प्रसिद्ध कवि रजयार्ड किप्लिङ लेख्छन्, ‘तिम्रो बारेमा झूट जरूर बोलिनेछ तर यदि तिमी प्रतीक्षा गर्नसक्छौ र प्रतीक्षा गरेर थाक्दैनौ भने तिमीले झूटसँग कहिल्यै सम्झौता गर्नुपर्ने छैन।’
तपाईं केही काम गर्दा ईश्वरलाई वा आफ्ना कुल देवी देउतालाई सम्झिनुहुँदो हो। जस्तो कि म कविता लेख्नबस्दा रोबट फ्रस्टलाई सम्झिन्छु। कविताका विषयमा प्रसिद्ध अमेरिकी कवि रोबट भन्छन्, ‘कविता घाँटीबाट शुरु हुन्छ यसले मान्छेलाई गलत कुराको महशुस गराउँछ ,आफू कतै बिछोडिएको चेतना दिन्छ र प्रेमबारे चेतना सृजना गर्छ।’
कविता दाँतको बत्ती बालेर अँध्यारोलाई खोज्नु हो।कविता कुहिरोमा केही नभेटिए पनि केही खोज्नु हो। बझाङका कवि सोझो गाउँलेको केही समयअघि प्रकाशित कविता संग्रह ‘मरुभूमिमा हिमपात’ले त्यही चेतना बोक्छ, उड्दै गरेको नवजात धुवाँको मुस्लोमा किरिङमिरिङ केही छायाहरू बनाउँछ। उसका लागि आमाहरूका पिठ्युँमा छुटेका घाममा पाइलाहरू पनि कविता हुन्। ऊ बुद्धलाई आफ्नो च्याटलिस्टमा भेट्टाउने आकांक्षा बोक्छ र केही लेख्छ सायद तपाईंंहरूले मान्नुभयो भने ती कविताहरू हुन्।
२०६३ मा ‘मनको बाँसुरी’ प्रकाशित गरेका गाउँलेको यो दोस्रो संग्रह हो। यसमा कतै देश देखेका ,कतै परिवेश लेखिएका, कतै जीवनको उत्खनन गरिएका र कतै प्रेमको क्रान्तिकारी दर्शन बोकेका ४७ ओटा कविताहरू संग्रहित छन्। छिटपुट अध्यात्मका जीवनउपयोगी धून पनि भेटिन्छन्। विशालनगरमा भाडाको कोठामा बसेर हरेक बिहानका दूधेकिरणहरूसँगै निस्ट कलेजका कक्षाहरूबाट दिनको पर्दा उघार्ने कवि गाउँलेको दोस्रो कविताकृति मरुभूमिमा हिमपात कविताकृति मात्र नभएर एउटा खोजका रूपमा पनि केही काव्य बटुलेका छन्।
उनका कविताले एकाग्रताको गहिरो आभास दिलाउँछन्, डुब्दै गरेको सुन्तले घाम ,समुद्र माथि पोखिरहेका घामका किरणहरू समुद्रको छेउमा वायुको आडमा उभिएको एउटा स्वतन्त्र पाना र त्यहीँ पानामाथि लेखिएका विद्रोह हुन् सोझो गाउँलेका कविताहरू जसले अनेकौं आयम बोक्दछन्।
हराउँदैन कहिल्यै यहाँबाट
हतार नगर्नोस् ,ढुक्कसँग हेर्नोस्
पृथ्वीको अट्ठाइस डिग्री आकंक्षा र
चौरासी डिग्री देशान्तरमाथि
पुर्खाहरूको पदचाप जस्तो देखिने
सदाबहार इन्द्रेणी हो यो
मिलाउँदै जानोस् हृदयको लेन्स
तपाईंंको आँखाको रेटिनामा
बन्दै जानेछ एउटा बहुरङ्गी विम्ब
कविता ( इन्द्रेणी देश ,पृष्ठ ३०)
सरल हरफमा उच्च चेतना प्रकट गर्नसक्ने कवि गाउँलेको हातमा लट्टाइ समातेर सपनाको चंगा उडाउने चेत यसमा देखिन्छ। समयलाई भाइब्रेट गराउन सक्ने कविता यसमा छन् भन्दा फरक नपर्ला, उदाहरणका रूपमा काफल बेच्ने केटीलाई लिन सकिन्छ,
अँध्यारो ढलिनसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरीलेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवन जस्तो घनघोर जङ्गलभित्र
वन्यजन्तुुसित डर लाग्दैन उसलाई
बरु सिकारीसँग डराउँछे
यसरी एकान्तमा एक्लै भेट्टायो भने
बाघले मृगलाई झैँ झम्टिन्छ सिकारीले
लक्खान चप्पल लतार्दै ओराले झर्छे
दुख्खको देउडा गाउँदै लेकबेँसी गर्छे
बाख्रा चराउँदा पाठीसित रमाउँछे
गाईलाई घाँस लाउँदा बहरसँग धकाउँछे
जिब्रोमा काँडो गाडेर गुजारा चलाउने हरिना
बस बिसौनी नजिक बसेर
कपडा किन्न काफल बेच्छे
सुदूरपश्चिमलाई रिफ्लेक्ट गर्ने ऐनाका रूपमा प्रस्तुत यो कविताले वर्तमान समाजको सिंगो प्रवृत्ति बोक्छ।
सोझो गाउँले समाज ,देश परिवेश मात्र होइन एउटा प्रेमीको मनोविज्ञानलाई पनि चिरफार गर्न सक्ने कवि हुन् यो कुरा उनका कवितामा समावेश प्रेम कविताले देखाउँछन्। कविताहरू पल्टाउँदै जाँदा जटिल संरचना, दुर्बोध अभिव्यक्ति, विशृङ्खलित भाषाशैलीका विरुद्धमा कविले सरल, सुबोध र शृङ्खलित भाषाशैलीलाई प्राथमिकता दिएको पाइन्छ।
गाउँलेले कवितामार्फत यस व्यवस्थालाई प्रश्न सोध्न पनि छुटाएका छैनन्। कुशासन, भ्रष्टाचार र कुप्रथाविरुद्ध राजनीति गरेर सत्तामा पुगेकाहरूलाई उनले प्रश्न सोधेका छन्।
हिमालको तलतिर एउटा चेतनाको किल्ला छ जहाँ अनुभवको आकाश छ, त्यहीँ आगो पकाएर बाँचिरहेका सोझोका कविताले बेइमान समयमाथि चेतनामूलक विद्रोह गरेका छन्।
कविले यस संग्रहमा सुदूरपश्चिमको सुवाश दिन खोजेका छन्, तर सबै कवितामा प्रयोग प्राय: दोहोरिने समान विम्बहरूले पाठकलाई केही मोनोटोनस बनाउँछ। उसो त कविताको शैलीमा पनि नयाँपन भेटिदैन। कतैकतै भद्दा गरी दोहोरिने पंक्तिहरू पनि नीरस जस्ता लाग्छन्। यी केही ठाउँमा कविले नवीनता दिन नसके पनि समग्र कविता संग्रहले नेपाली काव्य क्षेत्रमा बलियो हस्तक्षेपका रूपमा आएको छ।
Facebook Comment
Comment