सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लवबीच छलफल

नेपालभ्युज

सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लवबीच छलफल

धनगढी। सुदूरपश्चिम प्रदेशमा अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच छलफल भएको छ। सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो।

छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए।

बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी दिए। छलफल सकारात्मक भए पनि चुनावी तालमेलबारे कुनै निष्कर्ष नआएको उनले बताए।

नेकपाका केन्द्रीय सदस्य पुनले आफ्नो पार्टीले प्रभाव क्षेत्रको विश्लेषण गरेर एमालेसँगको सहकार्यमा स्वतन्त्र ढंगले उम्मेदवार उठाउने र उसको प्रभाव क्षेत्रमा सहयोग गर्ने विषयमा सकारात्मक छलफल भएको र अर्को चरणमा फेरि छलफल गर्ने सहमति भएको जानकारी दिए।

एमाले सुदूरपश्चिम प्रदेश कमिटिका पदाधिकारीको बैठकले अध्यक्ष भण्डारीको अध्यक्षतामा चुनावी तालमेलबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ता टोली बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved