गणतन्त्र दिवसमा रेशम चौधरी छुट्ने !

मुद्दा फिर्ता लिन बाटो खोल्नेगरी बुँदा संशोधन

नेपालभ्युज

गणतन्त्र दिवसमा रेशम चौधरी छुट्ने !

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका पूर्वसांसद तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटाउन सरकारले विधेयक ल्याउने तयारी गरेको छ।
स्रोतका अनुसार आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई छुटाउन सत्ता गठबन्धनमा छलफल भएसँगै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक दर्ता गरेको बुझिएको छ। विधेयकमा चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको स्रोतको भनाइ। स्रोतका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ पछि दफा ११६ ‘क’ थप गरिएको हो । जसमा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधान राखिएको छ ।

उक्त संशोधित बुँदामा भनिएको ‘कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौताबमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकारवादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित यस अघिका प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाले पनि रेशम चौधरी छुटाउने आश्वासन धेरैपटक दिइसकेका थिए । ०७२ मा प्रस्तावित संविधानको प्रावधानविरुद्ध कैलालीको टीकापुरमा थरुहट आन्दोलन हुँदा आन्दोलनकारीबाट सात प्रहरी र एक बालक मारिएका थिए ।

चौधरी टीकापुर घटनामा कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतबाट मुख्य योजनाकारको रूपमा दोषी पाइएका थिए। जेल जीवन बिताइरहेकै अवस्थामा उनले ०७४ को प्रतिनिधि सभाको सांसदको शपथसमेत लिएका थिए।

रेशमलाई छुटाउन यसअघि ०७९ मंसिर २५ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश विवादमा परेपछि कार्यान्वयनमा गएन। ‘अमानवीय तवरले नियन्त्रणमा लिई ज्यान मारेकोे’ कसुर भएकाले चौधरीको मुद्दा हाल नकारात्मक सूचीमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved