स्थानीय चुनावमा पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैनः कांग्रेस प्रवक्ता महत

नेपालभ्युज

स्थानीय चुनावमा पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैनः कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा शुरु केन्द्रीय कमिटी बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनबिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरूले मत राखिरहेका बताए। प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जर्बजस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताए।

उनले पार्टी सभापतिले जर्बजस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताए। स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेर माथि बाट कुनै पनि निर्णय नलादिने उनले स्पष्ट पारे।

उनले भने, “हाम्रो पार्टी सभापति लाद्न चाहानुहुन्छ भनेर जर्बजस्ती एउटा न्यारेटिभ पब्लिकमा पठाउने प्रयास भइराखेको छ। त्यो गलत कुरा हो। कुनै लाद्ने कुरा पनि भएको छैन। छलफल त भर्खर भइराख्या छ। जे परिस्थिति छ, तलको इनपुटको आधारमा निर्णय गर्ने भन्दाभन्दै पहिला नै पार्टी सभापतिले यस्तो गर्न चाहानुभएको थियो, हामीले त्यो कुरा हुनुुहुन्न भनेर यस्तो निर्णय गरिदियौँ भन्नका लागि यो कुराहरू आइराखको छ कि मैले बुझ्या छैन। त्यसकारण पार्टी सभापति स्पष्ट हुनुहुन्छ कि, जहाँ हाम्रो आवश्यकता छ। पार्टीलाई फाइदा कसरी हुन्छ भन्ने कुरो हो। निर्वाचनमा जाने भनेको बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो। त्यो गठबन्धन गरेर जितिन्छ, गठबन्धन हुन्छ। गठबन्धन नगर्दा हुन्छ, गठबन्धन हुँदैन।”

ठाउँपिच्छे फरक–फरक परिवेश भएकाले सबै ठाउँमा एउटै सिद्धान्त लागु नहुने उनले बताए। भने, “पार्टी सभापतिले लाद्ने कुरा कहाँ गर्नुभाछ ? केन्द्रीय समिति बैठक बसिराछ। त्यहाँबाट निर्णय हुन्छ। केन्द्रीय समितिको निर्णय लाद्या हुन्छ। केन्द्रीय समितिको निर्णयबिना पार्टी सभापति एक्लै जानुहुन्छ ? केन्द्रीय समितिले त्यहाँको वस्तुस्थिति वेवास्ता गरेर निर्णय गर्छ ? गर्दैन। जे कुरा सम्प्रेषित गर्न कोसिस भइराखेको छ, म स्पष्ट ढंगबाट के भन्न चाहन्छु भने त्यो पार्टीको आधिकारिक दृष्टिकोण पनि होइन।”

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरूले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाबारे रिपोर्टिङ गरिरहेका उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved