सुदूरपश्चिममा म्यादी प्रहरी बन्नेको लर्को, मागभन्दा तेब्बर बढी आवेदन

नेपालभ्युज

सुदूरपश्चिममा म्यादी प्रहरी बन्नेको लर्को, मागभन्दा तेब्बर बढी आवेदन

धनगढी। सुदूरपश्चिम प्रदेशमा म्यादी प्रहरीका लागि माग भन्दा तेब्बर आवेदन परेको छ। आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्नवान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा तीन गुणा बढी आवेदन परेको हो।

नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिना छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर विष्टले जानकारी दिए।

सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी प्रहरीमा दरखास्त दिएका छन्।

२०७४ सालको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई काम गरेका एक हजार ८७१ जनाले पनि आवेदन दिएका प्रहरी निरीक्षक विष्टले जानकारी दिए। प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २ सय २२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन्।

कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ। कैलालीमा म्यादी प्रहरीका लागि दरखास्त दिनेको घुँइचो लागेपछि प्रहरीलाई आवेदन संकलन र भीड व्यवस्थापनमा हम्मेहम्मे परेको थियो।

यस्तै कञ्चनपुरमा एक हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा पाँच हजार ९३५ जनाको आवेदन परेको छ। डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीको फाराम भरेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। यी जिल्लामा क्रमशः आठ सय १०, एक हजार २३१ र छ सय ६८ जना म्यादी प्रहरी माग छ।

बझाङमा एक हजार ९३ जना म्यादी प्रहरी माग भएकोमा एक हजार ६५६ जना र बैतडीमा आठ सय १५ जना म्यादी प्रहरी माग भएकोमा दुई हजार २४ जनाले आवेदन दिएका छन्। यस्तै डडेल्धुरामा एक हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाको आवेदन परेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा छ सय ५२ र दार्चुलामा सात सय ४२ जना म्यादी प्रहरी भर्नाका लागि कोटा तोकिएको छ।

म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका बेरोजगार युवायुवतीको संख्या बढी छ।

“एक महीना काम गरेर घर खर्च त होला भनेर भर्ना हुन खोजेको हुँ,” धनगढीका उपेन्द्र चन्दले भने, “घरमा बेरोजगार बस्नुभन्दा म्यादी प्रहरी हुन पाए केही सिकाइ पनि हुन्छ र केही पैसा कमाइ पनि हुन्छ।” काम नपाइँदा बेरोजगार भएर बस्नु परेको उनले बताए।

नाबालक छोराछोरी काखमा च्यापेर म्यादी प्रहरीको आवेदन दिन घण्टौँ लाइनमा लागेका दृश्य प्रहरी कार्यालयहरूमा देखिन्थे। आवेदन दिनेमध्ये उच्च शिक्षा अध्ययन गरे पनि रोजगारी नपाएकाहरूको संख्या पनि धेरै छ। एक महिनाको जागिरका लागि बीए, एमए गरेकाहरू पनि तछाडमछाड गर्नुले नेपालमा बेरोजगारीको अवस्था झल्कने नागरिक समाजका अगुवाहरू बताउँछन्। म्यादी प्रहरीका लागि आवेदन दिने अन्तिम म्याद गत शुक्रबारसम्म थियो।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभरनै म्यादी प्रहरी भर्ना गर्न लागेको हो। म्यादी प्रहरीका लागि देशभरबाट दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन फारम भरेका बताइएको छ। फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य शुरु हुनेछ।

अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम शुरु हुने बताइएको छ। म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन्। म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved