नौ ओटा स्थानीय तह रहेको कञ्चनपुरमा ७३ जनाको उम्मेदवारी दर्ता

नेपालभ्युज

नौ ओटा स्थानीय तह रहेको कञ्चनपुरमा ७३ जनाको उम्मेदवारी दर्ता

कञ्चनपुर। सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्ष पदका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यहाँका नौवटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका उम्मेदवार र स्वतन्त्र गरी ७३ जनाले नगरप्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।

कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको यहाँका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बतए। उनका अनुसार भीमदत्तमा उपप्रमुख पदमा ११ जनाले उम्मेदवारी दिएका छन्।

६६ हजार ६५० जना मतदाता रहेको भीमदत्तमा १९ वटा वडा रहेका छन्। यहाँ १९ वडाध्यक्षका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ को निर्वाचनमा भीमदत्तमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए।

त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् भने सो नगरपालिकामा आठ जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। दोधारा चाँदनीमा पार्टी र दुई÷दुई जनाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी परेको छ। २६ हजार ८०३ जना मतदाता रहेको दोधारा चाँदनीमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।

त्यसैगरी वेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वेदकोटमा उपप्रमुखका लागि चार जनाको उम्मेदवारी परेको छ। ३२ हजार ७६० जना मतदाता रहेको वेदकोटमा अघिल्लो निर्वाचनमा नगरप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका थिए।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जना र उपप्रमुखका लागि पाँच जनाको उम्मेदवारी परेको छ। यहाँ अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार नगरप्रमुखमा विजयी भएका थिए। शुक्लाफाँटामा कूल ३१ हजार ४४८ जना मतदाता रहेका छन्।

त्यस्तै कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुख र उपप्रमुखमा छ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँका निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले राजनीतिक दलबाट उम्मेदवारी परेको बताए।कृष्णपुरमा ४० हजार ३३८ जना मतदाता रहेका छन्। यसअघिको स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका उम्मेदवार नगरप्रमुखमा विजयी भएका थिए।

त्यसैगरी बेलौरी नगरपालिकामा छ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्। ३४ हजार ५३९ मतदाता रहेको बेलौरीमा यस पटक उपप्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन्। अघिल्लो पटक यहाँ माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए।

त्यसैगरी यहाँको पुनर्वास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन्। ३४ हजार ६३ मतदाता रहेको पुनर्वासमा पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। विसं २०७४ को पालिकाको निर्वाचनमा एमालेका उम्मेदवारले निर्वाचत जित्दै पालिकाको नेतृत्व सम्हालेका थिए।

त्यसैगरी कञ्चनपुरमै राना थारुको बाहुल्यता रहेको लालझाडी गाउँपालिकामा छ जनाले अध्यक्ष र चार जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। १४ हजार १६ जना मतदाता रहेको लालझाडीमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवारले बाजी मारेका थिए।

त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि गाउँपालिकाको नेतृत्व सम्हाल्ने भन्दै छ जनाले अध्यक्ष र छ जनाले उपाध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका छन्। अघिल्लो पटक एमाले उम्मेदवार विजयी भएको बेल्डाडीमा १४ हजार ३७३ जना मतदाता रहेका छन्।

कञ्चनपुरमा यस पटक नेपाली कांग्रेस, नेकपा एमाले र दुईदलीय गठबन्धन माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

यहाँको भीमदत्त नगरपालिकामा अघिल्लो पटक चार हजारभन्दा बढी मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँका नौवटै पालिकामा एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र समाजवादीले पालिकामा गठबन्धन गरेर चुनावी मैदानमा उम्मेदवार उतारेका छन्।

निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन्। यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved