देशलाई गिज्याइरहेको एउटा गाउँ जहाँ अविवाहित किशोरी भेट्नै मुस्किल

उनी जब १७ वर्षकी भइन्, तब उनले “बाँझी” विशेषणबाट सदाका लागि मुक्त भइन्। पति पनि खुशी भए तर यो खुशी टिक्नै पाएन। दु:खको कुरो, उनको पहिलो सन्तानले धर्ती टेकेको केही समयमै सदाका लागि छोडेर गइन्। अर्को वर्ष फेरि उनले छोरी जन्माइन्। फेरि छोरा जन्मियो। अब अर्को पनि छोराको आशमा उनले दुइटी छोरी जन्माएकी छिन्।

देशलाई गिज्याइरहेको एउटा गाउँ जहाँ अविवाहित किशोरी भेट्नै मुस्किल

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४, नयाँ बस्तीकी मीठू प्रजा २२ वर्षकी भइन्। उनका दुई छोरा छन्। जेठो छोरा ४ वर्षका भए। उनले १७ वर्षको उमेरमा भागेर विवाह गरेकी थिइन्।

अल्लारे उमेर, विवाहपछि जिन्दगी खूब रमाइलो हुन्छ होला भन्ने कल्पना! अनि आफूसँगैका साथीहरूको पनि विवाह भइसकेको अवस्थामा १७ वर्षमा नै नजिकैको केटासँग भागेकी थिइन् मीठू। “बिहे गरेपछि जीवन रमाइलो हुन्छ होला जस्तो लागेथ्यो”, उनले भनिन्, “साथीहरूले पनि बिहे गरेपछि मलाई पनि रहर लाग्यो तर सोचे जस्तो भएन। नहुने रहेछ।”

कल्पनाभन्दा निकै फरक थियो भोगाइ। कलिलै उमेरमा घर अनि बालबच्चाको जिम्मेवारी छ– उनको काँधमा। खेतीले बल्ल तीन महिना खान पुग्छ। पति मजदुरी गर्छन्। परिस्थिति निकै अघि बढिसकेको छ तर उनलाई अहिले लाग्न थालेको छ– पढ्न पाएको भए पनि केही गर्न सक्थेँ कि!

पढाइ छोडेर विवाह गरेको उनलाई पछुतो छ। “पढ्ने बेलामा बिहे गरेर आइयो,पढ्न पाएको भए मैले नि केही गर्न सक्थेँ भन्ने लाग्छ, ” उनले भनिन्, “अहिले आएर जीवन गुजारा गर्नै मुस्किल छ। पढ्न पाएको भए अलि सहज हुन्थ्यो होला। एक जनाको कमाइले घर चल्न मुस्किल छ। ऊबेला पढेको भए अहिले दुःख पाउने थिइनँ तर के गर्नु ! साथीको लहै–लहैमा सानैमा बिहे गरिहालियो।”

आफूले सानैमा बिहे गरेर दुःख पाए पनि अब भाइबहिनी अनि आफ्नै छोराहरूले चाहिँ सानैमा विवाह नगरुन्, धेरै पढ्नू भन्ने चाहना उनको छ।

मीठू मात्र होइन, सोही गाउँकी विस्मिता प्रजा पनि २५ वर्षमा तीन छोराकी आमा बनिसकेकी छिन्। जेठो छोरो सात वर्षको भइसकेको छ।

उनको बाबुको आर्थिक अवस्था कमजोर थियो। त्यहीमाथि पनि उनी सानै हुँदा आमाले दोस्रो विवाह गरेकी थिइन्। आमाले छाडेलगत्तै बाबुले कान्छीआमा ल्याए। त्यसपछि त उनको पढ्ने वातावरण त परैको कुरा, घरमा बस्नै नसक्ने स्थिति थियो। त्यसपछि उनले विवाह गर्नुको विकल्प देखिनन्। यस्तै बाध्यताले १६ वर्षको उमेरमै विवाह गरेकी उनी तीन छोराकी आमा भइसके पनि अझै छोरीको पर्खाइमा छिन्।

मनहरी गाउँपालिकाको नयाँ बस्तीमा अविवाहित किशोरी भेट्नै मुस्किल छ। २५ वर्षभन्दा मुनिका महिला २ देखि ४ जना बच्चाका आमा बनिसकेका छन्। २५ वर्षमाथिका महिलाको चारदेखि १२ जनासम्म बच्चा छन्।

३० वर्षीय सविता प्रजा ६ सन्तानकी आमा हुन्। १३ वर्षको उमेरमा विवाह भएको उनको बिहेपछि तीन वर्षसम्म सन्तान भएन।

सन्तान जन्माउने उनको उमेर पुगेको थिएन तर यो न उनका पतिले बुझे न समाजले नै बुझ्यो। घरबाहिर निस्किए छिमेकीले मन दुख्ने गरी नि:सन्तान भन्थे। घरमा हरेक रात पतिले “बाँझी” भन्दै शरीर नै थङथिलो हुने गरी कुट्थे।

उनी जब १७ वर्षकी भइन्, तब उनले “बाँझी” विशेषणबाट सदाका लागि मुक्त भइन्। उनले छोरी जन्माइन्। पति पनि खुशी भए तर यो खुशी टिक्नै पाएन। दु:खको कुरो, उनको पहिलो सन्तानले धर्ती टेकेको केही समयमै सदाका लागि छोडेर गइन्।

अर्को वर्ष फेरि उनले छोरी जन्माइन्। परिवारमा फेरि खुशी छायो। करिब १७ महिनाबीचमा अर्को पनि छोरी भएपछि भने उनलाई पति फेरि हेला गर्न थाले। फेरि छोरा जन्मियो। अब अर्को पनि छोराको आशमा उनले दुइटी छोरी जन्माएकी छिन्। थाहा छैन, अझै उनले कति सन्तान पैदा गर्नेछिन्।

गाउँनजिकै चेपाङ प्राथमिक विद्यालय छ। यो बस्तीका बालबालिकाहरू ५ कक्षासम्म त सजिलै विद्यालय जान्छन् तर जब ५ कक्षा पास हुन्छन्, स्कुल पुग्न घरबाट एक घण्टाको बाटो हिँडेर जानुपर्छ। पशुपतिनाथ माध्यमिक विद्यालय, मनहरी–४ मसिने, पुग्न पर्ने बाध्यता छ।

यही कारण धेरैजसोले ५ कक्षा पढ्नेबित्तिकै विद्यालय छोड्छन्, बाँकीले पनि  ८–९ मा पुगेपछि। १२ कक्षा पढ्ने विद्यार्थी औँलामा गन्न मिल्ने छ। यसरी विद्यालयबीचमै छोड्ने बालबालिकाहरू धेरैजसोले बालबिवाह गर्छन्।

विशेष कार्यक्रम ल्याइने
सानै उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्न मनहरी गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले चेपाङ, बोटे, बनकरीया समुदायबाट २० वर्ष पुगेर विवाह गरेर विवाह दर्ता गर्न आउनेलाई केही विशेष सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए।

“मनहरी गाउँपालिकाको केही भेगमा अझै पनि अवस्था जटिल नै छ,” उनले भने, “हामीले सानै उमेरमा हुने विवाहलाई निरुत्साहित नै गरेका छौं। विशेष गरी बोटे, चेपाङ र वनकरिया समुदायका मानिसहरूको २० वर्ष पूरा गरी विवाह भएमा र त्यसरी विवाह दर्ता गर्न आएमा गाउँपालिकाले केही सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी भइरहेको छ। यो आर्थिक वर्षमा हामी त्यस्तो सहुलियत कार्यक्रम कार्यान्वयन गर्नेछौं।”

उनले पछिल्लो केही वर्षमा बालविवाहमा कमी आएको दाबी गरे। सबै वडाहरूमा बाल क्लबहरू गठन गरिएको भन्दै उनले विभिन्न पक्षबाट निरन्तर निगरानी भइरहेको बताए। “वडै पिच्छे बाल क्लब गठन गरिएको छ,” उनले भने, “जनप्रतिनिधिहरूले निगरानी गर्छन्। थाहा पाएसम्म बालविवाह हुन दिएका छैनौं। थाहा नै नभएको अवस्थामा पनि छ। पछिल्लो समय नियन्त्रण भएको छ। रोकथाम नै भने भएको छैन।”

विभिन्न संस्थाहरूसँग सहकार्यमा बालविवाह निरुत्साहित गर्ने गरिएको उनले बताए। यता गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भने गाउँपालिकाले पर्याप्त लगानी गरे पनि प्रतिफल राम्रो नआएको टिप्पणी गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved