पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’

नेपालभ्युज

पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ।

नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो। प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धननमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताइन्। उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाई विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गरिन्।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र संगठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताइन्। स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उहाँले चित्रण गर्नुभयो। समारोहमा विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved