बागमती प्रदेशसभाको बैठक पुनः शुरु

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक शुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो।

नेपालभ्युज

बागमती प्रदेशसभाको बैठक पुनः शुरु
फाइल तस्वीर।

काठमाडौं। बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः शुरु भएको छ। नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः शुरु भएको हो।

एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक शुरु भएको हो।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक शुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए। निरौलाले पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफूअनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए।

उनले त्यसको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताएपछि बैठक १० मिनेटको लागि स्थगन गरिएको थियो।

तर, करिब साढे २ घण्टापछि मात्रै बैठक शुरु भएको छ। बैठकमा सांसदहरुले आगामी आवको लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved