माओवादीले चुनावमा वाईसीएल खटाउने, निर्वाचन कार्यालयले भन्यो, ‘खटाए कारबाही हुन्छ’

नेपालभ्युज

माओवादीले चुनावमा वाईसीएल खटाउने, निर्वाचन कार्यालयले भन्यो, ‘खटाए कारबाही हुन्छ’

हेटौंडा। नेकपा (माओवादी केन्द्र) निकट युवाहरूको संगठन वाईसिएल मकवानपुरले स्थानीय तह निर्वाचनमा जिल्लाका बुथहरूमा वाईसीएल खटाउने भएको छ।

निर्वाचनलाई भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्न वाईसीएल खटाउन लागिएको वाईसीएल मकवानपुरका संयोजक लवराज ठकुरीले बताए। जिल्लामा ‘१ बुथ २५’ युथ भन्ने नारासहित वाईसीएलले सुरक्षामा खट्न लागेको उनले बताए।

जिल्लामा रहेका संवेदनशील स्थानहरूमा भने ५० देखि ६० जना खटाइने उनको भनाइ छ। प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधि छान्ने अधिकारको सुरक्षा गर्न वाईसीएल नेपाल लागिपर्ने उनी बताउँछन्। जिल्लामा रहेको एक सय ६५ मतदान स्थलहरूमा करिब छ हजारको हाराहारीमा वाईसीएल खटिने ठकुरीले बताए।

वाईसीएल खटाइए कारबाही हुन्छ : मुख्य निर्वाचन अधिकृत

वाईसीएल मकवानपुरले निर्वाचनमा वाईसीएल खटाउने भएपछि बुथ सुरक्षाका लागि वाईसीएल खटाए कारबाही गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले नै सुरक्षाकर्मी खटाएर पठाएको उल्लेख गर्दै उनले जो पायो त्यहीले बुथको सुरक्षा गर्न नपाउने बताए। “त्यसरी जो बस्न मन लाग्यो त्यसले सुरक्षा गर्न पाउने भए किन राज्यको अर्बौं खर्च गर्नुपर्थ्यो र? कि सरकारसँग मान्यता प्राप्त हुनपर्‍यो, नभए मकवानपुरमा त के अन्त पनि यस्तो व्यवस्था लागू हुँदैन। अटेरी गरेमा कारबाही हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved