यो पटकको ‘ए’ डिभिजन लिगका केही रोचक प्रसंग

४४ औँ संस्करणको उपाधि मच्छिन्द्र क्लबलाई हस्तान्तरण गर्दै र च्यासल यूथ क्लब तथा ब्रिगेड ब्याइज क्लबलाई रेलिगेसनमा पार्दै लिगले बाई-बाई गर्दा यो सिजन केही रोचक प्रसङ्गहरू बने। जुन यस्ता छन्।

यो पटकको ‘ए’ डिभिजन लिगका केही रोचक प्रसंग

काठमाडौं। गत मंसीर ३ गते देखि शुरु भएको नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो र आधिकारिक रूपमा सबै भन्दा पुरानो प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिगको यो सिजन शनिबारदेखि सकिएको छ।

४४ औँ संस्करणको उपाधि मच्छिन्द्र क्लबलाई हस्तान्तरण गर्दै र च्यासल यूथ क्लब तथा ब्रिगेड ब्याइज क्लबलाई रेलिगेसनमा पार्दै लिगले बाई-बाई गर्दा यो सिजन केही रोचक प्रसङ्गहरू बने। जुन यस्ता छन्।

मच्छिन्द्रको एकतर्फी दबदबा

२०७६ मा सम्पन्न गत सिजनको लिग अगाडिसम्म मच्छिन्द्र क्लबलाई सायदै कसैले ‘ए’ डिभिजन लिगको उपाधि विजेता बन्न सक्ने टिमको सूचिमा राख्ने आँट गर्थ्यो।

२०६२ सालमा ‘बि’ डिभिजन लिग च्याम्पियन बनेर पहिलो पटक ‘ए’ डिभिजनमा उक्लेको मच्छिन्द्र गत संस्करण अघिसम्म औसत क्लबमा पर्थ्यो। तर गत सिजनदेखि नेपाली घरेलु फुटबलमा मच्छिन्द्र क्लब यसरी आयो कि अन्य क्लबलाई छायामा पार्‍यो।

गत सिजनदेखि नेपाली ‘ए’ डिभिजन लिगमा राज गर्न थालेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लब लगातार दोस्रो सिजन पनि शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बन्यो।

अघिल्लो सिजन क्लब इतिहासमा नै पहिलो पटक लिग उपाधि जित्न मच्छिन्द्रले अन्तिम खेलसम्म संघर्ष गर्नुपरेको थियो। गत संस्करणमा उपाधिको लागि निर्णायक रहेको लिगको अन्तिम खेलमा आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै बल्ल मच्छिन्द्रले लिगको उपाधि उचालेको थियो।

योसँगै नेपाली घरेलु फुटबलमा नयाँ ‘पावर आउस’को रूपमा मच्छिन्द्रको उदय पनि भयो।

यो वर्ष भने मच्छिन्द्रले लिग उपाधि मात्र जित्यो भन्दा क्लबलाई अन्याय हुनसक्छ। मच्छिन्द्रले लिग उपाधि त जित्यो, तर कसरी जित्यो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ? मच्छिन्द्रले अपराजित रहेर, एकतर्फी रूपमा र सजिलै लिग जित्यो।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्,“अपराजित भएर लिग टुङ्गाउने हाम्रो लक्ष्य थियो जसमा पनि जितका साथ लिग टुङ्गाएका छौ। लिगको सुरुआतको सात खेलसम्म अलि गाह्रो भएको थियो तर नवौँ चरणपछि भने सजिलो भयो। प्रतिद्वन्द्वी टिमहरू रोकिँदै गए। यस पटक सजिलै तरिकाले लिग जितियो।”

लिगको छैठौ चरणमा मनाङलाई १–० ले हराउँदै उसैबाट पहिलो स्थान खोसेको मच्छिन्द्रलाई यसपछि लिग लिडरको पोजिसनबाट कसैले पनि हटाउन सकेन। यसपछि ११ औ चरणको खेलमा सातदोबाटो यूथ क्लबलाई १–० ले पराजित गर्दै दुई खेल अगावै उपाधि पक्का गरेको मच्छिन्द्रले १२ अंकको स्पष्ट अग्रता कायम गर्दै लिगको समापन गरेको छ।

एकतर्फी रूपमा पहिलो स्थानमा रहेर कुदेको मच्छिन्द्र सामु उपाधि दौडमा अन्य क्लब उसका आसपास पनि आउन सकेनन्। हुन त उपविजेता बनेको नेपाल आर्मी क्लब पनि मच्छिन्द्र जस्तै लिगमा अपराजित नै रह्यो। तर लिगमा जित भन्दा बराबरी धेरै खेल्दा उपाधि दौडमा गत सिजन जस्तो यो वर्ष आर्मीले मच्छिन्द्रलाई उपाधि दौडमा चुनौती दिन सकेन र १२ अंकले पछाडि पर्‍यो। आर्मीले १३ खेलमा पाँच जित निकाल्दा आठ खेलमा बराबरीमा रोकिएको थियो।

मच्छिन्द्रले पनि यो पटकको लिगमा एक खेल पनि हारेन। कुल १३ खेलमा ११ मा जित र दुईमा बराबरी खेलेको थियो। लिगमा पाँचौँ चरणपछि मच्छिन्द्रले लगातार आठ जित निकाल्यो। अघिल्लो सिजनको पनि हिसाब गर्ने हो भने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्रको अपराजित यात्रा २१ खेलमा पुगेको छ।

त्यस्तै लिग अवधि भरी मात्र दुई गोल खाएको मच्छिन्द्रले ११ खेलमा क्लिन सिट राखेको थियो। मच्छिन्द्रले लिगको पहिलो खेलमा एनआरटी र अन्तिम खेलमा एपीएफसँग मात्र एक एक गोल खाएको थियो।

लिगमा मच्छिन्द्रकै मिडफिल्डर सुनिल बलले सर्वोत्कृष्ट खेलाडी र मच्छिन्द्रकै गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट गोलकिपिङको उपाधि जिते। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्न सफल भएकोमा मच्छिन्द्रले (विश्व फुटबल माहासंघ) फिफाका अध्यक्ष जियानी इन्फान्तिनोको तर्फबाट पनि आधिकारिक बधाई पायो।

मच्छिन्द्रले अब अर्को महिना हुने एएफसी कपको तयारी पनि चलिरहेको छ जसका लागि टिमलाई अझ बलियो बनाउन कोसिसमा लागेको प्रशिक्षक कटुवालले बताएका छन्।

आगामी चैत २२ गते मच्छिन्द्रले एएफसी कपको प्रारम्भिक चरणमा श्रीलंकाको लिग च्याम्पियन ब्लु स्टार क्लबसँग खेल्नेछ। खेल दशरथ रङ्गशालामा नै हुनेछ। यो खेल जितेमा अर्को चरणमा मच्छिन्द्रले भारतको मोहुन बगानको सामना गर्नेछ।

ठूला क्लबको खराब फर्म

गत संस्करणको लिग उपाधिको प्रतिस्पर्धामा ‘आउट अफ सिलेबस’ को रूपमा मच्छिन्द्र क्लब आइपुग्नु अगाडि नेपाली घरेलु फुटबलमा तीन क्लबको एकछत्र राज चलिरहेको थियो। ती तीन क्लब थिए मनाङ मर्स्याङ्दी, थ्री स्टार र नेपाल पुलिस क्लब।

हुन पनि २०५२ साल पछि भएका १२ ‘ए’ डिभिजन लिगमा यी तिन बाहेक अन्य एउटा पनि क्लबले उपाधि उचाल्ने साहस नै गर्न सकेका थिएनन्। तर जब २०७६ को लिगदेखि मच्छिन्द्रले छलाङ मार्‍यो, नेपाली फुटबलका पावर हाउसका रूपमा रहेका यी तीन क्लबको तागत एकाएक घट्यो।

यो सिजन पनि मनाङ, थ्री स्टार र पुलिस क्लबको प्रदर्शन औसतभन्दा माथि उठ्न सकेन।

लिगको ११ औँ चरणसम्म दोस्रो स्थानमा रहेको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ अन्त्यमा पाँचौँ भयो। लिग अवधिभर पाँचौँ स्थानभन्दा माथि उठ्न नसकेको पुलिस त लिगमा ११ औँ भयो। पुलिस रेलिगेसनबाट मात्र ४ अंकले बचेको थियो। थ्री स्टार भने छैटौँ स्थानमा रह्यो।

गत सिजन मनाङ, थ्री स्टार र पुलिस क्लब लिगमा लगातार तेस्रो, चौथो र पाँचौँ भएका थिए।

पूर्व च्याम्पियन कप्तान रेलिगेसनमा

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जनले गत सिजन मच्छिन्द्रले पहिलो पटक लिग उपाधि जित्दा टिमलाई नेतृत्व गरेका थिए। उनकै कप्तानीमा मच्छिन्द्र लिग च्याम्पियन बनेको थियो।
तर यो सिजन उनी ठूलो चुनौती लिँदै लिग च्याम्पियन मच्छिन्द्र छाडेर च्यासल यूथ क्लब गए। तर खराब फर्ममा रहेको च्यासल लिगको अन्तिम स्थानमा रहेर रेलिगेसनमा पर्‍यो।

‘ए’ डिभिजनमा उक्लिएको तीन सिजनपछि च्यासल पुनः ‘बी’ डिभिजनमा झर्दा अघिल्लो सिजनको लिग लिडर टिमका कप्तान बिराज यो पटक लिगको अन्तिम स्थानमा रहने टिमका कप्तान बने।
गत सिजन मच्छिन्द्रबाट उपाधि विजेता कप्तान बनेका उनी यो पटक रेलिगेसनमा पर्ने कप्तान भए।

त्यस्तै बिराजसँगै रेलिगेसनमा परेको अर्को टिम ब्रिगेड ब्याइजका कप्तान अनिल गुरुङ पनि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हुन्। यस हिसाबले यो पटकको लिगबाट राष्ट्रिय टिमका दुई पूर्व कप्तान रेलिगेसनमा परेका छन्।

नवप्रवेशी सातदोबाटाेको शान

सातदोवाटो यूथ क्लब यो वर्ष पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको थियो। गत सिजनको ‘बी’ डिभिजन लिगको उपाधि जित्दै सातदोवाटो पहिलो पटक ‘ए’ डिभिजनमा उक्लिएको थियो।

लिगमा नवप्रबेशी टिम भएकाले धेरै क्लबले सातदोबाटोलाई कम आँकिरहेको थिए। तर ‘अन्डर डग’ को रूपमा रहेको सातदोबाटो लिग ‘डार्क हर्ष’को रूपमा रह्यो। सातदोबाटाेको सान त्यतिबेला बढ्यो जब उसले ‘जाइन्ट किलर’को उपनाम पायो।

त्यो उपनाम पाउनुको प्रमुख कारण थियो लिगमा ठूला क्लबहरूलाई पराजित गर्नु। सातदोबाटोको यो लिगको एउटा अनौठो खुबी थियो। लिगका ठूला मानिएका क्लबलाई पराजित गर्नु। तर तुलनात्मक रूपमा कमजोर मानिएका क्लबसँग बराबरी वा हारको खेल खेल्नु।

सातदोबाटोले सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङलाई २-१ ले हराएको थियो। त्यस्तै चार पटकको च्याम्पियन थ्री स्टार र पाँच पटकको लिग उपाधि विजेता नेपाल पुलिस क्लबलाई १-० ले हरायो।

उता सातदोबाटो जाउलाखेल यूथ क्लब र हिमालयन शेर्पासँग पराजित भएको थियो भने संकटा र फ्रेण्डस् क्लबसँग भने बराबरीको खेल खेलेको थियो। ‘ए’ डिभिजनमा उक्लिएको पहिलो सिजनमा नै उत्कृष्ट प्रदर्शनका साथ सातदोबाटो चौथो स्थान हासिल गर्न पनि सफल भयो। सातदोबाटोले यो लिगमा फेयर प्ले टिमको उपाधि पनि जित्यो। यो सबै सम्भव हुनुका पछाडि थ्री स्टार क्लबका पूर्वप्रशिक्षक मेघराज केसीको प्रमुख हात थियो।

तीन खेलाडीको लगातार चौथो लिग उपाधि

यो पटक मच्छिन्द्रले लिग जित्दा मच्छिन्द्रमा रहेका तीन खेलाडी लगातार चौथो पटक लिग विजेता खेलाडी बन्न सफल भए। मच्छिन्द्रका कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठसँगै गोलकिप्पर विशाल श्रेष्ठ र अर्का मिडफिल्डर विशाल राई लगातार चौथो पटक लिग जितेका हुन्। तर यो दुई क्लबबाट खेल्दा सम्भव भएको थियो।

यी तीनै खेलाडीले २०७० र २०७५ सालमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेर लिग जितेका थिए। यसपछि मच्छिन्द्र आएका यी खेलाडीले गत संस्करण र यो सिजनको लिग उपाधि पनि जिते। यी तीन खेलाडी दुई फरक क्लबबाट लगातार दुई दुई सिजन लिग च्याम्पियन बनेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved