देशकै उत्कृष्ट घोषित नगरपालिकाविरुद्ध भ्रष्टाचार मुद्दा, अख्तियारले नियन्त्रणमा लियो कागजात

आयोगको कार्यालय कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका कार्यालयबाट छानबिनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ।

नेपालभ्युज

देशकै उत्कृष्ट घोषित नगरपालिकाविरुद्ध भ्रष्टाचार मुद्दा, अख्तियारले नियन्त्रणमा लियो कागजात

कञ्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा देशकै उत्कृष्ट घोषित भएको नगरपालिकाविरुद्ध मुद्दा परेको छ।  आयोगको कार्यालय कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका कार्यालयबाट छानबिनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ। अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।

“लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो”, उनले भने,“अब छानबिनको प्रक्रिया अघि बढ्यो।” स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो।

त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी संकलनको ठेक्का पाएको यहाँस्थित भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ। नदीजन्य पदार्थमा रोयल्टी संकलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको ७५ रुपैयाँमा उठाउनुपर्ने भए पनि १०५ रुपैयाँसम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ।

नगर विकास कोषले अघिल्लो वर्ष यस नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाका रूपमा छनोट गरी नगद पुरस्कारसहित सम्मान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved