सफलताको कथा

चन्द्र ढकाल : एक उदाहरणीय उद्यमी

सपनाको शहर काठमाडौं छिर्दै गर्दा गोजीमा जम्मा ३५ रुपैयाँ थियो। खल्ती गरम नभए पनि उनमा अदम्य साहस र मेहनत गर्ने अठोट थियो। सायद त्यही साहस, मेहनत र अठोटले आज चन्द्र ढकाल देशकै सफल उद्यमी भएका छन्।

चन्द्र ढकाल : एक उदाहरणीय उद्यमी

झण्डै चालीस वर्ष पुग्न लाग्यो, चन्द्र ढकाल काठमाडौं छिरेको। २०४१ सालको कुरा हो, पिताको निधनपछि एक्लिएकी आमा र टुहुरा भएका भाइबहिनीलाई छोडेर उनी सपनाको शहर काठमाडौं छिरेका थिए। गोजीमा जम्मा ३५ रुपैयाँ थियो। खल्ती गरम नभए पनि उनमा अदम्य साहस र मेहनत गर्ने अठोट थियो। सायद त्यही साहस, मेहनत र अठोटले आज चन्द्र ढकाल देशकै सफल उद्यमी भएका छन्।

चार दशक अघि चन्द्रको जीवन औँशीको रात जस्तै निस्पट अँध्यारो थियो, अहिले पूर्णिमाको प्रकाशले उज्यालिएको छ। देशकै औँलामा गन्न सकिने सफलतम् उद्यमी मध्येका एक हुन्, उनी। भन्छन्, ‘विगत सम्झिँदा भावुक हुन्छु।’

घर छोड्दा उनले आमालाई खुशी दिने र भाइबहिनीका अभाव पूरा गर्ने सीमित लक्ष्य लिएका थिए। “म त्यतिबेला यस्तो हुन्छु भनेर निस्कएको होइन। आमाको आँशु पुछ्नेछु भन्ने मात्रै सोच थियो”, भन्छन्, “अहिले फर्केर हेर्दा भावुक हुन्छु र खुशी पनि लाग्छ।”

उनी प्रसन्न नहोउन् पनि किन? दुई/साढे दुई दशकअघिसम्म पनि उनी गुमनाम नै थिए। आफ्नो व्यवसायको विस्तार तीव्र गतिमा गरेर उनी छोटै अवधिमा यस क्षेत्रको उचाइमा पुगेका छन्। उनको नाम एउटा सफल र उदारहणीय उद्यमीका रुपमा लिइन्छ। नेपाली उद्यम क्षेत्रका परिचित उनी अहिले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुन्।

उद्योगी–व्यावासायीका नेता ढकालले विभिन्न क्षेत्रमा लगानी गरेका छन्। जलविद्युत, रेमिटेन्स, बैंक तथा वित्तीय संस्था, होटल, सवारी साधन बिक्री, पर्यटन, सूचना प्रविधि, कार्गो लगायतका क्षेत्रमा उनको लगानी छ। उनको व्यापार–व्यावसायको सञ्जाल आईएमई ग्रुपअन्तर्गत रहेको छ।

उद्यमी उडान

वि.सं. २०२२ मा बागलुङको अमलाचौरमा जन्मिएका ढकाल एसएलसी पढिसकेपछि राजधानी छिरेका हुन्। पढाइ पनि गर्ने र कमाइ पनि गर्ने उनको उतिबेलाको लक्ष्य थियो। उनले सबैभन्दा पहिले स्वस्तिक हेरिटेज भन्ने कम्पनीमा काम गरे। पेप्सीकोला वितरक कम्पनी, स्वस्तिक हेरिटेजमा काम गर्दै पढाइ पनि अघि बढाए। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकमा जागिर गरे। सहायक लेखापाल ढकालले जागिरसँगै व्यवसाय शुरु गर्ने सोचे। उनले कोल्ड स्टोर खोले। त्यसपछि कार्गोको बिजनेस शुरु गरे।

उनले भाइसँगै कार्गो व्यवसाय शुरू गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो भएको सुने। कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउने सोच बनाएका ढकालले नेपाली गार्मेन्ट उत्पादन लिएर अमेरिका जाने तयारी गरे। गाउँको आफन्तले जापानबाट जाने भनेपछि उनको मन फेरियो। उनी जापान हुँदै अमेरिका जाने गरी उडे। त्यहाँ गएर अमेरिका जाने मेसो नमिलेपछि उनले दश महीना एउटा कारखानामा काम गरेका थिए।

भाइले नेपालमा कार्गोको काम गरिरहेका बेला भाइ नै अमेरिका गएपछि उनी जापानबाटै नेपाल फर्किए। विदेशबाट पैसा पठाउने औपचारिक प्रणाली शुरू गर्ने एक मात्रै मान्छे चन्द्र ढकालसँग वैदेशिक रोजगारीको अनुभव छ।

व्यावसायिक क्षेत्रको दायरा बढाउँदै अहिले आईएमई ग्रुपका अध्यक्ष हुन्। जसले विभिन्न क्षेत्रमा लगानी गर्छ। रोचक कुुरा त के छ भने, कुनै बेला बैंकका सामान्य कर्मचारी ढकाल अहिले उत्कृष्ट मध्येकै एक बैंकको प्रमुख सञ्चालक हुन्। यहाँसम्मको व्यावसायिक यात्रा तय गर्न ढकालले निकै संघर्ष गरेका छन्। पिता गुमाएपछि आफूमा आश्रित परिवारलाई अघि बढाउने दायित्व कम्ती चुनौतीपूर्ण थिएन। पढाइसँगै रोजगारी, त्यसपछि उद्यमतिर बढेका उनका पाइला उचाइतिर अग्रसर छन्।

सबैभन्दा कठिन क्षण थियो, अभिभावक गुमाउनु पर्दा। उनी १६ वर्षको हुँदा उनको पिताको निधनपछि बोकेको दुःखको भारीले उनलाई सफल बनाएको हो।

२०४१ सालमा काठमाडौं आउँदा प्लस टू पढ्दै काम गर्ने उद्देश्य बोकेका ढकालले केही समय जागिर पाएनन्। पछि ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिर शुरू गरे। केही समयपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापाला ढकाल बैंकमा प्रवेश गरे। कुनै बेला राष्ट्रिय वाणिज्य बैंकका खरिदार ढकाल अहिले आफै बैंक चलाउछन्।

दुई परिचय : चन्द्रागिरि र आईएमई

व्यवसायी चन्द्र ढकालको लगानी विस्तार भइरहेको छ। ढकालले नेपाली व्यवसायमा हात हालेको तीन दशक बिते पनि व्यवसायले फड्को मारेको समय भने पछिल्लो २० वर्ष हो। ढकाल सँगसँगै आउने उनका व्यवसायमा अहिले दुई ओटा व्यवसाय छन्। ती हुन्, २०५६ सालमा शुरू भएको आईएमई समूह र २०७२ सालमा सञ्चालनमा ल्याइएको चन्द्रागिरि हिल्स प्रालि।

उद्योगी र व्यवसायी माझमा उनलाई सबैले चिने पनि आम सर्वसाधारणले ढकाललाई चिन्ने चन्द्रागिरि र आईएमईलाई जाेडेर नै हो। उनको पहिचानको रूपमा सबैभन्दा पहिला आउने आईएमई समूहले सञ्चालन गरेको आईएमई लाइफ इन्स्योरेन्स, आईएमई पे, डिशहोम, आईएमई जनरल इन्स्योरेन्स, आईएमई मोटर्स, आईएमई अटोमोबाइल्स सञ्चालनमा छन्।

पछिल्लो समय ठूलो व्यवसायका रूपमा सञ्चालित चन्द्रगिरि हिल्स पनि ढकालको अर्को पहिचानका रूपमा स्थापित भइसकेको छ। थानकोट–चन्द्रागिरिमा केबुलकारसँगै फन पार्क, भ्यू टावर र रिसोर्ट सञ्चालन भएको छ।

अहिले ढकालले सञ्चालनका गरेका व्यवसायमा करीब १० हजारलाई प्रत्यक्ष रोजगारी र २० हजारलाई अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेका छन्।

उसो त ढकालको दुःख र संघर्षको कथा पूर्ण भएको छैन। उनी भन्छन्, “मैले संघर्ष गरेर यहाँ आइपुगेको छु। तर, धेरै संघर्ष गर्न बाँकी नै छ। नेपाली अर्थतन्त्रका लागि म जिवनभर संघर्ष गर्नेछु।”

स्वाभाव : ‘डाउन टू अर्थ’

चन्द्र ढकाल मिजासिलो आफ्नो स्वभावका कारण लोकप्रिय पनि छन्। उनको यही स्वभावका कारण व्यवसायी मात्रै होइन, पत्रकार र राजनीतिज्ञहरूसँग उनको मित्रता छ।

नजिकबाट चिन्नेहरू उनलाई मिल्ने स्वभावकै कारण उनी यत्ति छिट्टै सफल भएको बताउँछन्। उनलाई नजिकबाट चिन्ने उद्योगी उमेशलाल श्रेष्ठ भन्छन्, “ढकाल अत्यन्तै मिजासिलो स्वभावको भएको कारण यति छिटो यति धेरै लोकप्रिय भएका हुन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved