चुनावले व्यवसायी उत्साही

नेपालभ्युज

चुनावले व्यवसायी उत्साही

चितवन। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढेपछि व्यवसायी उत्साही भएका छन्। मुख्यगरी होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन्।

यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन्। पछिल्ला वर्षहरूमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ। स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि शहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो। जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल शुरु भएको बताउँछन्।

उनले भने, “ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ।” बैंक र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाइ छ। “यसको नतिजा निर्वाचनपछि देखिन्छ,” होटल रेष्टुराँमा ग्राहक थपिएका उनले बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए। बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनी बताउँछन्। होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ। उनले भने, “निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ।” विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उनले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चलायमान बन्ने बताए।

देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान रहेको छ। रेष्टुराँ एण्ड बार एशोसिएशन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए। गाउँगाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल वढेको छ। भट्टले भने, “ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ।” एशोसिएशनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताए। सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको पाठकको भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved