सत्तारुढ दलले मकवानपुरमा वडैसम्म गठबन्धन गर्ने

नेपालभ्युज

सत्तारुढ दलले मकवानपुरमा वडैसम्म गठबन्धन गर्ने

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा सत्तारुढ दलबीच वडैसम्म गठबन्धन हुने भएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको शुक्रबार हेटौंडामा बसेको बैठकले स्थानीय निर्वाचनमा वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको हो।

गठबन्धनको केन्द्रीय निर्देशन अनुसार शुक्रबार ४ दलका नेताहरूको कांग्रेस पार्टी कार्यालयमा बैठक बसेको थियो। राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भने बैठकमा सहभागी थिएनन्।

“गठबन्धनलाई अझ मजबुत बनाउने, गठबन्धन तल्लो तहसम्मै लैजाने र त्यसका लागि सचिवालय बनाउने निर्णय भएको छ”, बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले भने, “गठबन्धनलाई थप सशक्त र मजबुत बनाएर गठबन्धनको उम्मेदवार जिताउन लाग्ने निर्णय भएको छ। यसका लागि नेता कार्यकर्तालाई सोही अनुसार निर्देशन दिने निर्णय गरिएको छ।”

गठबन्धनका लागि कांग्रेस सभापति लामाको नेतृत्वमा सत्तारुढ दलका अध्यक्ष रहेको पाँच सदस्यीय समिति बनाइएको छ। मकवानपुरको १०२ वटै वडा र १० वटै पालिकामा गठबन्धन हुने जानकारी दिइएको छ।

“नीतिगत रुपमा मकवानपुरका सबै स्थानमा गठबन्धन हुन्छ। भागबन्डाको कुरा गौण छ। यो गठबन्धन शुरुआतको संकेत हो”, नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले भने, “शनिबार सबै पालिकामा गठबन्धनको बैठक बस्नेछ।”

बैठकमा कांग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरू सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved