नेपाल सुपर लिगमा को बिके, को बिकेनन् ?

नेपाल सुपर लिगमा को बिके, को बिकेनन् ?

काठमाडौं। विवादबीच पनि नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेलाडी अक्सन शुक्रबार सम्पन्न भएको छ। यो सिजनको प्रतियोगिता आगामी चैतको अन्तिम सातादेखि आयोजना हुँदैछ।

यसअघि सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबहरूको आग्रहमा एन्फाले अक्सन रोक्न आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई निर्देशन दिएको थियो। तर, अखिल नेपाल फुटबल संघकै प्राविधिक सहयोग लिएर एनएसएल आयोजना गर्न लागेको कम्पनी अक्सन रोक्न तयार भएन।

यही विवादका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग संयोजक विज्ञान राज शर्माले पदबाट राजीनामा दिएका थिए। गत वर्ष नेपालका विभिन्न शहर केन्द्रित सात टिमले एनएसएलमा सहभागिता जनाएका थिए भने यसपटक लिगमा तीन टिम थपेर कुल संख्या १० पुर्‍याए छ।

विवाद किन ?

हाल नेपालमा अधिकांश खेलाडी ‘ए’ डिभिजन लिगका क्लबहरूमा अनुबन्धित छन्। ‘ए’ डिभिजन क्लबहरू मोफसलका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्न लालयित भएकाले आफ्ना खेलाडीलार्ई फ्रेन्चाइज क्लबहरूमा आबद्ध भएर खेल्न दिन चाहदैँनन्। तर, अक्सनअघि नै सबै फ्रेन्चाइज क्लबहरूले टिमको मार्की खेलाडी घोषणा गरिसकेका थिए। त्यहीकारण, पनि एनएसएल अक्सन रोक्न तयार भएन।

गोल्डेन बजरमार्फत बिकेका महँगा खेलाडी

अक्सनमा रहेका हरेक टिमले गोल्डेन बजरमार्फत एक खेलाडी मात्र किन्न पाउने नियम राखियो, त्यस्ता खेलाडीका लागि अधिकतम तीन लाख ५० हजारसम्म तिर्न पाइने प्रावधान थियो। जसअनुसार भर्खरै सम्पन्न ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी सुनिल बल काठमाडौं रेजर्समा, दिनेश राजवंशी पोखरा ठण्डर्समा, गोलकिपर दिप कार्की विराटनगर सिटी एफसी, पुजन नगरकोटी धनगढी एफसीमा र सुनम अर्याल लुम्बिनी एफसीमा तीन लाख ५० हजारमा आबद्ध भए। यी सबै खेलाडीहरूले केही समयअघि सम्पन्‍न सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका थिए।

अन्य महँगा खेलाडी

लिगमा उत्कृष्ट प्रदर्शन आशीष गुरुङलाई पनि काठमाडौं रेजर्सले गोलाप्रथामार्फत अधिकतम मूल्यमा टिममा भित्र्यायो। ‘ए’ क्याटागोरीमा रहेका उनलाई ४ टिमले सर्वाधिक तीन लाख ५० हजार तिरेर किन्न चाहेका थिए, तर काठमाडौं रेजर्सले गोलाप्रथामा उनलाई पाएको थियो।

सन्तोष तामाङ र निसान खड्कालाई भने नवप्रवेशी क्लब झापाले पायो। दुवैले सर्वाधिक तीन लाख ५० हजारमा झापा एफसीबाट खेल्ने भएका हुन्। दुवै खेलाडीलाई अधिकतम मूल्यमा दुईभन्दा बढी क्लबले बोलि लगाएपछि गोलाप्रथामा झापाले दुवै खेलाडीलाई पायो।

एरिक विष्टलाई भने पोखरा ठण्डर्सले अधिकतम मूल्य तीन लाख ५० हजार मूल्यमा पायो। पाँच टिम उनको पछि लागे पनि गोलाप्रथामा पोखरा पहिलो भयो।

त्यसैगरी, दर्शन गुरुङलाई बुटवल लुम्बिनी एफसीले गोलाप्रथामा अधिकतम मूल्य तिर्दै टिममा गर्‍यो, उनका लागि ३ लाख ५० हजार तिर्न ६ वटा क्लब तयार थिए। ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका मनिष डाँगाीले भने विराटनगर सिटी एफसीएबाट एनएसएल खेल्ने भए। गत सिजन पनि विराटनगर सिटीबाट नै खेलेका उनलाई एक लाख ५० हजारमा विराटनगरले किनेको हो।

नेपाली टिममा पुनरागमन गरेका स्टार मिडफिल्डर जगजित श्रेष्ठलाई भने काठमाडौं रेजर्सले ‘ए’ क्याटागोरको न्युनतम एक लाख ५० हजारमा भित्र्यायो। अष्ट्रेलियामा बस्दै आएका उनी यसै वर्ष नेपाल फर्किएका थिए, गत सिजन उनले आर्मीबाट लिग खेले।

नेपालका पूर्व कप्तान विराज महर्जनलाई काठमाडौं रेजर्सले किनेको छ। अघिल्लो संस्करण लुम्बिनीबाट खेलेका उनलाई काठमाडौंले एक लाखमा टिममा भित्र्याएको हो। ए डिभिजन लिगमा विराजको कप्तानीमा रहेको च्यासल युथ क्लब रेलिगेसनमा परेको थियो।

अनसोल्ड स्टार खेलाडीहरू

आर्मी क्लबका फरवार्ड नवयुग श्रेष्ठ भने यो अक्सनमा अनसोल्ड भए। चोटका कारण भर्खरै सम्पन्न ‘ए’ डिभिजन लिग पनि गुमाएका उनी अझै चोटमुक्त भैसकेका छैनन्। त्यसैले गत सिजन पोखरा ठन्र्डस्का मार्की प्लेएर रहेका उनलाई यो सिजन कुनै पनि क्लबले किनेनन्।

आर्मीका कप्तान भरत खवास पनि एनएसएलमा बिकेनन्। उनको कप्तानीमा आर्मीे ‘ए’ डिभिजन लिगको उपविजेता बनेको थियो। ‘ए’ क्याटागोरीमा रहेका फरवार्ड तथा नेपाली टिमका पुर्वकप्तान खवासले गत सिजन चितवनबाट खेलेका थिए।

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रका स्ट्राईकर अभिषेक रिजाल पनि अक्सनमा अनसोल्ड रहे। उनी पनि ‘ए’ क्याटागोरीमा नै थिए। तर राष्ट्रिय टिमबाट पनि खेलिसकेका उनी हाल खराब फर्मबाट गुज्रिरहेका छन्।

राष्ट्रिय टिम र पुलिस क्लबका फरवार्ड सुमन लामालाई भित्र्याउन पनि कुनै टिमले चाहेनन्। ‘ए’ क्याटागोरीमा रहेका उनको अक्सनमा न्युनतम एक लाख ५० हजारमा कसैको बोली लागेन।

थ्री स्टार क्लबका कप्तान विक्रम लामालाई पनि एनएसएलमा कुनै पनि टिमले खरिद गर्न चाहेन। उनले पनि चोटका कारण ‘ए’ डिभिजन लिगका अन्त्यतिरका खेल गुमाएका थिए।

मार्की प्लेयर

यसअघि १० टिमले सार्वजनिक गरेका टिमका मार्की प्लेयर भने निम्न छन् :

रञ्जित धिमाल – विराटनगर सिटी एफसी

देवेन्द्र तामाङ – विरगञ्ज युनाइटेड एफसी

विशाल श्रेष्ठ –बुटवल लुम्बिनी एफसी

अनन्त तामाङ – एफसी चित्तवन

विशाल राई – धनगढी एफसी

तेज तामाङ – स्पोर्टिङ इलाम एफसी दी मेची

अन्जन विष्ट – झापा एफसी

विकेश कुथु – काठमाडौं रेजर्स एफसी

विमल घर्तिमगर – ललितपुर सिटी एफसी

सुरज श्रेष्ठ – पोखरा थण्डर्स


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved