सुकेटारमा एक सातादेखि उडान अवरुद्ध

नेपालभ्युज

सुकेटारमा एक सातादेखि उडान अवरुद्ध
फाइल तस्वीर

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ। एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो।

प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो। गत शुक्रबार र शनिबार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो। आज पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।

लगातार उडान अवरुद्ध भएपछि काठमाडौँका लागि टिकट गरेका यात्रु रोकिएका छन्। त्यस्तै काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इन्चार्ज लिम्बूले जानकारी दिए। हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ। यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन्।

नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ। अझै बाक्लो तुँवालो र हुस्सु कायमै रहेकाले यो मौसममा सुधार नआएसम्म उडान प्रभावित हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved