विवेकशील साझाको २५ बुँदे प्रतिज्ञापत्र : विराटनगरलाई नमूना शहर बनाउने

नेपालभ्युज

विवेकशील साझाको २५ बुँदे प्रतिज्ञापत्र : विराटनगरलाई नमूना शहर बनाउने

विराटनगर। आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै विवेकशील साझा पार्टीले विराटनगरका निम्ति आफ्नो २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीका मोरङ जिल्ला अध्यक्ष एवं मेयर पदका उम्मदेवार अमलेश कर्णले आफ्ना चुनावी एजेण्डाहरू प्रस्तुत गरेका हुन्। पार्टीको प्रतिज्ञापत्रमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन, अर्थतन्त्रको उद्वेलन, रोजगारी, निःशूल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, सुरक्षित आवास, गुणस्तरीय सार्वजनिक यातायात, सन्तुलित विदेश नीति, वैज्ञानिक भू-उपयोग तथा पूर्वाधार निमार्ण र वातावरण संरक्षणलगायत बुँदाहरू समावेश गरिएका छन्।

विद्यार्थीहरूका लागि विद्यार्थी सञ्चय कोष, १० हजार विद्यार्थी पठनपाठन गर्ने निःशूल्क शिक्षालय र प्राविधिक शिक्षामा जोड दिई पठनपाठनसँगै आयआर्जनको संयन्त्र निमार्ण पार्टीको मुख्य चुनावी एजेण्डाहरू हुन्। नव–उद्यमीहरूलाई सहयोग गर्ने लक्ष्यसहित पार्टीले बैंक तथा वित्तीय संस्थाहरूसँगको आवश्यक समन्वयमा १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जाको व्यवस्थापन गर्ने योजनासमेत आफ्नो प्रतिज्ञा पत्रमा समावेश गरेको छ।

निर्वाचित भएर आएपछि ज्येष्ठ नागरिकका लागि ‘अनुभव संरक्षण शाखा’, नगरबासीका लागि नगर लिंक बस, सुकुम्बासीका लागि संयुक्त आवास, दाहोरो कर प्रणालीको अन्त्य र साईकलमैत्री शहर निमार्ण गर्ने पार्टीको प्रतिबद्धता छ। आईतबार सार्वजनिक प्रतिज्ञा पत्रमा विराटनगरमा दैनिक उपभोग्य वस्तु पाउने सुपथ मूल्य पसल, रात्रीकालिन व्यावसाय सञ्चालनको प्रबन्ध, सम्पुर्ण वडाहरूमा निःशूल्क लेखापढी सेवा तथा नगर र वडा कार्यालयहरूको प्रगति विवरण प्रत्येक ३-३ महिनामा सार्वजनिक गरिने विषयसमेत उल्लेख छ।

जनताले सेवाको अवसर प्रदान गर्ने विराटनगरलाई मुलुककै नमूना शहरको रुपमा विकास गर्ने लक्ष्य रहेको पार्टीका मोरङ जिल्ला अध्यक्ष एवं मेयर पदका उम्मेदवार अमलेश कर्णले बताए। उनले सुशासन, भ्रष्टाचार अन्त्य र पारदर्शीता नै विकासको मुल आधार रहेको जिकिर गरे। उनले भने, “निर्वाचित भइसकेपछि जितेका ठाउँमा विज्ञहरूको टोली पठाएर हामी विकासका सम्भावनाहरू अध्ययन गर्ने कार्य गछौं।’

यस्तै पत्रकारहरूको प्रश्नको जवाफ दिँदै पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्रले यसपटकको स्थानीय निर्वाचनमा विवेकशील साझाले पराजय व्यहोर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारे। उनले पार्टीको चुनावी एजेण्डा नै जितको प्रमुख आधार रहेको बताए। पार्टीभित्र विद्रोहको अवस्था रहेको पत्रकारको प्रश्न जवाफ फर्काउँदै अध्यक्ष मिश्रले त्यसलाई वैचारिक बहसको रुपमा लिनुपर्ने तर्क गरे। उनले भने, “वैचारिक बहस र विमति सबै ठाउँमा हुन्छन्। अहिले भएको त्यही हो।”

आउँदो स्थानीय निर्वाचनमा विवेकशील साझाले भने विराटनगर महानगरमा मेयर र उपमेयरसहित कुुल ९ जना उम्मेदवारहरू खडा गरेको छ। विवेकशीलबाट विराटनगरको मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुली उम्मदेवार छन्।

यसबाहेक वडाध्यक्षहरूमा वडा नं १ बाट प्रदीप कुमार मेहता, ३ बाट उज्जवल भट्टराई, ५ बाट सञ्जय कुमार कर्ण, ६ बाट अनिल साह, १५ बाट इन्द्र नारायण साह, १६ बाट शम्भु कुमार यादव र १७ बाट अवधेश कुुमार कर्ण उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved