आजभन्दा एक-डेढ शताब्दीअघिसम्म पनि सबै भूधरालत बसोवासका लागि अनुकूल थिएनन्। कतै प्रतिकूल हावापानी, कतै प्राकृतिक व्याधी र कतै औलोजस्ता प्राणघातक रोगको प्रकोप। बीसको दशकको प्रारम्भिक वर्षहरूमा समेत मधेश र भित्री मधेशका अधिकांश थलो मानव बसोवासका लागि योग्य थिएनन्। अझ, भित्री मधेशको त बेग्लै कथा थियो।
निःसन्देह, अनेक पर्यावरणीय अवस्था झेल्दै पृथ्वीको उत्तरीदेखि दक्षिणी गोलाद्र्धसम्मै मानव जातिको बसोवास रहँदै आयो, परापूर्वकालदेखि नै। अधिकांश समय गर्मी र अधिकांश समय चिसो हुने दुवै खाले हावापानी भएका भूधरामा मानिसहरूले जीवन निर्वाह गर्दै आए। यद्यपि, मानव जातिको आकर्षण भने जहिल्यै सन्तुलित हावापानी र उत्पादनयोग्य भूभागतिर नै सोझियो। घुमन्ते जीवनशैलीबाट निवृत्त भएर स्थायी बासस्थानका साथै खेतीपातीतिर प्रवृत्त भएदेखि नै मानिसहरूले आफू अनुकूलका भूभागतिर नजर लगाउन थाले र आवाद गरेर बस्न थाले।
आजभन्दा एक-डेढ शताब्दीअघिसम्म पनि सबै भूधरालत बसोवासका लागि अनुकूल थिएनन्। कतै प्रतिकूल हावापानी, कतै प्राकृतिक व्याधी र कतै औलोजस्ता प्राणघातक रोगको प्रकोप। बीसको दशकको प्रारम्भिक वर्षहरूमा समेत मधेश र भित्री मधेशका अधिकांश थलो मानव बसोवासका लागि योग्य थिएनन्। अझ, भित्री मधेशको त बेग्लै कथा थियो।
नेपालका केही भित्री मधेशमध्ये पर्दछ- सिन्धुली माडी पनि। चुरे र महाभारत पर्वत-शृंखलाको काछमा पल्टिएको माडी उत्पादनका दृष्टिले अब्बल थलो। फराकिला फाँट, दमार, तरीका साथै सिँचाइको समेत प्रचुर सुविधाले युक्त माडी बीसको दशकअघि सुनसान थलो थियो। फाँटिला खेतहरूमा मानिसहरूले अन्नबाली त उब्जाउँथे तर स्थायी रुपमा भने बस्ने सम्भावना भने न्युन थियो। कारण थियो- औलो।
चौतर्फी घना जंगल, दुन र सातपत्रे झाडीले सजिएको माडी फाँट औलोको खानी नै मानिन्थ्यो। बसोवासका लागि पूरै अनुपयुक्त। तर, स्थानीयको जीवन निर्वाहको एक मात्र आधारविन्दु भने त्यही फाँट नै थियो। दिनमा लामखुट्टेको कहर झेल्नु नपर्ने भएको हुँदा दिनभरि फाँटमा पसिना बगाउँथे र साँझ नओर्लिदै चढ्थे शिखरतिर। शिखर अर्थात् पहाडको माथिल्लो टापु। पछिल्लो समय ढुंग्रेबास, राम्माडी, रातमाटालगायत ठाउँमा बसोवास गर्न थालेकाहरू च्याउकोट उक्लिन्थे भने ढकाल गाउँ, गैयाँटार, पोखरेल गाउँका मानिसहरू भने ढकाल गाउँको शिखरमा चढ्थे। दैनिकी नै बनेको थियो- बिहान फाँटमा झर्ने, श्रम गर्ने र साँझ नपर्दै शिखर उक्लिने।
आफ्नो बन्द मिल अगाडि लक्ष्मीदास श्रेष्ठ
तत्कालीन समय जिल्लाको सदरमुकाम पनि शिखरमै थियो। कविवर उमानाथ शास्त्री सिन्धुलीयको शब्दका ‘शैल शिखर’ अर्थात् सिन्धुली गढीमा। नेपाल-अंग्रेजबीच युद्ध हुँदा ब्रिटिस सेनालाई गोर्खाली फौजले पराजित गरेको त्यस थलोमा केही ऐतिहासिक चिन्ह अर्थात् ठुलो गढी, सानो गढी, आडका साथै राणाकालीन एउटा दरबार, अड्डा-अदालत, प्रहरी, सेनाको व्यारेकका साथै एउटा विद्यालयसमेत थिए। थिए- बनेपा र शंखुबाट गएका चार जना नेवार परिवारको पसल पनि।
मुहारै बदलियो औलो उन्मुलनपछि
२०१८ सालपछि औलो प्रभावित मधेश र भित्री मधेशमा औलो उन्मुलन हुन थाल्यो। प्राणघातक औलोको जड मानिने लामखुट्टेलाई निर्मुल तुल्याएर अधिक उत्पादन हुने माडी फाँट मानव बसोवासका निम्ति उपयुक्त बनाइन थालियो। दैनन्दिन शिखरबाट शिखर-बेंसी गर्नेहरूलाई राहतको ढोका खुल्यो। उनीहरूले बिस्तारै शिखर छाड्न थाले र फाँट वरपरका जंगल फडानी गरेर बस्ती विस्तार गर्दै बस्न थाले।
औलो उन्मुलन भएको केही वर्षपछि नै गढीमा अवस्थित सदरमुकामलाई माडीमा स्थानान्तरण गरियो। अधिकांश समय हुस्सु-कुहिरोभित्र डुबिरहने गढीको वातावरण निकै चिसो थियो। माडी भने वर्षाद्को समयमा गर्मिलो ठाउँ भए पनि हिउँदमा भने न्यानो। बजार वा बस्ती विस्तारका लागि पनि सहज। हरेक हिसाबले उपयुक्त। २०२२ सालमा माडीमा सदरमुकाम सर्यो, गढीबाट। तत्कालीन राजनीतिक व्यवस्थाले परिवर्तनको झलक दिने उद्देश्यले हो वा उपयुक्त थलो ठानेर हो, सिन्धुलीसहित तनहुँ, उदयपुर, मकवानपुरलगायत जिल्लाका सदरमुकाम शिखरबाट बेंसीमा स्थानान्तरण गरिएको थियो।
माडीमा सदरमुकाम सरेपछि बस्ती विस्तार हुँदै गयो, बढ्दै गयो जनघनत्व पनि। अझ, औलो उन्मुलनपछि माडी फाँट वरपरका जंगली इलाकाहरू फडानी गरेर बस्नका लागि सरकारले अवसर पनि दियो। फाँटको एउटा छेउमा धुरा बजार बस्यो भने ढुंग्रेबास, १ र २ नम्बर बजार पनि विस्तार हुँदै गयो। बस्ती विस्तारसँगै बजार क्षेत्रको पनि विकास हुँदै जान थालेपछि माडी क्रमशः व्यापारिक थलोको रुपमा पनि स्थापित हुन पुग्यो। एकाध दिनको हिँडाइपछि पूर्व-पश्चिम राजमार्गको लालगढमा पुगिने र तराईको ठुला व्यापारिक सहर जनकपुर र वीरगञ्जसम्म पुग्न सहज हुन थाल्यो। जनकपुर, वीरगञ्ज, बनेपा, काठमाडौंबाट दैनिक आवश्यकताका सामानहरू ल्याई बिक्री गर्ने क्रम बढ्दै गयो।
मिलको शुरुआत
तत्कालीन समयमा अन्न कुटान/पिसान गर्नका लागि परम्परागत साधनहरूकै प्रयोग हुन्थे। धान र चिउरा कुट्न ढिकी वा ओखल र मकै, गहुँ, कोदो पिस्न जाँतो वा घट्ट। अरू उपाय थिएन।
शिखरमा बस्नेहरू माडीमा झरेर उत्पादनशील कार्यमा व्यस्त रहन थालेपछि उत्पादनमा वृद्धि हुनु स्वाभाविकै थियो। पूर्वी दिशा हुँदै बग्ने ग्वाङ र पश्चिमतिरको लग्दाह खोलाले सिँचाइको लागि सहयोगी भूमिका खेल्थ्यो। अरू स-साना झोराझोरीले पनि खेत-बारीलाई ऊर्वर तुल्याउन यथेष्ठ सहयोग पुर्याउँदै आएका थिए। उत्पादनमा वृद्धि हुन थालेपछि पनि मानिसहरू परम्परागत ढिकी, ओखल, जाँतो र घट्टहरूमा नै निर्भर रहँदै आएका थिए।
त्यो समयमा मधेशका केही मुख्य सहरमा धान र चिउरा कुट्ने तथा तोरी पेल्ने मिलहरू खुलिसकेका थिए। तर, भर्खर आवाद भएको माडी भने मिल-मुक्त थियो। तथापि, २०२५/०२६ सालतिर भने स्थानीय लक्ष्मण श्रेष्ठमा व्यावसायिक सोच पलायो। औलो उन्मुलनपछि कपडा, खाद्य सामग्रीहरूका व्यापार गर्न बनेपा, धुलिखेल, खड्पु, शंखुलगायतका नेवार समुदायका मानिसहरू माडीमा छिरिसकेका थिए। माडीमा आवाद बढ्न थालेपछि त त्यो संख्यामा उल्लेख्य वृद्धि हुँदै गयो।
लक्ष्मणले धुरा बजारको मध्य भागमा मिल राख्ने सोच बनाए। त्यो ठाउँमा स्थानीय गणेशविक्रम थापाको केही जग्गा थियो। त्यही जग्गा भाडामा लिएर लक्ष्मणले मिल खोले र चलाउन थाले। तर, उनले मिल चलाउन थाले पनि तत्कालीन समयमा मिल चलाउने दक्ष जनशक्तिको भने अभाव नै रहन्थ्यो। तराईतिरका मिलमा काम गरिरहेका जनशक्तिलाई नै गुहार्नु पथ्र्यो। उनले पनि तराईतिरकै कामदार ल्याएर मिल चलाउन थाले। कामदारको अभाव हुन थालेपछि भने उनले मिल चलाउन सकेनन्। बन्द भयो।
नहकुलदास र मिलको सम्बन्ध
मिल सञ्चालक नहकुलदास राजभण्डारी
लक्ष्मण श्रेष्ठले मिल स्थापना गरेको एकाध वर्षपछि नहकुलदास राजभण्डारी (दिवंगत) ले ढुंग्रेबासमा मिल सञ्चालन गर्न थाले। करिब २०३४ सालतिर। उनले रक्सौलबाट ३५-३६ हजारमा मेसिन किनेर ल्याए र चलाउन थाले।
त्यो समय नहकुलदासका एकजना मित थिए- बुद्धिबहादुर सुनुवार। मिल सञ्चालन गर्नुपर्छ भन्ने सुझाव थियो, तिनै मितका। त्यतिबेला मित धुरा बजारमा बस्थे। मितको सुझावलाई शिरोधार्य गर्दै उनले ढुंग्रेबासमा मिल राखेर चलाउन थाले। हुन पनि, तत्कालीन समयमा मिल सञ्चालकहरू प्रतिष्ठित व्यवसायीमा गनिन्थे। जोकोहीको मिल किन्ने हैसियत हुँदैनथ्यो। लक्ष्मीदास श्रेष्ठले धुरा बजारमा मिल राख्नुभन्दा पहिले सिंगो माडी क्षेत्रमा उनकै मिलको वर्चस्व थियो। उनले मिल राख्दा एक मुरी धान कुटेबापत ६-७ रुपियाँ लिन्थे। र, निकाल्थे ‘लवि’ पनि। ‘लवि’ अर्थात् चामल कुट्न आउनेहरूकै चामलबाट करिब एक मानाजति निकाल्ने कार्य। केही महिनापूर्व दिवंगत उनले यो पंक्तिकारसँग जीवित हुँदै भनेका थिए, ‘त्यसरी निकालिएको चामल केही कामदारहरूले खान्थे, केही चाहिँ माग्न आउनेहरूलाई दिन्थ्यौं।’
सामाजिक जीवनमा पनि प्रतिष्ठित नहकुलदासले अविच्छिन्न रुपमा धेरै वर्षसम्म मिल सञ्चालन गरे। तर, दशकअघिबाट भने उनले जेठा छोरा अशोक राजभण्डारीलाई मिल सञ्चालनको जिम्मेवारी सुम्पिए। पछिल्लो समय उनलाई शारीरिक अवस्थाले सक्रिय हुन दिएन।
लक्ष्मीदासको मिल-नाता
बनेपाका लक्ष्मीदास श्रेष्ठ व्यापारिक भविष्य पर्गेल्दै माडीमा आए, बीसको दशकतिरै। उनका बुबा नारायणदास श्रेष्ठको पहिलेदेखि नै बनेपा-माडीबीच व्यापारिक कार्यका लागि ओहोरदोहोर चलि नै रहेको थियो। परिवारका माइला सदस्य लक्ष्मीदासले कुन व्यवसाय अपनाउने भन्नेमा मन्थन गर्दागर्दै मिल सञ्चालन गर्न चाहे। तर, उनले मिल सञ्चालन गर्नुपूर्व ढुंग्रेबासमा नहकुलदास राजभण्डारीले मिल सञ्चालन गरिरहेका थिए।
लक्ष्मीदासले मिल सञ्चालन गर्नुको पृष्ठभूमिमा एउटा इखले भूमिका खेल्यो। त्यो इख अरू कोहीसँग नभई ढुंग्रेबासका मिल-मालिक तिनै नहकुलदाससँग जोडिएको थियो। लक्ष्मीदासकै शब्दमा, ‘नहकुलदास मेरो मित बुवा हुनुहुन्छ। एक पटक म उहाँको मिलमा तोरी पेल्न गएको थिएँ। तेल पेल्दा काँटी (पिना) झथ्र्यो र त्यो पिना फेरि पेल्दा तेल आउँथ्यो। मैले उहाँलाई त्यो काँटी सोहोरेर फेरि पेल्न अनुरोध गरेँ। तर उहाँले मान्नु भएन र त्यो काँटी टिनमा राख्नु भयो। यो कुराले ममा इख पलायो र मैले आफैँ नै मिल किनेर सञ्चालन गर्ने सोच बनाएँ र त्यसका लागि पहल गर्न थालेँ।’
त्यो घटनापछि घर फर्किएका लक्ष्मीदासले बुबा-आमासामु प्रस्ताव गर्दै भने, ‘म अब धुरा बजारमा मिल राख्छु, मलाई पैसा जुटाइदिनु पर्यो।’ तर, बुबाले ठाडै इन्कार गरे। त्यो बेला मिल स्थापना गर्न सानो पुँजीबाट पार लाग्दैैनथ्यो। लगानीकै विषयमा बाबु-छोराबीच केही दिनसम्म गन्थन-मन्थन चलिरह्यो। आमाको भने समर्थन रह्यो, ‘राख्छ भने राख्न दिनुस् न त।’
लक्ष्मीदासले हरेस खाएनन्। तत्कालीन समयमा मिल राख्नका लागि लाइसेन्स बनाउनु सहज कुरा थिएन। मुचुल्का बनाउनु पथ्र्यो। त्यतिबेला लाइसेन्स चाहिँ दोलखास्थित घरेलु कार्यालयबाट लिनु पथ्र्यो। एकदिन लाइसेन्स लिन बनेपाबाट दोलखा जाँदा उनी एकजना भाइसँगै लामोसाँघुसम्म गाडीमा गए र त्यसपछि उकालै-उकालो र तेर्सो बाटो हुँदै चरिकोटसम्म पुगे, हिँडेर। दोलखा पुगेपछि उनी भीमसेनको मन्दिर पुगे र पूजाआजा गरे। त्यही मन्दिरमा उनलाई चिन्ने एकजना मानिस पनि पुगेका रहेछन्। ती मानिसले सोधे, ‘तिमीहरू कहाँ जान हिँडेका हौ ?’ उनले ती मानिसलाई आफू मिलको लाइसेन्स लिन आएको कुरा बताए। ती मानिसले नै उनीहरूलाई आफूसँगै लिएर गए र खाना पनि खुवाए। पछि रहस्य खुल्यो, ती मानिस त घरेलुकै हाकिम रहेछन्।
घरेलुका हाकिमले उनलाई के-के पिस्नका लागि मिल राख्ने भनी सोधनी गरे। उनले सहजतापूर्वक भने, ‘धान कुट्ने, तेल पेल्ने र पिठो कुट्ने मिल राख्छु।’ त्यसपछि कुनै दोहोरो संवाद नगरी हाकिमले उनको हातमा मिलको लाइसेन्स थम्याइदिए। लाइसेन्स पाएपछि उनले प्रक्रिया थाले, बैंकिङ ऋणको। सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर परिचित नै थिए र उनले तीन वटा कोटेशन बनाएर ल्याउन सल्लाह दिए। बैंकले ऋण पत्याएपछि उनले धान कुट्ने, पिठो पिस्ने र तेल पेल्ने मेसिन जम्मा ३७ हजारमा ल्याए र धुरा बजारमा राखे। त्यो बेला ग्वाङ खोला, कमला खोला, भीमान खोला, रातु खोला हुँदै खोलैखोला ट्रक चल्थ्यो र ती मेसिनहरू उनले त्यही ट्रकमा बोकाएर ल्याएका थिए।
फाँटको अन्तिम विन्दुमा अवस्थित धुरा बजारमा लक्ष्मीदासले मिल सञ्चालन गर्न थालेपछि स्थानीय दालकुमारी सुनुवारको पेलाइ झेल्नु पर्यो। धुरामै थियो, सुनुवारको पनि मिल। उनले बखेडा झिके, ‘नजिक-नजिक दुइटा मिल राख्न पाइँदैन।’ ती दुवै मिल करिब सय मिटरको दूरीमा मात्र थिए। दालकुमारी तत्कालीन व्यवस्थाको हर्ताकर्ताहरूसँग सिधै पहुँच राख्नसक्ने क्षमताकी थिइन्। नेपाल महिला संगठनको अञ्चल अध्यक्ष भएकी हुँदा उनको बोली र प्रभाव कहाँ बिक्दैनथ्यो र ? दालकुमारीले मिलको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिन्।
त्यो बेला प्रमुख जिल्ला अधिकारी थिए- रामकृष्ण पन्त। पञ्चायती व्यवस्थाका लागि घाँडो मानिनेहरूप्रति अरिङ्गालझै खनिने स्वभावका। प्रतिबन्धित कांग्रेस/कम्युनिष्टका नेताहरूलाई पेलेरै तह लगाउने पन्तले पछि त वामपन्थी नेता ऋषिराज देवकोटा ‘आजाद’ को हत्यामा मुख्य भूमिका पनि खेले। दालकुमारीले उजुरी दिने बित्तिकै कडा स्वभावका पन्तले लक्ष्मीदासको मिलमा ताला नै लगाइदिए। तत्कालीन समयमा भद्रकुमारी घले राज्यमन्त्रीको जिम्मेवारीमा थिइन् र एकदिन लक्ष्मीदासले राज्यमन्त्री घलेसामु आफ्नो समस्या राखे। तर, घलेले पनि दालकुमारीकै पक्ष लिइन्। जिल्ला तहमा कुनै निकास ननिस्किने देखेपछि उनले अञ्चलाधीशलाई गुहारे। अञ्चलाधीश पनि उस्तै। सबैतिर भनसुन गर्दा कुनै उपाय नलागेपछि उनले आफ्नै भाइ नवराजलाई काठमाडौंमा फोन गरेर सबै वस्तुस्थिति अवगत गराए। मिलको सबै कागजपत्र लिएर काठमाडौं आउन भाइले सल्लाह दिएपछि उनी काठमाडौं गए र सम्बन्धित ठाउँहरूमा कागजपत्र देखाएर समस्या अवगत गराए। एकजना मानिसले भने, ‘मैले सिडिओलाई एउटा चिठी लेखिदिएको छु, यो चिठी पाएको चौबीस घण्टाभित्र उसले मिलको ताला खोलिदिएन भने मकहाँ आउनू, मैले जान्या छु।’
प्रजिअ पन्तले त्यो चिठीको विषयमा लक्ष्मीदाससँग निकै नै सोधखोज गरे। पन्तले चिया ख्वाएर चिठीको रहस्य खोतल्न चाहे। तर, उनले केही पनि बताउन चाहेनन्। सिडिओ पन्तको हातमा चिठी परेको केही समयपछि नै एक जना सुब्बालाई खटाएर केही दिनदेखि मिलमा झुन्डिएको ताला खोलियो।
कामको बाँडफाँट
हिउँद-वर्षा दुवै मौसममा उत्पादन हुन्थ्यो, माडी फाँटमा। धान, मकै, गहुँ, तोरी र पछिल्लो समय चाहिँ आलु। ढुंग्रेबास र धुरामा मिल स्थापना भएपछि परम्परागत माध्यमबाट कुटान/पिसानको कार्य न्युन हुँदै जान थाल्यो र मानिसहरूले मिलको सहजतालाई बुझे।
तर, ढुंग्रेबासमा नहकुलदास र धुरामा लक्ष्मीदास अर्थात् ‘दुई दास’ को मिलको काममा पनि बाँडफाँट हुन थाल्यो। नहकुलदासको मिलमा ढुंग्रेबास, राम्माडी, पोखरेल गाउँ, मल्ला गाउँलगायत गाउँका मानिसहरू कुटान/पिसानका लागि जान्थे भने लक्ष्मीदासको मिलमा रातमाटा, गैयाँटार, ढकाल गाउँ, बोझेलगायत गाउँका मानिसका पाइला पर्थे।
मिल स्थापनाको शुरुतिर एक मुरी धान पिस्दा ज्याला थियो- १०/१२ रुपियाँ। तेल पेलेको चाहिँ केही सस्तो। त्यस्तै ५-६ रुपियाँ। अझ, गहुँ पिसेको त २-३ रुपियाँ मात्रै ज्याला थियो। तर, ज्यालासँगै एक मानाजति चामल पनि निकाल्ने गरिन्थ्यो। त्यसरी धान कुट्न ल्याउनेहरूबाट चामल निकाल्ने कार्यलाई ‘लवि’ भनिन्थ्यो। मिलमा कार्यरत कामदारहरूको खानपिनका लागि त्यसरी चामल निकाल्ने गरिन्थ्यो। तर, पछिल्लो समय भने ‘लवि’ लिने कार्य रोकियो। मिल भने प्रायः बिहान र बेलुकी २-३ घन्टा मात्रै चलाइन्थ्यो।
लक्ष्मीदासले शुरुमा जनकपुरबाट ल्याएका थिए, मिस्त्री। उनले करिब ६ महिनाजति मिलमा काम गरेपछि बिदा लिए। पछि भने आफैंले मिस्त्रीको रुपमा समेत हात हाले। इन्जिन चलाउनु बाहेक अरू सामान्य नै काम हुने भएको हुँदा ‘मालिक/मिस्त्री’ दुवैको भूमिकामा उनी रहन थाले।
लक्ष्मीदासको पारिवारिक संख्या वृहत् नै थियो- २०-२२ जना। ‘लवि’ बापत आउने चामलले सिंगो परिवारको छाक टथ्र्यो भने ज्यालाबापत आएको पैसाले डिजेल किन्न काफी। जीवन निर्वाहका लागि यो जति अरू के नै चाहियो र ?
पछिल्लो समय भने उनले कुनै बेला आफूलाई दुःख दिने तिनै दालकुमारीको मिल किने। इन्जिन बिग्रिएपछि दालकुमारीले मिल चलाउन छाडेपछि उनले किनेर सञ्चालन गरे। मिलसँगै दुई कट्ठा जग्गा पनि किने। दालकुमारीको मिल किन्नुअघि आफूले चलाउँदै आएको मिल भने पारिवारिक सहमतिमै भाइ हरिचरणले सञ्चालन गर्न थालिसकेका थिए।
चल्न छाड्यो मिल
पचासको दशकपछि भने माडीका अरू ठाउँमा पनि मिल राख्न थालियो। हरेकजसो गाउँमा मिल राख्न थालेपछि कुनै समय वर्चस्व कायम गरेको नहकुलदास र लक्ष्मीदासको मिलको विकल्प देखियो। शिवालय, गैयाँटार, बोझेलगायत ठाउँमा त्यही दशकमा नै मिल स्थापना भए। झन् पछिल्लो समय अर्थात् ०६४/६५ देखि त उब्जाउयोग्य फाँटमा जग्गा कारोबारीहरूको नजर पर्यो र धान फल्ने खेतहरूमा घरहरू फल्न थाले। खेतीयोग्य जमिन मासिँदै गए र जनशक्तिको अभाव र खेतीमा नाफा-घाटाको काँटा झुन्डिएपछि उत्पादनप्रतिको घट्दो अभिरुचि देखिएसँगै उत्पादनमै कमी आउन थाल्यो। अझ, सहज रुपमा बजारमा चामलको बोरा किन्न सकिने भएपछि झरी-वर्षामा निथु्रक्क भिजेर, शीत र तुसारोसँग लुकामारी खेल्दै श्रम गर्ने अनुहारहरू पनि लोलाउन थाले।
बदलिँदो परिस्थिति र समयका कारण पूर्ववर्ती दिनहरूमा जस्तो मिलको चक्का घुम्न छाड्यो। न त सुनिन्छ नै, मिल कराएको आवाज। केही वर्षयता लक्ष्मीदासले मिलमा आंशिक रुपमा ताल्चा लगाएका छन्। नहकुलदासको मिल जेनतेन चलिरहेको छ। कोभिड-१० को कहरपछि सहरका सिनेमा हलहरू मासिएर सपिङ मल बन्न थालेजस्तै ती मिलहरू पनि कुनै बन्द भए, कुनै अरू नै प्रयोजनका लागि बदलिए। यस्तो हुनुमा बदलिँदो समय र मिल-सञ्चालकका सन्ततिहरूमा देखिएको अरूचि पनि कारकको रुपमा जोडिन पुगेका छन्। विडम्बना नै भनौं, कुनै समय सीडीओले ताल्चा लगाएपछि मिल खुलाउन अनेक शक्तिकेन्द्रहरूमा धाएका लक्ष्मीदासले अचेल भने आफैंले लगाएको ताल्चा खुलाउने जाँगर देखाएका छैनन्।
प्रश्न उब्जिन्छ, के अब मिल-युगको अन्त्य भएकै हो ?
००