काठमाडौं । केही दिनअघि नेपाली कांग्रेसका एक युवा नेतासँग भेट भएको थियो। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणा पत्र लेखनको जिम्मा महामन्त्री गगन थापालाई जिम्मेवारी दिएको भोलिपल्ट ती युवा नेतासँग अनौपचारिक रूपमा भेटेको थिएँ।
भेटका क्रममा स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले गर्दै गरेको तयारीदेखि हुँदै गरेको चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमण र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा पनि केही कुरा भए।
कुराकानीका क्रममा ती युवा नेताले भन्दै थिए, “प्रधानमन्त्रीका रूपमा देउवाको भारत भ्रमण सधैँ पार्टीका लागि बुमर्याङ साबित भएको छ। अहिले पनि यस्तै नहोला भन्न सकिँदैन।” प्रधानमन्त्री देउवाको भारत भ्रमणको प्रतिफल के आउँछ त्यो अहिले नै भन्न त सकिने अवस्था छैन। विशेषगरी कूटनीति प्रभाव हालसालै देखिने विषय होइन, त्यसैले प्रधानमन्त्री देउवाको हालको भारत भ्रमणले नेपालका लागि सकारात्मक पराकम्पन ल्याउँछ वा नकारात्मक। यद्यपि नेपालका प्रधानमन्त्रीका रूपमामा देउवाले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयको भ्रमणले सानै सही केही पराकम्पन भने ल्याइसकेको छ।
असारमा प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् लामो समयको प्रयासपछि मात्रै देउवाको भारत भ्रमणको मिति जुरेको थियो। यसअघि पुसमा भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा भारतको अनौपचारिक भ्रमणमा जाने तयारी भएको त थियो तर कोरोनाको नयाँ भेरियन्ट अमिक्रोनको संक्रमण नेपाल र भारत दुवै देशमा फैलिएका कारण प्रधानमन्त्री देउवाको उक्त भ्रमण स्थगित भएको थियो। गुजरातको कार्यक्रममा सहभागी हुन नपाए पनि त्यसको तीन महीनापछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा छन्।
चीनसँगको सम्बन्धलाई पार्टीगत सम्बन्ध खुम्चाउने गल्ती यसअघिको केपी ओलीको सरकारले गरेको थियो त्यही गल्ती देउवाले पनि दोहोर्याएका छन्।
फेरि एक पटक नेपाली कांग्रेसले भाजापको ‘काँधमा चढ्ने’ नाममा कम्युनिष्ट पार्टीले गरेको जस्तै गल्ती दोहोर्याउँदै छ। सैद्धान्तिक रूपमामा नै फरक रहेका कांग्रेस र भाजपाबीचको अन्तर पार्टीसम्बन्ध विस्तारको प्रयास त्यो गल्तीको कडी बन्न सक्छ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलका नेतृत्वसँग नभट्दै गर्दा भारतीय सत्तारुढ दल भाजपाको मुख्यालयको भने भ्रमण गरे। भाजपा अध्यक्ष जयप्रकाश नड्डाको निमन्त्रणलाई स्वीकार गर्दै प्रधानमन्त्री देउवाले भाजपा मुख्यालयको भ्रमण गरेका हुन्।
उत्तरी छिमेकी चीनसँग राष्ट्रको सम्बन्ध विस्तारबाट भन्दा पार्टीगत सम्बन्ध विस्तारबाट फाइदा लिने ओली सरकारको गल्तीलाई कांग्रेस नेतृत्वको देउवा सरकारले दोहोर्याएको हो। सायद तत्कालीन अवस्थामा कांग्रेसका ती युवा नेताले प्रधानमन्त्रीका रूपमामा देउवाको भारत भ्रमण सधैँ बुमर्याङ हुने गरेको अनुमान सही साबित हुन सक्छ।
भनाइ नै छ, कूटनीतिमा समय, स्थान, परिस्थिति र अवस्था सधैँ महत्त्वपूर्ण हुनेगर्छ। नेपालका कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचाराको सम्बन्ध विस्तारका नामsमा चिनियाँ विचारधारालाई नै अँगाल्न काठमाडौंमा कार्यक्रम गरे। कार्यक्रम मात्रै होइन कार्यक्रममार्फत ६ बुँदे सम्झौता पनि गरे, चिनियाँ कम्युनिष्ट पार्टीसँग।
यद्यपि, चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्झौता गर्ने नेपालको उक्त कम्युनिष्ट पार्टी अहिले सङ्लो छैन, तीन चिरामा विभाजित छ। नेपालका कम्युनिष्ट बलियो हुँदा चिनियाँ कम्युनिष्ट पार्टीसँगको जुन रफ्तारमा हिम्मचिम बढाउने प्रयास नेपालका कम्युनिष्ट नेताले गरे त्यही प्रयास पार्टी एकताको काँडा बनेको विश्लेषण काठमाडौं खाल्डोमा नभएको होइन।
देशको स्तरबाट चीनसँग बढाउनुपर्ने सम्बन्धलाई पार्टीगत स्तरबाट बढाउने प्रयास हुँदा नेपालको राजनीतिले दुर्घटना व्यहोरेको धेरै समय भएको छैन। दुर्घटनाले स्थिर हुने आशा गरिएको नेपालको राजनीतिलाई नै डगमगाइदियो। त्यसो त पार्टीगत हिसाबमा सम्बन्ध विस्तार गरेर आफ्नो स्वार्थसिद्ध गर्ने चिनियाँ चाहनामा पनि पानी फेरेको थियो कम्युनिष्ट पार्टीको विभाजनले।
यहाँ स्मरण गर्नुपर्ने विषय के छ भने जति चिनियाँ कम्युनिष्ट पार्टीसँग भगिनी सम्बन्ध विस्तारको प्रयास गर्नुमा नेपालका कम्युनिष्ट नेता दोषी थिए त्यति नै मात्रामा वा त्योभन्दा बढी नेपालको भूराजनीति नबुझी नेपालसँग भन्दा पार्टी विशेषसँग सम्बन्ध विस्तार गर्ने चाहना राख्ने चिनियाँ कम्युनिष्ट पार्टी दोषी थियो।
फेरि एक पटक नेपाली कांग्रेसले भाजापको ‘काँधमा चढ्ने’ नाममा कम्युनिष्ट पार्टीले गरेको जस्तै गल्ती दोहोर्याउँदै छ। सैद्धान्तिक रूपमामा नै फरक रहेका कांग्रेस र भाजपाबीचको अन्तर पार्टीसम्बन्ध विस्तारको प्रयास त्यो गल्तीको कडी बन्न सक्छ। नेपालको आन्तरिक मनोविज्ञानलाई चीनले भन्दा बढी भारतले बुझेको छ। यस हिसाबले पार्टीगत सम्बन्ध विस्तार गर्दै गर्दा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको जस्तो गल्ती भाजपाले नगर्ला। तर, पनि नेपालको परिप्रेक्षबाट हेर्दा भाजापासँगको पार्टीगत सम्बन्ध विस्तारका लागि कांग्रेसले गरेको प्रयास ‘घातक’ सिद्ध हुन सक्छ।
एक दुवै पार्टीबीच साझा सैद्धान्तिक आधार छैन। प्रजातान्त्रिक समाजवाद नेपाली कांग्रेसको सैद्धान्तिक धरातल हो भने आन्तरिक मानवतावाद भाजपाको। धर्मलाई राजनीतिभन्दा टाढा राख्नुपर्ने नेपाली कांग्रेसको प्रचलित मान्यता हो भने, धर्मकै आधारमा सत्ताको सोपान गरेको भाजपालाई आरोप छ। भाजपा सरकारले नेपालको संविधनानमा नै नेपाललाई हिन्दूवादी राष्ट्र उल्लेख गर्न दबाब दिएको यथार्थ हो भने नेपालको संविधानलाई उसले ‘नोट’ गरेको छ स्वीकार गरेको छैन। नेपालको संविधान २०७२ अन्तर्गत राष्ट्रका नाममा शपथ लिएका नेपालका प्रधानमन्त्री भने भारत भ्रमणमा पार्टीको मुख्यालयकै भ्रमणमा गएका हुन्।
राजनीतिक विश्लेष भाष्कर गौतम नेपालका राजनीति र नेतृत्वमा देखिएको ‘दरिद्र’ताको उपजका रूपमामा यस्तो घटनालाई लिन्छन्। नेपालका कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँग र कांग्रेसले भाजपासँगको सम्बन्ध विस्तारमा मात्रै ध्यान दिनु राजनीतिक दरिद्रता भएको उनको बुझाइ छ।
नेपालको राजनीति चीन-भारतबीचमा विभाजित भएको विचारसँग सहमत नराख्ने विश्लेषक गौतम प्रधानमन्त्रीलाई देशको मर्यादा थाहा नहुँदा पार्टीको मुख्यालय भ्रमणमा गएको बताउँछन्। “नेपालका कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीलाई ल्याएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र नेपाली कांग्रेसले भाजापासँग अन्तर पार्टी सम्बन्ध विस्तार गर्ने भन्नु दरिद्र मानसिकताको उपज हो,” विश्लेषक गौतम भन्छन्, “शासनमा रहेकासँग देशको प्रस्ट दिशा नभएको उपज पनि हो यो, अर्को देशभित्र गर्ने सबै कुरा बाहिर हेरेर गर्नु मानसिकताका कारण पनि यस्तो भएको हो।”
भारतको संस्थापननिकट मानिएका केही नेपालीको बुझाइ भने यस विषयमा फरक छ। राजनीतिमा ‘आउट अफ द बक्स’ केही नहुने उनीहरूको विश्वास छ। कुनै पनि घटनाको परिणाम देखिन लामो प्रक्रिया कुर्नुपर्ने उनीहरू बतााउँछन्।
अर्कोतर्फ नेपालमा कम्युनिष्ट पार्टीको सरकार हुँदा नेपाल-भारत सम्बन्धमा जुन प्रकारको असर गर्यो, ‘ड्यमेज कन्ट्रोल’ का लागि पनि नेपाली कांग्रेससँगको सम्बन्धलाई पार्टीगत हिसाबमा नै विस्तार गर्न लागेको देखिन्छ। भन्छन्, “त्यसैका लागि अन्तर पार्टी सम्बन्ध विस्तारको प्रसंग आएको हो भने प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालय भ्रमण गरेका हुन्।”
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको जस्तो लिखित सहमति गरेर नेपाली कांग्रेस र भाजपाबीच सम्बन्ध विस्तार हुन नलागेको उनीहरू तर्क गर्छन्।
चीनले नेपालमा सम्बन्ध विस्तार गर्नका लागि देशभन्दा कम्युनिष्ट विचार धारासँग नजिक भएको पार्टी खोज्ने र भारतले पनि आफूसँग निकट रहेको पार्टीसँग मात्रै सहज महशुस गर्ने अवस्था आउनु नेपाल देशका लागि भने राम्रो होइन।
Facebook Comment
Comment