जसलाई दिए पनि यस्तै हो, विरक्तिएर भोट हाल्दिनँ नभन्नुहोस्ः विश्वप्रकाश शर्मा

नेपालभ्युज

जसलाई दिए पनि यस्तै हो, विरक्तिएर भोट हाल्दिनँ नभन्नुहोस्ः विश्वप्रकाश शर्मा

भक्तपुरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरेका छन्।

मध्यपुरथिमि ४ बालकुमारीमा आज बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलन उद्घाटन गर्दै उनले आउँदो ३० वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरे।

“म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्नँ भन्ने सोचाइ पहिलो पटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ”, महामन्त्री शर्माले भने, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एक पटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस्।”

पाँच वर्षका लागि चुनाव जितेको तत्कालीन नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उनको भनाइ थियो। ‘आज पनि बूढानीलकण्ठ गा’को छ, भोलि पनि त्यहीँ गा’को छ, हो न हो पानीमाथि सुतिरहनुभएको बूढानीलकण्ठको दर्शन गर्न जानुभयो होला भनेको त, उहाँहरू त सुतिरहेको बूढानीलकण्ठभन्दा अलि तल बसिरहेको बूढानीलकण्ठमा पो धाएर हजुर सरकार चलाइदिनुपर्‍यो भनेर सरकार बुझाउन पो जानुभएको रहेछ”, महामन्त्री शर्माले भने, “यदि जनताले बहुमत नै दिए पनि बूढानीलकण्ठमा लगेर सरकार बुझाउनुपर्छ भने सीधै कांग्रेसलाई नै रोजे भैगयो नि ”

उनले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताए। एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उनले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताए। कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उनले एमसीसीमा सैन्य रणनीति नरहेको प्रस्ट पारे।

यो पनि पढ्नुहोस्

उग्रराष्ट्रियताको कुरा गर्ने तर मानिसमात्र निर्यात गर्ने गरेर देशको उन्नति हुँदैन : विश्वप्रकाश शर्मा (भिडिओ)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved