बालिकाहरूमाथि वर्षौँदेखि दुर्व्यवहार : पटक-पटक पाएका थिए शिक्षकले उन्मुक्ति

तीन शिक्षकद्वारा वर्षौँदेखि निरन्तर कक्षाकोठाभित्रै आफूमाथि यौन दुर्व्यवहार भएको विद्यालयका ७५ जना छात्राले बताएका छन्।

बालिकाहरूमाथि वर्षौँदेखि दुर्व्यवहार : पटक-पटक पाएका थिए शिक्षकले उन्मुक्ति
फाइल तस्वीर

हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरमा रहेको जनता मावि फापरबारीका विद्यार्थीमाथि विद्यालयका शिक्षकले पटकपटक दुर्व्यवहार गरेको पाइएको जानकारी दिइएको छ। दुर्व्यवहारको घटना बाहिरिएपछि मकवानपुरमा क्रियाशील बाल अधिकार तथा मानव अधिकारवादीहरूको संघसंस्थाले स्थलगत अवलोकन गरी यसबारे जानकारी गराएका हुन्।

तीन शिक्षकद्वारा वर्षौँदेखि निरन्तर कक्षाकोठाभित्रै आफूमाथि यौन दुर्व्यवहार भएको विद्यालयका ७५ जना छात्राले बताएका छन्। ८ वर्षमाथिका बालिकालाई कक्षाकोठाभित्र यौन दुर्व्यवहार भएको पाइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। पीडितहरूले प्रशासनमा तीन शिक्षकको नाम किटानीसहित कारबाहीको माग गर्दै ७ चैतमा उजुरी दिँदा समेत कुनै वास्ता नभएको पाइएको छ।

‘‘विद्यार्थीले आफूमाथि दुर्व्यवहार भयो भन्दा पनि सुनुवाइ नभएको देखिएको छ, घटना भएको धेरै दिन बितिसक्दा समेत कानून बमोजिम हुनुपर्ने कारबाही अघि बढेको देखिएन,” सिविन नेपालका मकवानपुर जिल्ला संयोजक झविन्द्र ज्ञवालीले भने, ‘‘कारबाही अघि नबढ्नाले घटना झनै संवेदनशील बनेको छ।’’

घटनाको विषयमा सोधीखोजी गरेका महिला शिक्षक र कर्मचारीमाथि उल्टै ज्यान मार्ने धम्की समेत दिएको पाइएको उनले बताए। मकवानपुरमा क्रियाशील संघसंस्थाले पीडित बालिकाको गोपनीयता, आत्मसम्मान र मनोसामाजिक अवस्था एवम् संवेदनशीलतालाई ध्यानमा राखेर दोषीले उन्मुक्ति नपाउने गरी कानून बमोजिम कारबाही गर्न माग समेत गरिएको छ।

यौन दुर्व्यवहार जस्तो अमानवीय घटनालाई स्थानीय स्तरमै मेलमिलाप गर्न खोजेको देखिएको राडो नेपालका कार्यक्रम संयोजक दीपेन्द्र पाठकले बताए।

‘‘अभिभावकले आफ्नै बालिकालाई नबोल्नका लागि दबाब दिएको पाइएकोले यो उजुरी दर्ता हुने वा नहुने, दर्ता भए पनि पीडित बालिकाले बयान फेर्नसक्ने अवस्था देखिन्छ’’, उनले भने।

मानव अधिकार तथा संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल, सिविन, माइती नेपाल रोकथाम गृह, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेसन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह र नारी सीप सृजना केन्द्रका प्रतिनिधिले स्थलगत अवलोकन गर्दै बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेका हुन्।

सोमबार आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यहार गरेको भन्दै मकवानपुरको एक विद्यालयका छात्राहरूले विद्यालयमा तोडफोड गरेका थिए।

आफूलाई शिक्षकले कक्षाकोठामा गलत नियतले छुने छात्राहरूको आरोप छ। छात्राहरूले १४ चैतमै शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved