‘आफ्नो खुट्टामा भरोसा नहुनेले मात्र चुनावमा गठबन्धन गर्छन्, हामी गर्दैनौं’

नेपालभ्युज

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पारेका छन्।

वरीष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरू एरेजमेन्ट हुन सक्ने सम्भावना पनि औंल्याए।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एमालेलाई निर्वाचनमा अरुको बैशाकीको जरुरी नभएको पनि पटकपटक दोहोर्‍याए।

सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्कसमेत गरे। उनले भने, “हामीले प्रस्टैसँग भनेका छौं हामीहरू निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं। हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौ। जुन खुट्टाले भई टेकेको छ। भुईटेकेको खुट्टाहरूमाथि विश्वास छ। हामी त्यसैमा उभिएर निर्वाचनको प्रतिस्पर्धामा सामेल हुन्छौं। जसलाई आफ्नो खुट्टामाथि भरोसा छैन। विश्वास छैन। उसलाई मात्रै बैशाकी चाहिन्छ। हामी त्यो बैशाकीको पक्षमा छैनौं। दोस्रो कुरा के हो भन्दा निर्वाचनमा कतिपय ठाउँमा लोकल आवश्यकताका आधारमा सिट एरेजमेन्ट हुन सक्छ। त्यो अलग कुरा भयो। त्योचाहिँ स्थानीय पार्टीले के ठान्छ ? स्थानीय साथीहरूले के ठान्नु हुन्छ ? त्यस आधारमा हुन्छ। तर केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौं। गठबन्धन बन्दैन, गठबन्धन बनाउँदैनौं।”

वरीष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रीय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै सोहीअनुसार सिंगो पार्टीपंक्तिलाई परिचालित गरेर अघि बढ्ने बताए।

परमादेशबाट निर्मित शक्तिसँग आफूहरूको निर्वाचनमा लडाइँ हुने भन्दै उनले उनीहरूलाई पराजित गरेर अघि बढ्ने गरी तत्काल योजना बनाउने बताए। वरीष्ठ उपाध्यक्ष पोखरेलले भने, “निर्वाचन, यो केवल निर्वाचन मात्रै होईन्, एउटा ठूलो लडाइँ हो। यो मुलुक दुईवटा ध्रुवमा धुव्रीकृत छ। निर्वाचनमा प्रकट भएको यो लडाइँ भनेको कस्तो हुन्छ भन्दा एकातर्फ परमादेशी शक्ति परमादेशको भरमा चल्ने। र, अर्कोचाहिँ जनादेशबाट निर्मित भएको शक्ति छ। दुई शक्तिको बीचमा जुन खालको लडाईँ छ। यो लडाइँमा हामीले जित हासिल गर्नुपर्छ भन्ने मानसिकताका साथ हामीहरू बैठक सम्पन्न गरेर निस्केका छौं। यिनै विषयमा छलफल गरेका छौं। र यही निर्णयको आधारमा आउने दिनमा योजनाबद्ध ढंगले अगाडि बढ्छौं। अब निर्वाचनका लागि दुई महीनाभन्दा कम समय छ। यो अवधि भित्र सिंगो पार्टी शक्ति परिचालित गर्ने हिसाबले हामी अघि बढेका छौं।”

वरीष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय तह निर्वाचनमा जित्ने र टिक्ने कार्यकर्ताहरूलाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved