लेखन-संवाद

नेपाली साहित्यलाई ठेकेदारहरूबाट जोगाउन जरुरी भइसक्यो : डा. राजेन्द्र विमल

साहित्यका ठेकेदारहरू अस्थायी हुन्छन्, यिनीहरूका कार्य स्थायी हुँदैन। कुनै भुइँचालो आयो भने यिनीहरूका मान्यता भत्किन्छन्।

नेपाली साहित्यलाई ठेकेदारहरूबाट जोगाउन जरुरी भइसक्यो : डा. राजेन्द्र विमल

जनकपुरलाई ‘इपिसेन्टर’ बनाएर तराई-मधेशका जीवनशैलीलाई लेखन धरातलमा उभ्याउँदै आएका छन्, डा. राजेन्द्र विमलले। मूलतः कथासर्जकको पहिचान बनाएका उनी गजलसर्जकका रूपमा पनि स्थापित छन्। सीमित लेखे पनि हृदयस्पर्शी छन्, उनका गजल। पछिल्लो समय गीत पनि लेख्न थालेका छन्।

सन् १९४७ मा जनकपुरको सामान्य कायस्थ परिवारमा जन्मिएका डा. विमलले लामो समय प्राध्यापन पेसामा बिताए। पद्मकन्या (काठमाडौं), महेन्द्र मोरङ (विराटनगर) र रामसागर-रामस्वरूप (जनकपुर) मा प्राध्यापन गरी अहिले अवकाशप्राप्त जीवन व्यतित गरिरहेका छन् उनी।

मूल्यविहीन राजनीति, आपराधिक मनोवृत्ति, संवेदनहीनता र स्वार्थी प्रवृत्तिमाथि चोटिलो ढंगले मार्तोल हान्न सक्षम उनका कथाहरूका शक्ति कतिसम्म छन् भने, ‘ऐंजेरु’ शीर्षकको कथाले उठान गरेको विषयवस्तुप्रति मधेशवादी नेताहरू नै असहमत रहे, असहिष्णुता प्रदर्शन गरे। साम्प्रदायिक शक्तिहरूका सबभन्दा ठुलो हतियार मानिने असहिष्णुताका सिकार पनि बने उनी। उनको लेखनमाथि नै प्रश्नचिह्न उठाए, मधेशवादी दलका अगुवाहरूले। तर, आफ्ना मूल्य, मान्यता र आदर्शबाट एक इञ्च पनि दायाँ-बायाँ नगरी उनी लेखनकर्ममा क्रियाशील रहिरहे।

उनका लेखकीय-मानवीय संवेदना एक अन्तर्धाराका रूपमा विशिष्ट स्वरूपसहित विन्यस्त हुन्छन्। गहन लेखन-निष्ठा, लगनशीलता र अचुक संवेदना पस्किन सक्षम डा. विमलको लेखन यात्रा र मैथिली साहित्यको वर्तमान अवस्थाबारे विवश वस्तीसँगको संवादः 

जीवनको लामो अवधि प्राध्यापन पेसामा बिताउनुभयो। प्राध्यापक डा. राजेन्द्र विमल एक बेजोड कथाकारका रूपमा प्रकट हुनुमा कुनै घटना-प्रसंग वा संघर्ष-गाथा जोडिएका छन् कि ?

मेरो मान्यता के छ भने साहित्य जीवनानुभूतिका अनेक पक्षलाई लिपिबद्ध गर्ने एउटा कला हो। मैले जीवनमा जेजति अनुभूति गरेँ, त्यसैलाई लेखनमा उतारेँ। ती कुनै काल्पनिक कुरा थिएनन्। मेरा वरिपरि छरिएका घटनाहरूलाई टिपेर कथाको रूप दिँदै आएँ। त्यसलाई कुनै संघर्ष-गाथा नभनुँ होला। जीवनमा त्यसका केही प्रभाव भने अवश्य छन्।

मेरा कतिपय कथा विवादित पनि भए। त्यस्ता कथाहरूमा सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले प्रभाव परेको ठान्दछु।

कथाहरू कसरी र किन विवादित बने ? कथाले उठाएको विषयवस्तु वा मुद्दाका कारण विवादित बने कि अरू कुनै कारण छन् ?

मैले एउटा कथा लेखेको थिएँ- ‘ऐंजेरु’। त्यो कथाले मलाई निकै लोकप्रियता दिलायो। त्यही कथा मधेश क्षेत्रमा भने विवादित बन्यो। खासगरी, तथाकथित मधेशवादी पार्टीहरूका मन्त्री स्तरसम्मका नेताहरूले त्यो कथालाई लिएर आक्रामक शैलीमा आफूलाई प्रस्तुत गरे। उनीहरूको आरोप थियो- ‘यो कथाले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूलाई अपमान गर्‍यो। धेरै मधेशीहरूले बलिदान दिएका छन्। उनीहरूले बगाएको रगतलाई अवमूल्यन गर्ने काम गरियो।’

मेरो एउटा गालामा त भानुभक्तको शालिक तोड्नेहरूले चड्कन लगाइसकेका थिए, अर्को गालामा पनि विद्यापतिको शालिक तोड्न उद्यत जमातले चड्कन लगाए।

मेरो एउटा कथा पाठ्यपुस्तकमा पनि राखिएको थियो। त्यो कथा पाठ्यपुस्तकमा राखिएपछि भैरहवाका विद्यार्थीहरूले विरोध जनाउँदै भने, ‘यो कथा हामी पढ्दैनौं, यो कथामा एकपक्षीय कुरा उठाइएको छ।’

यस्ताखाले विवाद हुँदा कहिलेकाहीं तनावको सामना पनि गर्नुपर्दो रहेछ। तनावले गर्दा मेरो निद्रा नै अपहरण भएको मैले महसूस गरेको छु। पछिल्लो समय भने मैले ‘स्वान्त सुखाय’ का निम्ति गीतहरू लेख्न थालेको छु।

कतै तपाईंले मधेश आन्दोलनलाई विभ्रमीकरण गर्नुभएको हुँदा मधेशवादी दलका नेताहरूको असन्तुष्टि झेल्नु परेको त होइन ?

मधेश आन्दोलन हुँदा त्यो आन्दोलन गलत दिशामा गइरहेछ भन्ने मेरो मान्यता थियो। मेरो मान्यता के थियो भने, घरभित्र दाजुभाइबीच झगडा हुँदा आमालाई गाली गर्नु हुँदैन। आमा भनेको आमा नै हो। कुनै अधिकारको लागि विवाद भयो भने त्यो घरभित्र नै सल्टाउनु पर्छ। यो मानवअधिकारको स्थापित मान्यता पनि हो।

अर्कोतिर, कुनै खास वर्गका मानिसलाई मधेशमा बस्नै नदिने वा लखेट्ने प्रवृत्ति ठीक थिएन भन्ने पनि मलाई लागेको हो।

मैले जुन मान्यता राखेँ, त्यसमा मलाई बोल्न नदिए पनि मेरो आत्माले त्यसलाई सम्झिरहेको थियो। त्यतिबेला मानवताभन्दा ठुलो कुनै धर्म छैन भन्ने मलाई अनुभूत भयो।

विगतमा मधेश आन्दोलनको बेला पहाडी समुदायका धेरै मानिस मधेशबाट विस्थापित हुनुपर्‍यो। तपाईंका कथाहरू त्यतातिर पनि केन्द्रित भए नि, हैन र ?

हो, त्यो समय मैले धेरै कथा लेखेँ। त्यतिबेला मलाई के लाग्यो भने, यो विषयमा कसैले पनि बोलिरहेका छैनन्, अब कसै न कसैले बोल्नुपर्छ, लेख्नुपर्छ। त्यही भएर मैले लेखेँ। पछि त धेरैले बोल्न थाले, धेरैले लेख्न थाले।

पछि त यही विषयमा राजवजीले पनि लेख्नुभयो। तराई-मधेशका मानिसले केही न केही बोल्नुपर्छ भन्ने मेरो आत्माले ठहर गर्‍यो र मैले लेखेँ।

म एउटा घटना सम्झिन्छु। मधेश आन्दोलन चर्किरहेको बेला धनुषाको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेल हुनुहुन्थ्यो। उहाँ स्वयं स्रष्टा हुनुहुन्छ। यो कुरा उहाँलाई पनि थाहा छ कि, मधेश आन्दोलनको बेला मैले दुई थप्पड खाएको थिएँ।

मधेश आन्दोलनको बेला जनकपुरको भानुचोकमा अवस्थित आदिकवि भानुभक्त आचार्यको शालिकलाई ढालेर नजिकैको नालामा फाल्न खोजिँदै थियो। त्यो दृश्य मैले देखेँ र आपत्तिको भाषामा भनेँ, ‘ए, यसो नगर। भानुभक्तको शालिकलाई यसो गर्नु हुँदैन। भानुभक्तले त रामायण लेखेर हामी मिथिलावासीलाई धेरै गुण लगाउनुभएको छ।’

मैले आफ्ना कुरा राखिरहेकै बेला एकजनाले मलाई एक चड्कन लगाए। आफूलाई असुरक्षित ठानेर त्यसपछि म त्यहाँबाट भागेँ।

आदिकवि भानुभक्त आचार्यको शालिक ढालेपछि त्यसको नकारात्मक प्रतिक्रियास्वरूप केही व्यक्ति विद्यापतिको शालिकमाथि आक्रमण गर्न विद्यापति चोकमा जान लागेका रहेछन्। मैले उनीहरूलाई भनेँ, ‘यो शालिकले के बिगारेको छ र ? यसलाई ढाल्नु हुँदैन।’

मेरो एउटा गालामा त भानुभक्तको शालिक तोड्नेहरूले चड्कन लगाइसकेका थिए, अर्को गालामा पनि विद्यापतिको शालिक तोड्न उद्यत जमातले चड्कन लगाए।

म यस्तो पात्र हुँ, गलतलाई गलत भन्न मात्र सिकेँ।

यस्ता घटनामा मैले केही पीडा भोगेको छु, यो भिन्न पाटो हो। तर मेरो आत्माको आवाज भएको हुँदा मलाई कुनै दुःखेसो छैन। मेरो जीवन सार्थक छ। किनभने, त्यो बेला मैले सत्य बोलेँ। कसैप्रति कुनै पूर्वाग्रह राखिनँ।

हामीले साहित्यलाई दर्पणमात्र भनेर नभनौं। यो चेतनाको विशिष्ट रूप पनि हो। साहित्य प्रतिविम्ब मात्र होइन अँध्यारो कोठा छ भने त्यसको प्रतिविम्ब अँध्यारै आउँछ। लेखकको काम त चेतनाको दृष्टिलाई पर्गेल्नु हो। कहाँ सर्प छ, कहाँ चमेरो झुन्डिएको छ, कहाँ बिच्छी छ, यस्ता कुरा समाजलाई देखाउन सक्नुपर्छ लेखकले।

कथा लेखनको प्रारम्भिक दौरमा कोबाट बढी प्रभावित हुनुभयो, जसको प्रभावले तपाईंको लेखनलाई गति दिलायो ?

नेपाली साहित्यमा दुईजना लेखकले मलाई धेरै प्रभावित तुल्याउनुभयो। एकजना गुरुप्रसाद मैनाली हुनुहुन्छ। उहाँका कथा पढेर म अभिभूत भएको थिएँ। अर्को, मेरा गुरु/द्रोणाचार्य रमेश विकल हुनुहुन्छ। म उहाँको एकलव्य हुँ।

गुरुप्रसाद मैनाली युगीन कथा र आजका कथामा कथ्य र शिल्पका दृष्टिले कस्तो अन्तर पाउनु हुन्छ ?

अहिले धेरै परिवर्तन आएका छन्। मान्यताहरूमा पनि धेरै भिन्नता देखिएका छन्। युगअनुसार परिस्थितिहरू पनि बदलिन्छन्। कथाका विषयवस्तुहरू पनि बदलिन्छन्।

पुरानो समयमा जुन मान्यताहरू थिए, ती मान्यताहरू बदलिएका छन्। कुनै यस्तो बेला थियो, जुन बेला नारीलाई नरकको खानी भनियो। कुनै यस्तो बेला पनि आयो, नारी समानताको प्रश्न प्रबल रूपमा उठ्न पुग्यो। मान्यताहरू फरक हुँदै गए।

रोलाँ बार्थले यति राम्रो कुरा गरेका छन्, उनी भन्दछन्- ‘कुनै पनि मान्यता दृश्य र दृष्टिकोण दुवैमा परिवर्तित हुँदै जान्छन्।’

हामीले साहित्यलाई दर्पणमात्र भनेर नभनौं। यो चेतनाको विशिष्ट रूप पनि हो। साहित्य प्रतिविम्ब मात्र होइन। अँध्यारो कोठा छ भने त्यसको प्रतिविम्ब अँध्यारै आउँछ। लेखकको काम त चेतनाको दृष्टिलाई पर्गेल्नु हो। कहाँ सर्प छ, कहाँ चमेरो झुन्डिएको छ, कहाँ बिच्छी छ, यस्ता कुरा समाजलाई देखाउन सक्नुपर्छ लेखकले।

कुनै पनि कुरा देखाउने मात्र नभई दृष्टिकोणमा नै परिवर्तन ल्याउने काम लेखकको हुनुपर्छ।

हामी साहित्यसर्जकहरूले फलाना दल, फलाना समूह भनेर पूर्वाग्रह राख्नु पनि उचित हुँदैन। हामीले आफ्ना सम्पूर्ण ऊर्जालाई सामाजिक परिवर्तनका निम्ति, मानवीय मूल्यको स्थापनाका साथै प्राचीन मूल्यहरूको संरक्षण र नवीन मूल्यहरूको पक्षमा प्रयोग गर्नुपर्छ।

हामीभित्र दुईखाले ऊर्जा हुन्छन्, नकारात्मक र सिर्जनात्मक। त्यसमा हामीले सिर्जनात्मक ऊर्जालाई प्रयोग गर्नुपर्छ।

अर्को कुरा, साहित्यका जुन मिस्त्रीहरू छन्, उनीहरूले कतैबाट इँटा ल्याए, कतैबाट सिमेन्ट ल्याए र एउटा सुन्दर सिर्जना निर्माण गरे। उनीहरू आफूलाई साहित्यकार भन्छन्। अर्काथरि मान्छेहरू पनि छन्, जसले साहित्यको ठेकेदारी गरिरहेका छन्। के बिक्छ, केको टेन्डर आउँछ, तिनीहरू त्यतैतिर दगुर्छन्।

तपाईंलाई सेक्स-साहित्य चाहियो भने पोर्नोग्राफी लेख्ने लेखकहरूलाई समात्छन्। तर, सिर्जनात्मक लेखनमा जुटेकाहरूले आफ्नो क्षमतालाई सिर्जनात्मक काममा लगाउनु नै उत्तम हुनेछ। जसले गर्दा समाजमा रुपान्तरण आओस्।

साहित्यिक ठेकेदारहरूको कुरा उठाउनुभयो। तिनीहरूबाट सिर्जनशील स्रष्टाहरूलाई कसरी बचाउने त ?

अहिले सम्पूर्ण संसारका निम्ति चिन्ताजनक विषय नै यही बन्न पुगेको छ।

केही महिनाअघि मुम्बै (भारत) की एक प्रकाशिका मृणाल पाण्डेले मलाई फोन गरेकी थिइन्। उनले भनिन्, “तपाईं आफ्ना कथा हामीलाई दिनुस्, हामी प्रकाशन गर्छौं। तपाईंको किताब अमिताभ बच्चनजस्ता प्रख्यात कलाकारबाट विमोचन गराउँछौं र यदि कथा मन परे भने उनीहरूले फिल्म पनि बनाउने छन्।”

मैले सोधेँ, “कस्ता कथाहरू प्रकाशन गर्नु हुन्छ ?”

उनले भनिन्, “हामीलाई धेरैभन्दा धेरै पाठकले रुचाउने कथा चाहिन्छ। युवाहरूलाई मन पर्ने रोमान्टिक खालका उपन्यास/कथा चाहिन्छन्।”

त्यसपछि मैले आफूबाट त्यस्तो साहित्य-रचना सम्भव नभएको बताएँ। मैले भनेँ पनि, “म जीवनको उत्तरार्द्धमा छु, मैले जीवनमा समाजलाई गलत दिशामा डोर्‍याउने खालका साहित्य लेखिनँ, त्यसैले मबाट तपाईंले चाहनुभएजस्तो सिर्जना सम्भव छैन।”

हामीकहाँ शब्दहरूलाई पनि राजनीतिकरण गर्ने गरिएको छ। एकदमै सत्य हो, बजारवादको प्रभाव हाम्रो साहित्यमा पनि परेको छ।

हामीले साहित्यकारहरूलाई के कुराप्रति बोध गराउनुपर्छ भने, सस्ता साहित्यबाट समाजलाई बचाउनु पर्छ। साहित्यका ठेकेदारहरू अस्थायी हुन्छन्, यिनीहरूका कार्य स्थायी हुँदैन। कुनै भुइँचालो आयो भने यिनीहरूका मान्यता भत्किन्छन्।

पैसा कमाएर पनि कोही मानिस ठुला हुँदैनन्। मानिसहरू आफ्नो भावना र विचारले महान् हुन्छन्।

मृणाल पाण्डेको जुन प्रसंग उठाउनुभयो तपाईंले, के यो हाम्रो साहित्य बजारवाद र उपभोक्तावादको चंगुलमा फसिसकेको दृष्टान्त हो ?

मैले भन्न खोजेकै त्यहीं हो। खुला बजारको प्रभाव र उपभोक्तावादको प्रभाव अवश्य नै परेका छन्, हाम्रा साहित्यमा। बजारवादको प्रभावका कारण अधिकांश स्रष्टाहरू लोभिएका छन्। राम्राभन्दा राम्रा लेखक पनि प्रभावित भएका छन्। प्रकाशकको प्रलोभनमा परेर उनीहरूका प्रस्तावअनुरूप सस्ता साहित्य लेखिरहेका छन्।

एकदमै ठीक प्रश्न सोध्नुभयो। भनुँ कि नभनुँ भन्ने लागिरहेको थियो मलाई। किनभने हामीकहाँ शब्दहरूलाई पनि राजनीतिकरण गर्ने गरिएको छ। एकदमै सत्य हो, बजारवादको प्रभाव हाम्रो साहित्यमा पनि परेको छ।

तपाईं कथा र गजल लेखनमा बढी केन्द्रित हुनुहुन्छ। यी दुई विधालाई चयन गर्नुको मुख्य कारण के हो ?

सबैजनामा सबै विधामा लेख्ने क्षमता हुँदैन। मैले नाटक लेख्ने प्रयास नगरेको होइन। तर म सफल नाटककार हुन सकिनँ। त्यो शिल्प ममा भएन। त्यसपछि उपन्यास र कथा लेख्न सक्छु जस्तो लाग्यो मलाई र लेख्न थालेँ।

केही दशकअघि मैले ‘पोस्टमार्टम’ शीर्षकको कथा लेखेँ र त्यो ‘मधुपर्क’ मा छापियो। त्यो कथा प्रकाशित भएपछि यति राम्रो प्रतिक्रिया आयो कि, पाँच सयजति पाठकले त्यो कथा मन परेको बारे लेखेर नै पठाए मलाई। दिनहुँ ४-५ वटासम्म चिठी आए। यो दुर्लभ कुरा हो।

मलाई कथा र गजल लेख्न सक्छु भन्ने लागेर नै यी दुई विधामा केन्द्रित रहँदै आएको छु।

नाटक लेख्ने रुचि चाहिँ किन लागेको थियो भने त्यो आम जनताले हेर्छन् र उनीहरू प्रभावित पनि बन्छन्। चाँडै लोकप्रिय पनि हुन्छ। नाटक लेख्ने रुचि भने ममा अझै छ।

अर्कोतिर, नेपालको भौगोलिक संरचना यस्तो छ, जनकपुर कस्तो छ भन्ने कुरा हुम्ला, जुम्ला वा मुगुमा बस्ने मानिसलाई थाहा नहुँदो होला। हिमाली भेग कस्तो छ भन्ने कुरा वीरगञ्जका मानिसलाई थाहा नहुँदो होला। तर गीत लेखियो भने सबै भूभाग नाघेर सबैतिर पुग्छ। गीत चाँडै लोकप्रिय पनि हुन्छ। पछिल्लो समय मलाई गीत लेख्ने रहर पलाएको छ र केही लेखेको पनि छु।

कस्ता विषयवस्तुका गीत लेख्नुभयो ?

माया-प्रेमका गीतहरू म लेख्दिनँ। हामी त्यो पुस्ताका मानिस पर्‍यौं, विवाहपछि मात्र प्रेम रह्यो। ‘कहाँ भेट्ने’ भन्ने खालका गीत मबाट लेखिँदैन।

केही गम्भीर विषयवस्तुका गीत लेखेको छु। दार्शनिक चिन्तन र जीवन दर्शनमा आधारित गीतहरू लेखेको छु। एउटा चाहिँ राष्ट्रिय भावनाको गीत पनि लेखेको छु।

तपाईंको कथामा आञ्चलिकताको गन्ध र स्वाद प्रशस्तै पाइन्छन्। किन पछ्याउनुभयो आञ्चलिकतालाई ?

सन् १९४७ पछि महात्मा गान्धीले भनेका थिए, ‘हामीले सम्पूर्ण राष्ट्र एक हो भन्ने विराट सन्देश दिनका लागि आञ्चलिक साहित्यको विकास गर्नुपर्छ। भारतमा जति पनि प्रान्त छन्, जति पनि स्थानीय जीवनशैली छन्, ती साहित्यमा प्रतिविम्बित हुनुपर्छ, जसले राष्ट्रियतालाई बलियो बनाउँछ।’

मलाई लाग्छ, साझा साहित्य आमाजस्तै हुन्। त्यसमा जीवनका सबै पाटाहरूको र सबै ठाउँको जीवन विम्बित हुन्छन्। कुन ठाउँको जीवन कस्तो छ, कुन ठाउँको जीवन कस्तो छ, यो आञ्चलिक साहित्यमा आउँछ। आञ्चलिक साहित्यले राष्ट्रिय एकतामा बल पुर्‍याउँछ भन्ने मलाई लाग्यो।

अर्को, म जहाँ बस्छु, त्यही वरिपरिका कथा लेख्न रुचाउँछु। मलाई याद छ, २०३४ सालमा हामीले जनकपुरमा भानु जयन्ती मनाएका थियौं। त्यतिबेला राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई हामीले बोलाएका थियौं।

मैले उहाँसमक्ष एउटा प्रश्न राखेँ, “तपाईंले जति पनि कविता वा गीत लेख्नुभएको छ, सबैमा पहाडका गीतहरू मात्र छन्, तराईका गीतहरू किन लेख्नु भएन ? तराईका चाडपर्व, जनजीवन र आँपको बगैंचाका कुराहरू किन आएनन् तपाईंको लेखनमा ?”

मेरो प्रश्न सुनेपछि अत्यन्तै मायालु भावले मेरो चिउँडो समातेर उहाँले भन्नुभयो, “यो प्रश्न त मैले तपाईंलाई सोध्नुपर्ने हो। म जहाँ जन्मिएँ, हुर्किएँ, मैले त्यहींका कथा लेखेँ, गीत लेखेँ। यो ठाउँ त तपाईंहरूको हो, यो ठाउँ र जनजीवनबारे तपाईंहरूले नै लेख्नुपर्छ।”

मैथिली साहित्य लेखन परम्परा बसालिए पनि अझै समृद्ध भने हुन सकेको छैन। त्यसमा अनेक कारण छन्। राजनीतिक कारण त छ नै। जस्तो, बोलीचालीको भाषा एउटा छ र लेखनको भाषा अर्को। त्यही कारण ‘यो त बाहुनहरूको मात्र भाषा हो’ भनिने गरिएको छ।

त्यसपछि ममा चेत आयो- हो, आफू जन्मिएको, हुर्किएको परिवेशका गीत अरूले कहाँ लेख्ने हो र आफैंले पो लेख्नुपर्छ।

पछिल्लो समय तराईका विषयवस्तुमा लेखिएका धेरै साहित्य आए। नयनराज पाण्डेले ‘उलार’ जस्तो उपन्यास लेख्नुभयो। सुविन भट्टराईको ‘समरलभ’ मा पनि तराईकै कथा छ। नारायण तिवारीले पनि तराईको कथा वर्षौंदेखि लेखिरहनुभएको छ।

मैथिली साहित्यको वर्तमान अवस्था कस्तो पाइरहनुभएको छ ?

एउटा कुरा त, नेपालमा मैथिली साहित्यको धेरै पुरानो परम्परा रहेन। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि जुन अवस्था रह्यो, मैथिली मात्र होइन अरू साहित्यको पनि चिन्ताजनक अवस्था रह्यो। मैथिली साहित्य २००७ सालअघिसम्म अन्धकार युगमा नै थियो। मल्लकालपछि २००७ सालसम्म अन्धकारमय नै रहेको ठान्दछु। मूलतः मैथिली साहित्यको लेखन २००७ सालपछि मात्रै शुरू भयो।

मलाई एउटा प्रसंगको याद आउँछ। त्यतिबेला म विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा पढाउँथेँ। विराटनगरमा रहँदा श्रद्धेय बालकृष्ण पोखरेलसँग मेरो दिनहुँ २-३ घन्टा कुराकानी हुन्थ्यो। एकदिन उहाँले भन्नुभयो, “तपाईंले मैथिली साहित्य लेख्नुपर्‍यो।”

मैले भनेँ, “किन ?”

उहाँले भन्नुभयो, “अहिलेसम्म जति मैथिली साहित्य लेखिएका छन्, त्यसमा दरभंगा (भारत) को कथा मात्र छन्, जनकपुरको कथा छैन। मैथिली साहित्यमा जनकपुरको कथा खोई ? पोखराको कथा खोई ? गौरीशंकर हिमालको कुरा कहाँ छ ? गुराँसको कुरा कहाँ छ ? मैथिली साहित्यमा नेपाली जीवनको चित्र आउनुपर्‍यो।”

मैले जनकपुरका साथीहरूसँग कुराकानी गरेँ। डा. धीरेन्द्रसँग सल्लाह भयो र योजनाबद्ध रूपले मैथिली साहित्य लेख्नुपर्छ भन्ने कुरामा हामी सहमत भयौं। त्यसपछि मैथिली साहित्य लेखनको परम्परा शुरू भयो। अयोध्यालाल चौधरी, महेन्द्र मलंगिया, रामभरोस कापडी ‘भ्रमर’, धीरेन्द्र प्रेमर्षि, रमेशरञ्जन झालगायतले लेख्न थाले।

मैथिली साहित्य लेखन परम्परा बसालिए पनि अझै समृद्ध भने हुन सकेको छैन। त्यसमा अनेक कारण छन्। राजनीतिक कारण त छ नै। जस्तो, बोलीचालीको भाषा एउटा छ र लेखनको भाषा अर्को। त्यही कारण ‘यो त बाहुनहरूको मात्र भाषा हो’ भनिने गरिएको छ।

अर्को, मैथिलीमा लेखे पनि कुनै प्रकाशक छैनन्, कुनै म्यागेजिन छैनन्, कुनै मिडिया छैनन्। मैथिली भाषा-साहित्यको निम्ति खोलिएका कुनै प्रज्ञा-प्रतिष्ठान पनि छैन। धेरै कारण छन्, जसले गर्दा मैथिली साहित्यको विकास जुन रूपमा हुनुपर्ने थियो, त्यो रूपमा भइरहेको छैन।

तुलनात्मक रूपमा २००७ सालपछि जति फस्टाएको छ, तर जति झाँगिनुपर्ने हो, त्यति झाँगिइरहेको छैन। आशा गरौं, अहिलेको अवस्था कुहिरो लागेको बिहानीजस्तै छ तर मिर्मिरे पनि नजिक नै छ। सूर्य पनि उदाउँला भन्ने आशमा छौं।

One thought on “नेपाली साहित्यलाई ठेकेदारहरूबाट जोगाउन जरुरी भइसक्यो : डा. राजेन्द्र विमल

  1. Interviewer seems not to have gone through Bimal’s writings thoroughly as evident through a couple of questions in the beginning. This interview could have been more thought provoking n insightful had he dud deeper into his writings than the general trends.

    Anyway, good to read Bimal’s views.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved