिएन भने अपांगता हुनसक्छ। यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि लाग्न सक्छ, तर १५ वर्षमाथिका उमेर समूहका व्यक्ति बढी जोखिममा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved