मिचिएको भूमि फिर्ता ल्याउन खोज्दा मेरो सरकार ढाले : केपी ओली

नेपालभ्युज

मिचिएको भूमि फिर्ता ल्याउन खोज्दा मेरो सरकार ढाले : केपी ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउन खोज्दा आफ्नो सरकार सिध्याउन खोजेको आरोप लगाएका छन्। २६ वर्षपछि बझाङ पुगेको बताएका ओलीले एमालेलाई देश विकास गर्न खोज्दा हटाइएको बताए।

नेकपा (एमाले) बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न यहाँ आइपुगेका ओलीले देशभर एमालेको पक्षमा जनलहर उत्रेको दाबी गरे। “एमाले तपाइको पार्टी हो, विकास गर्ने पार्टी हो, भत्ता दिने पार्टी हो, अस्पताल बनाउने पार्टी हो, विद्यालय, सडक, कुल कुलेसा बनाउने पार्टी एमाले हो। त्यसैले सबै एमालेमा आउनुस्,” उनले भने।

जलविद्युतमा जनताको शेयर दिलाउने पार्टी पनि एमाले भएको दाबी गरेका ओलीले भने, अहिलेको गठबन्धनको सरकारले देशलाई श्रीलंका बनाउन लागेका छन्। यिनीहरू देश बनाउने हैन देश सिध्याउनेहरू हुन्।”

कर्मचारीको भत्ता पनि आफूहरूले बढाएको जस लिँदै ओलीले आफूहरूले ल्याएका योजना रोकिएको भन्दै चिन्ता जनाए। “अस्पतालका योजनाहरू रोकिएका छन्, सडकका योजना रोकिएका छन्। यो सरकारले देश सिध्याउन लाग्यो।”

सेती नदीका किनारमा तटबन्धन गर्ने र उर्वरभूमि जोगाउने जिम्मा एमालेको रहेको उनले दाबी गरे। बझाङ जिल्लाको तारिफमा केही समय बोलेका ओलीले नेपाल जडीबुट्टीको खानी भएको थुप्रै सम्भावनाहरू पनि रहेको बताए।

गठबन्धन सरकारले चुनाव रोक्ने कोशिस गरिरहेको भन्दै ओलीले यो सरकारले स्थानीय सरकार रिक्त र जनप्रतिनिधि बनाउन खोजेको आरोप लगाए। ३० वैशाखमा मै चुनाव होस् भनी आफूहरूले धेरै कुरा सहेर बसेको उनको भनाइ थियो। एमालेले चाहे ७ दिनमा यो सरकारको जरा उखेलेर फाल्दिने पनि उनले चेतावनी दिए। भने, “५ ओटा बाख्रा एक ठाउँमा भए पनि भैसी जत्रो हुँदैन। केका पाँचदलीय गठबन्धन्। एमालेसंग जसले सिङ जुधाउँछ त्यसको सिङ भाँचिन्छ। एमाले कुनै हालतमा पछाडि सरेको छैन।”

साथै उनले बाटो बिराएर पार्टीबाट गएकाहरूलाई पनि फर्कन अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved