सम्पादकीय

नयाँ साल २०७९ : कालो बादलमा चाँदीको घेरा

नेपालभ्युज

नयाँ साल २०७९ : कालो बादलमा चाँदीको घेरा

क्यालेण्डरमा हरेक नयाँ साल फेरिँदा नयाँ उत्साह र अपेक्षा हुनु स्वाभाविकै हो। २०७८ लाई बिदा गरेर २०७९ लाई स्वागत गरिरहँदा आम नेपालीहरु अपेक्षा र उत्साह बाँडिरहेका छन्। फेरि पनि विगतको त्रुटी, कमजोरी र असफलताबाट पाठ सिकेर अघि बढ्नुको विकल्प छैन। त्यसैले नयाँ सालको स्वागतसँगै बितेको सालको समिक्षा पनि जरुरी छ।

एक वर्षअघि २०७८ नयाँ सालका रुपमा नेपालीजनका घर ऑगनमा झुल्किँदा यस्तै आशा, अपेक्षा अनि सकारात्मक सोचसहितका शुभकामना आदानप्रदान भएका थिए। तर वर्षको अन्त्यमा २०७८ लाई फर्केर हेर्दा निराशा मात्रै हात लागेको छ।

दुई वर्षदेखि विश्व समुदाय नै कोरोना कहरको चपेटामा पर्यो। त्यसबाट हामी पनि अछुतो रहेनौं। २०७७ देखि नै कोभिड महामारीको दुश्चक्रमा परेका हामीलाई २०७८ मा पनि त्यो विपद्ले छोडेन।

भय र अनिश्चयबीच २०७८ बिताइयो। ०७७ भन्दा ०७८ कोभिड नियन्त्रणका दृष्टिले तुलनात्मक रूपमा राहतसिद्ध भयो। २०७७ मा लकडाउन नै तोडेर हुलका हुल मानिस राजमार्गमा खाली खुट्टै भय र अनिश्चयको यात्रा गरेको दुःखद दृश्य देखिएको थियो भने ०७८ मा त्यो हृदयविदारक अवस्था देख्नु परेन। खोप आएकाले केही राहत त महसुस भयो। यद्यपि खोप आपूर्तिमा ढिलाइ, त्यसको व्यवस्थापनमा देखिएको बेथिति र अनियमिततताको मार पनि खेप्नुपर्यो।

पछिल्ला वर्ष कोभिड महामारीले मात्रै होइन, गैरजिम्मेवार राजनीतिका कारण पनि समाज थिल्थिलियो। राजनीतिक स्थिरता पाएर दंग परेका जनता केही सीमित नेताहरुको सत्ता स्वार्थका कारण प्रताडित हुनुपर्यो। ०७७ मा शुरु भएको विधि र संविधान मिच्ने प्रवृत्ति ०७८ मा पनि दोहोरियो।

तत्कालीन सत्तारुढ कम्युनिष्ट पार्टीको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुरु भएको संविधान मिच्ने प्रवृत्ति ०७८ मा पनि दोहोरियो। आफ्नो राजनीतिक अभिष्ट अनुकुल पार्टी विभाजनको अध्यादेश ल्याउने, दुई पटक संसद विघटन गर्ने आदि जे जति अराजनीतिक कर्म उनले गरे, त्यसले राजनीतिक स्थिरता र समृद्धिको आम जनताको अपेक्षामा तुषारापात गर्यो।

०७८ जेठमा पुन उनले दोस्रो पटक संसद् विघटन गरेपछि फेरि एकपटक राजनीति अदालतमा पुग्यो। ओली सत्ताच्यूत भएर त्यसको ठाउँमा संविधान र लोकतन्त्र जोगाउने नारा बोकेको पॉच दलीय गठबन्धनको सरकार बन्यो।

अदालतले परमादेश जारी गरेर सरकार बनाउने मार्ग प्रशस्त गरिदियो। ओलीलाई बिस्थापित गरेर बनेको गठबन्धन सरकारको पनि उही प्रवृत्ति र रबैया देखियो। विधिको हुर्मत लिन गठबन्धन दलका नेताहरु पनि पछि परेनन्।

खासमा, केही नेताको व्यक्तिगत अहम् र गैरजिम्मेवारीको पराकाष्ठा यो वर्ष देखियो। राजनीति दल वा नेताको हातमा रहेन्, त्यो अदालतको निर्णयको बन्दी हुन थाल्यो। यसबीच शक्तिशाली बनेको कम्युनिष्ट पार्टी विभाजन भयो।

पूर्ववत् अवस्थामा फर्किएको नेकपा एमाले विभाजित भयो। यस्तो विभाजनको ढोका संविधानको रक्षा गर्ने नारा दिने पाँच दलीय गठबन्धनले नै खोलिदियो। ओलीले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक भयो भनेर आलोचना गर्ने गठबन्धनले संसद् चलेकै बेला विधि मिचेर अध्यादेश जारी गरी पार्टीहरु विभाजन गर्ने ढोका खोलिदियो। यसरी ०७८ सत्ता टिकाउनका लागि विधि मिच्ने वर्षका रुपमा दर्ज भयो।

पार्टी विभाजनको रोग कम्युनिष्ट पार्टीमा सीमित रहेन, जनता समाजवादी पार्टी, राप्रपा, विवेकशील साझा आदि पार्टीहरु विभाजित भए।

राजनीतिक प्रहसन त त्यतिवेला उत्कर्षमा पुग्यो, जब यो वर्ष विभिन्न दलले आफ्नो महाधिवेशन गरे। राप्रपाले नयाँ नेतृत्व चुन्यो, कांग्रेसका केही महत्वपूर्ण पदहरुमा नयाँ अनुहार आए। यी केही सन्दर्भलाई पर राख्ने हो भने, राजनीतिक दलका महाधिवेशन प्रहसन झैं लाग्थे। नेतृत्वले आफू अनुकूल आफ्नै नेतृत्व अनुमोदन गराएको दृश्य अत्यन्तै भद्दा थियो।

दलका कार्यकर्ता निरीह दासजस्ता देखिन्थे भने नेता मालिक। आन्तरिक लोकतन्त्रको हवाला दिने पार्टीहरुमा व्यवहारमा सीमित नेतृत्वको निरंकुशता हाबी भएको यो वर्ष अझ प्रस्टसँग देखियो।

ती सबैजस्तो पार्टीमा देखिए। हरेक पार्टीमा राजनीतिक, वैचारिक पक्ष निम्छरो हुँदै गएको छ। महाधिवेशन भए, राजनीतिक दस्तावेजहरु पनि पारित गरिए तर ती सबै कर्मकाण्डमा सीमित भए। पद प्राप्ति, भागवन्डा, शीर्ष नेतृत्वको आर्शिवाद थाप्ने कुरामै सीमत भए, ती महाधिवेशन।

०७८ मा राजनीतिक दल र नेताप्रति आम रुपमा विश्वास घटेको छ, संशय बढेको छ। नेपालभ्यूजले आजै सार्वजनिक गरेको एउटा सर्वेक्षणले पनि राजनीतिक नेता र दलप्रतिको अविश्वास कति बढेको रहेछ भन्ने देखाउँछ। स्थानीय तह निर्वाचनमा पहिलोपटक मत हाल्दै गरेका नयाँ मतदाता चुनावप्रति उत्साहित देखिए पनि दल र नेताप्रति उदासिन देखिन्छन्।

नयाँ सालको शुभारम्भ हुँदै गर्दा आम निराशा छ। राजनीतिक बेथितिले गाँजेको देशमा आर्थिक संकटका सूचकहरु देखिएका छन्। तर, यो प्रतिकूल परिस्थितिबीच पनि नयाँ साल जनमतलाई कुल्चिदै राजनीतिलाई सत्ता र शक्ति स्वार्थको हतियार बनाउने अनि शक्ति उन्मादमा ओतप्रोत हुने राजनीतिक नेतृत्वलाई तह लगाउने अवसर बनेर आएको छ।

सन्निकट स्थानीय तह निर्वाचनमा मात्रै होइन, यसै वर्ष हुने प्रदेश र संघको निर्वाचनमा पनि विवेकको मत दिएर बिथोलिएको राजनीतिलाई सही मार्गमा ल्याउने यो अवसरको अधिकतम उपयोग सार्वभौम मतदाताले गर्न सक्नुपर्छ।

यो नयाँ साल आम नेपालीका लागि ‘कालो बादलमा चॉदीको घेरा’ बनेर आएको छ। निराशा र अस्थिरताबीच नयाँ साल २०७९ महत्वपूर्ण अवसर बनेर आएको छ। यो आम नेपालीका लागि आफ्नो अभिमतको सही ढंगले परीक्षण गर्ने अवसर हो। जनताप्रति साँच्चिकै समर्पित जनप्रतिनिधि रोज्ने अवसर हो। चुन्ने अधिकारको प्रयोग मात्रै गर्ने होइन, विवेकको सदुपयोग गर्ने अवसर पनि हो।

यो वर्ष यस्तो अवसर मतदान गर्ने उमेर पुगेका आम नेपालीले एकपटक होइन, तीन पटक पाउनेछन्। स्थानीय तह, प्रदेश र संघ तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न हुनेछ। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तय भइसकेको छ। प्रमुख राजनीतिक दलहरु चुनावमा अग्रसर भइसकेका छन्। उम्मेदवार छनोटलगायत प्रचारमा दलहरु व्यस्त भइरहदाँ निर्वाचन आयोगमा तयारीको चटारो छ।

स्थानीय तह निर्वाचनपछि यसै वर्ष अरु तहका चुनाव पनि हुनेछन्। यस अर्थमा आम नेपालीजनका लागि नयाँ साल २०७९ ले विशेष महत्व राख्छ।

लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि यो वर्ष एउटा महोत्सव हुनेछ। लोकतन्त्रको विकल्प उन्नत र असल लोकतन्त्र मात्रै हो। त्यसकारण हरेक बेथिति र अस्थिरताको अन्त्यका लागि आफ्नो अभिमतको सही ढंगले प्रयोग गर्ने दायित्व अब आम मतदाताको। समाजमा व्याप्त द्धैध चरित्र त्याग्दै नेपाली समाजमा पराजित हुँदै गरेको आदर्श र मुल्यको पुनस्र्थापनाको संकल्प गर्ने दिन हो, आज। त्यसैले चुनावी वर्ष ०७९ लाई सार्थक बनाउने प्रण गरौं। सबै नेपालीजनमा नयाँ सालको हार्दिक शुभकामना।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved