राष्ट्रिय परिचयपत्र वडामा

एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ। जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने प्रशासनले जनाएको छ।

नेपालभ्युज

राष्ट्रिय परिचयपत्र वडामा
सांकेतिक तश्वीर

बैतडी। राष्ट्रिय परिचयपत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचयपत्रका लागि विवरण सङ्कलन अभियान शुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालबाट भइरहेको परिचयपत्र विवरण सङ्कलनको काम गत आइतबारबाट वडा तहबाटै सुरु भएको थियो। जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका वडामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ।

वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। हाल विवरण परिचयपत्र बनाउन विवरण दिनेको भीड लाग्ने गरेको छ। एक हप्तामै दुई हजार ५०० को विवरण सङ्कलन भइसकेको छ।

भारतीले भने, “परिचयपत्र बनाउन विवरण दिनेको सङ्ख्या निकै उत्साहजनक छ, यसबारे विषयमा प्रचारप्रसार हुनु, यसको महत्वका बारेमा सबैले जानकारी पाएका कारण उत्साहजनक सहभागिता भएको हुनुपर्छ।” यसका साथै गाउँमै विवरण सङ्कलनको काम भइरहेकाले पनि सहभागिता बढेको जनाइएको छ।

ती दुई गाउँपालिकाका विभिन्न वडामा विवरण सङ्कलनका गर्न ३५ विवरण दर्ता अपरेटर खटाइएका छन्। एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ। जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने प्रशासनले जनाएको छ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको हो। राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ।

यसैगरी, बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ। विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ।

राष्ट्रिय परिचयपत्र बहुउपयोगी परिचयपत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ। विसं २०७७ असोज पहिलो सातादेखि बैतडीमा शुरु भएको परिचयपत्र विवरण सङ्कलनमा प्रशासन कार्यालयमा मात्रै हालसम्म सात हजार बढीको विवरण सङ्कलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved