निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन : मानव अधिकार आयोग

मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनुजस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगको निष्कर्ष छ।

नेपालभ्युज

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन : मानव अधिकार आयोग

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

आयोगले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलत ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको हो।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले राजनीतिक दलहरुले थप संयमता अपनाउनुपर्ने देखिएको बताए। उनले मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनुजस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगले निष्कर्ष निकालेकाे जानकारी दिए।

उनले ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेपनि हुम्ला, गोरखा लगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदानस्थल टाढा भएको अघिल्लो दिन नै हिँडेर मत खसाल्न मतदाताहरु पुगेको पाइएको बताए।

मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा मतदाता अल्मलिएको, कतिपय मतदानस्थलमा खानेपानीको व्यवस्था नहुँदा मतदाता बेहोस भएको, शौचालयको अभाव, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका मतदाताहरुलाई सहज रुपमा मतदान गर्नसक्ने व्यवस्था नमिलाइएको पाइएको उनी बताउँछन्।

अध्यक्ष मगरले आयोगले गरेको अनुगमनको क्रममा प्राप्त जानकारी अनुसार सप्तरी, काभ्रेपलाञ्चोक, अछाम, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिए।

बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालीकोट, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सर्लाही, सप्तरी, रौतहट, धनुषा र महोत्तरी लगायतका जिल्लाहरुका केही मतदान केन्द्रहरुमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको, केही स्थानमा भएको हवाई फायरले मतदान प्रभावित भएको पाइएको आयोगको निष्कर्ष छ।

अध्यक्ष मगरले आयोगले मतदान स्थगन भएका क्षेत्रहरुमा शान्ति सुरक्षाको मापन गरी तत्काल मतदान गराउन निर्वाचन आयोग र नेपाल सरकारलाइ आग्रह गरेको बताए। आयोगले स्थगित भइ सुचारु भएका मतदान केन्द्रमा राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved