मनाङमा २१० जनाको उम्मेदवारी दर्ता, आठ पदमा एकल मनोनयन

महिला उम्मेदवार अपुग

नेपालभ्युज

मनाङमा २१० जनाको उम्मेदवारी दर्ता, आठ पदमा एकल मनोनयन

मनाङ। स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मनाङमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

चार गाउँपालिकामा आइतबार र सोमबार गरी कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८ र नार्पाभूमि गाउँपालिकामा २७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।

यस्तै चार गाउँपालिकामा अध्यक्ष पदका लागि नौ जना र उपाध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।

आठ पदमा एकल मनोनयन

स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा जिल्लामा आठ पदमा एकल उम्मेदवारी परेको छ। आवश्यक पद सङ्ख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा गरिने निर्वाचन कार्यालयले जनाएको छ।

मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा कृष्ण लामा ९स्वतन्त्र०को वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ। त्यस्तै ङिस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ।

यस्तै चामे गाउँपालिका–१ मा एमालेका खड्कजङ्ग गुरुङ र २ मा कांग्रेसका मङ्गलदेव गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ। नासोँ गाउँपालिकाको ५, ६ र ७ मा पनि वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ। नार्पाभूमि गाउँपालिका–१ मा पनि एकल उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।

महिला उम्मेदवार अपुग

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ। मनाङमा महिला उम्मेदवार पाउन मुस्किल भएको छ। उम्मेवार दर्तामा महिला सदस्य अपुग देखिएको छ। नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन।

नार्पाभूमि गाउँपालिकाका पाँच वडामा महिला सदस्यमा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए। ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ।

यहाँ दलित महिला सदस्यसहित कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ। महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै चामे गाउँपालिकामा विभिन्न वडामा गरी १८ महिला सदस्यको सिट सुनिश्चित छ। तर महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। नासों गाउँपालिकामा महिला सदस्य १४ र दलित महिला सदस्यमा आठ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved