चैती छठ पर्वको विधि आजदेखि शुरु

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्‍य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरका अरख’ भनिन्छ।

चैती छठ पर्वको विधि आजदेखि शुरु

जनकपुरधाम। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्वको विधि आजदेखि शुभारम्भ भएको छ।

चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म मनाइने चार दिवसीय छठ पर्वको पहिलो दिन आज व्रतालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका छन्।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइने गरिन्छ।

मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ पर्वलाई महापर्वको रूपमा मानिन्छ। तर, शारदीय छठ जस्तै यो पर्व मनाउने भने देखिँदैनन्।

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोबलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।

त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अर्घ्‍य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरका अरख’ भनिन्छ।

छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको जनविश्वास रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved