अर्थमन्त्री भन्छन्- भूगोल, नदी तथा झरनाहरु र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्छ

लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिह्न प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउने भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारीसहित लेखा परीक्षण गर्नुपर्ने बताए।

नेपालभ्युज

अर्थमन्त्री भन्छन्- भूगोल, नदी तथा झरनाहरु र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्छ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन्।

आजदेखि काठमाडौंमा शुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताए। उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताए।

मुलुकभित्रका हिमालहरु, तराई, पहाड, नदीहरु, झरनाहरु, श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे। उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए।

“अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहन्छु। हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परीक्षणवालाहरुले परीक्षण गर्नुपर्ने बेला भयो,” उनले भने, “विभिन्न क्षेत्रको लेखा परीक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ। हाम्रा हिमालहरु, तराई, पहाड, नदीहरु र हाम्रो झरनाहरुको मूल्य कति हो। हाम्रा श्रमिकहरु, युवाबहुल श्रमिकहरुको मूल्य कति हो ? त्यसको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नु पर्ने बेला भएको छ।”

मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्‍याए।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरीबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नुपर्ने बेला भएको बताए। उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरीबी अन्त्य नभएको बताए।

अब मुलुकको गरीबीको लेखा परीक्षण गरिएन भने गरीबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो। उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए।

“आज हामीले व्यापार घाटाको कुरा गरिरहेका छौँ। बीओपी घाटामा गएको कुरा गरेका छौँ। अब हामीले त्यसको लेखा परीक्षण गर्नुपर्ने बेला भएको छ,” उनले भने, “कहाँ गल्ती भयो ? कहाँ इमानदारितामा लुज भयो वा भुलचुकमा भयो, त्यो कुराको लेखा परीक्षण गर्नुपर्ने बेला भएको छ। त्यसको लेखा परिक्षण गर्न सकिएन भने व्यापार घाटा बढ्दै जान्छ।”

मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परीक्षण गर्नुपर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा आठ महीनामा तीन अर्बको आयात गर्नु परेको बताए।

लेखा परीक्षकहरुले परीक्षण गर्दा भाग गर्ने चिह्न प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउने भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारीसहित लेखा परीक्षण गर्नुपर्ने बताए। उनले लेखा परीक्षण गर्ने परीक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved