बैतडीमा कसैले पनि बुझाएन हतियार

जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करीब एक हजार इजाजतप्राप्त हातहतियार रहेको तथ्यांक रहेको छ।

नेपालभ्युज

बैतडीमा कसैले पनि बुझाएन हतियार
सांकेतिक तस्वीर।

बैतडी। प्रशासनले स्थानीय निर्वाचन नजिकिएसँगै इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरे पनि बैतडीमा अहिलेसम्म एकै जनाले पनि हतियार बुझाएका छैनन्। जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेको आग्रहको अटेरी भएको हो।

यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लिएर गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो। उक्त अवधिमा एक जनाले पनि हतियार नबुझाएको सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करीब एक हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए। निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उनको भनाइ थियो। हातहतियार बुझाउन अटेरी गरेका छन् सूचना अधिकारी भारतीले भने, “ हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका छौँ, सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ।” तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ।

हातहतियार जम्मा नहुँदा यसले निर्वाचनको शान्तिसुरक्षामा असर पार्ने सम्भवना रहेको छ। सूचना जारी गरेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताए। उनले भने, “हातहतियार बुझाउन आग्रह गरिसेकका छौँ, नबुझाउनेले कानुनी सजाय भोग्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved