केबलकारको बढ्दो आकर्षण : धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाइ चन्द्रागिरि चुचुरो (भिडिओ)

चन्द्रगिरिप्रतिको आकर्षण वृद्धवृद्धादेखि बालबालिकासम्म सबैको छ। पछिल्लो समय केबलकार निर्माणपछि चन्द्रागिरि डाँडाको पर्यटकीय महत्व निकै अकाशिएको छ। चन्द्रागिरि जान नेपालीका घर-घरमा झगडामसेत हुन थालेको छ।

केबलकारको बढ्दो आकर्षण : धर्मकर्मदेखि मनोरञ्जन गर्नेसम्मको रोजाइ चन्द्रागिरि चुचुरो (भिडिओ)

काठमाडौं। काठमाडौंको कलंकी बस्ने रमिता गरागाईं आइतबार चन्द्रगिरि केबलकारमा भेटिइन्। काखेछोरीसहित चन्द्रागिरि गएकी उनी छोरीकै आग्रहमा तेस्रोपटक चन्द्रगिरि पुगेकी हुन्।
“मेरी यो छोरीले शनिबार आयो कि चन्द्रगिरि जाऔँ भन्छिन्। म तेस्रो पटक आएकी”, उनले नेपालभ्यूजसँग भनिन्।

चन्द्रागिरिमै भेटिएका मीनभवनका विवश भट्टराई पनि चन्द्रगिरि पुग्दा निकै आनन्द अनुभूत गर्छन्। उमेरले वयस्क देखिने उनी डाँडामा भेट्दा निकै हर्षित देखिन्थे। “चन्द्रगिरि निकै सुन्दर ठाउँ छ। म दोस्रो पटक तीन वर्षपछि आएको हो”, उनले भने, “धार्मिक हिसाबले त हामी स्वस्थानीको समयमा आउने विचार गरेका थियौँ, नमिलेर अहिले आएको।” नवयुवक विवेक अर्याल चन्द्रागिरिको शीरमा गिटार लिएर रमाइरहेका थिए। खुशी हुँदै भने, “म त एक्साइटेड छु।”

बालबालिकादेखि किशोरकिशोरीको पनि उत्तिकै आकर्षण छ-चन्द्रागिरिमा। काठमाडौंको दक्षिण-पश्चिमी डाँडामा अवस्थित भालेश्वर महादेवको धार्मिक महत्व पाकापुस्ताले पहिलेदेखि चर्चा गर्थे।

चन्द्रगिरिप्रतिको आकर्षण वृद्धवृद्धादेखि बालबालिकासम्म सबैको छ। पछिल्लो समय केबलकार निर्माणपछि चन्द्रागिरि डाँडाको पर्यटकीय महत्व निकै अकाशिएको छ। चन्द्रागिरि जान नेपालीका घर-घरमा झगडा हुन थालेको छ।

०७३ सालदेखि चन्द्रागिरि हिल्स प्रालिमार्फत् औपचारिक रूपमा केबलकार सञ्चालनमा आयो। त्यसपछि चन्द्रागिरि व्यावसायिक रूपमै फस्टाएको छ।

थानकोटमाथि समुद्र सतहबाट २,५५१ मिटर अग्लो डाँडामा केबलकारमार्फत १४ मिनेटमै पुग्न सकिन्छ। चन्द्रगिरि डाँडा पुग्न लालायित मानिसलाई बाटो छोटिएपछि निकै सहज बनेको छ। चन्द्रगिरि त्यही हो, जुन पहाड पृथ्वीनारायण शाहको नेपाल एकीकरणको परिकल्पनासँग जोडिएको छ। नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले मकवानपुरगढीस्थित ससुरालीबाट फर्किंदा त्यहीँ डाँडाबाट पहिलोपटक काठमाडौं उपत्यका देखेपछि त्यसबेलाको तीन वटा उन्नत राज्य कब्जा गर्ने योजना बनाएको इतिहासमा उल्लेख छ।

केबलकार सञ्चालन भएदेखि नै भालेश्वर महादेवको मन्दिर दर्शन गर्ने र त्यहाँको प्राकृतिक सौन्दर्यसँग रमाउनेहरुको नयाँ गन्तव्य पनि बनेको छ यो ठाउँमा।

महादेवको दर्शनसँगै मनोरञ्जन

भालेश्वर महादेवको दर्शनसँगै पारिवारिक भ्रमण गरी सुन्दर प्राकृतिक दृष्य अवलोकन गर्न सकिने भएपछि थानकोटबाट केबलकार चढेर चन्द्रागिरि डाँडा जानेहरू हरेक दिन भीड नै लाग्ने गरेको छ।
चन्द्रगिरि पुग्न थानकोटबाट केबलकारमा ९ देखि १५ मिनेट लाग्छ। सार्वजनिक बिदाको दिन त झन् केबलकार चढेर जानेहरुको बिहानैदेखि भीड लाग्छ। चन्द्रगिरि हिल्सका अपरेसन म्यानेजर दुर्गा थापाले भने, “चन्द्रागिरिको डाँडाबाट देखिने रोमाञ्चक दृष्यले मानिसहरूलाई यति तान्छ कि फर्की-फर्की आउने गर्छन्। सार्वजनिक बिदाको दिन केबलकार चढ्न आउनेको भीड अरु दिनभन्दा बढी हुन्छ।”

चीसो हावासँगै प्रकृतिको अनुपम दृश्य अनि सूर्योदय र सूर्यास्तको मनोरम दृश्य पनि चन्द्रागिरिबाट देख्न सकिन्छ। त्यसबाहेक चन्द्रगिरिबाट सुन्दर हिमाल, उडिरहेको बादल, हरियाली, उपत्यका तथा दक्षिणी भेगका सुन्दर गाउँबस्तीहरुको दृश्यावलोकन गर्नेहरू आल्हादित भएर फर्किन्छन्।

हिन्दू धर्मालम्बीहरू चन्द्रगिरिको शिखरमा पुग्दा स्वर्गको टुक्रा नै भन्ने गर्छन्। त्यहाँ पुग्ने विदेशीहरूले आफ्नो यात्राको सबैभन्दा रोमाञ्चक गन्तव्य भन्न पछि पर्दैनन्। पहिला-पहिला जंगल छिचोलेर चन्द्रागिरि डाँडामा पुगिन्थ्यो। अहिले त्यो दुःख अन्त्य भएको छ। १५ मिनेटमै चुचुरोमा पुग्दा निकै खुशी हुन्छन्। चन्द्रगिरि हिल्सले त्यहाँ सबै सुविधासमेत पुर्‍याइसकेको छ।

मन्दिर दर्शन गर्न पुग्नेहरूका लागि पूजा सामग्रीदेखि बालबालिकाका लागि निःशुल्क बाल-उद्यान, युवाका लागि सुरक्षित जीपलाइन, कपल स्वीङ, ‘हर्स राइडिङ’ गरी मनोरञ्जन गर्न पाइन्छ।
चन्द्रगिरि पुग्नेहरूले त्यहाँको भ्युटावरबाट सर्वोच्च शिखर सगरमाथादेखि नेपालका अधिकांश हिमालहरूको पनि अवलोकन गर्न पाउँछन्। घुम्न जानेका लागि खाजा र खानाको पनि बन्दोबस्त हुन्छ। त्यहाँका रेष्टुरेन्टमा आफूलाई मन लागेको खानेकुरा खान पाइन्छ, जुन ठाउँ र मनोरञ्जनको तुलनामा मूल्य पनि सुपथ नै छ।

सात सयमा केबलकार

चन्द्रगिरि यात्राको मुख्य आकर्षण नै केबलकार हो। त्यहाँ नपुगेका कतिपयलाई लाग्न सक्छ- त्यहाँ जानु खर्चिलो हुन्छ। तर, चन्द्रगिरि केबलकारमा माथि-तल गर्दा जम्मा ७ सय रूपैयाँ मात्रै भाडा लाग्छ।
पैदल जाँदा चार घण्टा लाग्ने ठाडो उकालोमा जंगल माथि-माथिबाट सुन्दर दृष्यावलोकन गर्दै मानिस साढे तीन किलोमीटर लामो केबलकार चढेर ९ देखि १५ मिनेटमा चन्द्रागिरि डाँडामा पुग्न सकिन्छ।
केबलकारले विद्यार्थी, थानकोटका स्थानीय, तीन फिटभन्दा होचा बालबालिका र अपाङ्गहरुलाई विशेष छूटको पनि व्यवस्था गरेको छ।

चन्द्रगिरि पुगेर कोही मानिस बिरामी भइहाले भने प्राथमिक उपचार र नर्ससहितको फार्मेसीको व्यवस्था पनि गरिएको छ। अहिले चन्द्रगिरिमै गएर रात बिताउन चाहनेहरूका लागि अत्याधुनिक रिसोर्ट बनिसकेको छ। सभा, सेमिनार र गोष्ठी लगायत कार्यक्रमहरु पनि चन्द्रागिरिमै गर्न सकिन्छ।

चन्द्रागिरि हिल्सले अहिले ४० वटा केबलकार सञ्चालन गरिरहेको छ। ती केबलकारमार्फत् दैनिक अधिकतम १५ हजार मानिसलाई ओसार पसार गर्न सकिने क्षमता छ तर अहिले दैनिक औसतमा दुई हजारले चन्द्रागिरि यात्रा गर्ने गरेकोको पनि चन्द्रगिरि हिल्स प्रालिका अपरेसन म्यानेजर दुर्गा थापाले जानकारी दिए।

म्यानेजर थापाले भने, “चन्द्रागिरिको ऐतिहासिक र धार्मिक महत्व बुझेर त्यहाँ जान चाहने मानिसहरू धेरै हुनुहुन्छ उहाँहरूलाई हामी निकै सुपथ मूल्यमा मनोरञ्जन दिइरहेका छौँ। अहिले भारतीय र नेपालीहरू बढी आए पनि अन्य देशका मानिसहरू पनि विस्तारै बढिरहेकमा छन्।”

 

सबै तस्वीरः विप्लव रेग्मी/नेपालभ्यूज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved