आधुनिक क्रिकेट बलिङको भरमा मात्र जितिँदैन

तर यो पटक सुधारिएको भनिएको ब्याटिङले नै धोखा दिएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना चकनाचुर भयो। नेपाली क्रिकेटको सधैंको टाउको दुखाईको विषय ‘ब्याटिङको समस्या’ ले यो प्रतियोगितामा पनि छाडेन।

आधुनिक क्रिकेट बलिङको भरमा मात्र जितिँदैन

काठमाडौं। सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुर्‍याएका प्रशिक्षक पुबुदु दासानायकेकै ‘एक्स फ्याक्टर’ का कारण यो पटक पनि नेपाल विश्वकपका लागि छनोट हुने धेरै समर्थकको आशा थियो।

विश्वकप छनोटका लागि ओमान टुरमा जानुअघि पुबुदुले भनेका थिए,“सन् २०१५ मा मैले टिम छाड्दा नेपालसँग पावर हिटिङ क्षमताको अभाव थियो। तर हाल आक्रमक खेलमा निकै सुधार भएको छ, खेलाडीहरूको पावर हिटिङ क्षमता निकै बढेको पाएको छु। यो ६ वर्षको बीचमा नेपालको ब्याटिङ कलामा भएको सुधार नै मैले देखेको प्रमुख भिन्नता हो।”

तर यो पटक सुधारिएको भनिएको ब्याटिङले नै धोखा दिएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना चकनाचुर भयो। नेपाली क्रिकेटको सधैंको टाउको दुखाईको विषय ‘ब्याटिङको समस्या’ ले यो प्रतियोगितामा पनि छाडेन।

नेपाली क्रिकेटमा विपक्षीलाई पराजित गर्न बलिङ सधैं नेपालको प्रमुख हतियार थियो। नेपालले यसअघि सन् २०१४ को विश्वकपमा छनोट हुनुलगायत क्रिकेटमा पाएको अधिकांश उपलब्धिमा उत्कृष्ट बलिङ नै प्रमुख भर थियो।

नेपाली क्रिकेटको एउटा फर्मुला नै थियो। खेलमा सकेसम्म टस जितेर पहिलो बलिङ गर्ने। कसिलो बलिङको मद्दतले विपक्षी टिमललाई सस्तैमा रोक्ने र सामान्य लक्ष्य पनि मरीमरी पूरा गरेर जित्ने।

जुनसकै फर्म्याटमा होस नेपालले प्रमुख टिमविरुद्ध ब्याटिङको भरमा खेल जितेको अवसरहरू निकै कम थियो। यस्तैमा गतवर्ष नेपाली क्रिकेटमा जोडिएका प्रशिक्षक डेभ ह्वाटमोरले छोटो समय बसेपनि नेपालको ब्याटिङलाई राम्रो बनाएर गए।

उनले समस्याको रुपमा रहेको ब्याटिङलाई नै जितको हतियार बनाएका थिए। गत वर्षको वैशाखमा नेपालमा नै सम्पन्न टी–ट्वान्टी ट्राई नेशन्स सिरिजमा सुरुआती ब्याटिङ गरेका तीन खेलमा नेपालले २०० प्लसको स्कोर बनाएको थियो। नेपालले यो प्रतियोगिताको उपाधि जित्दा ब्याटिङ प्रमुख कडी थियो।

सोही ब्याटिङ फर्मले यो पटकको विश्वकपमा पनि निरन्तरता पाउने आशा थियो। खेलाडी, प्रशिक्षक, मिडिया सबैले नेपालको ब्याटिङ सुधारिएको नै बताइरहेका थिए।

यता सधैंको नेपाली क्रिकेटको हतियार रहेको बलिङ पक्षलाई भने यसपालि केही कमजोर रहेको आकलन गरिएको थियो। चोटका कारण तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टिममा थिएनन्। त्यस्तै स्पिन बलिङमा सन्दीपलाई साथ दिने अनुभवी खेलाडीको पनि अभाव थियो।

त्यसैले यो पटक बलिङभन्दा विश्वकप छनोटमा ब्याटिङको भर गरिएको थियो। तर भयो ठिक उल्टो। ओमान टुरमा कमजोर मानिएको बलिङ झन् फर्ममा आयो। जितेका अधिकांश खेलमा शानदार बलिङकै साथ रह्यो।

तर ब्याटिङले धोखा दियो

छनोट प्रतियोगिताको समूह चरणका तीन ओटै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल छनोट हुने निर्णयक सेमिफाइनल खेलमा भने यूएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित भयो। हारपछि नेपालका कप्तान सन्दीपको प्रतिक्रिया थियो, “खेलमा एउटा खराब दिन आउँछ। हामीले प्रतियोगिताभरि एकदमै राम्रो क्रिकेट खेल्यौं तर आजको एकदिनमा सबै नराम्रो भैदियो।”

सन्दीपले भने जस्तै प्रायः हरेक खेलमा हरेक टिमले कुनै न कुनै एक दिन ‘ब्याड डे’ को समाना गर्नेगर्छन्। दुर्भाग्य मान्नुपर्छ नेपालको टिमको लागि त्यो खराब दिन प्रतियोगिताको निर्णायक खेलमा आएर भयो।

सेमिफाइनल खेल विश्वकप छनोटको अन्तिम खुड्किलो थियो। गर या मरको यही एक खेलमा नेपाल चुक्यो जसले गर्दा छनोट प्रतियोगिताका बाँकी सबै खेल जितेको कुनै औचित्य नै भएन। यसलाई ‘ब्याड डे’ मानेर चित्त बुझाउन त ठिकै होला तर मुख्य कुरा यो निर्णायक खेलमा किन चुक्यो त नेपाल? उत्तर हो ब्याटिङको कारणले।

सेमिफाइनल हारेपछि सन्दीपले भनेका थिए, “ब्याटिङका लागि पिच एकदम राम्रो थियो, खेलमा १८० सम्मको लक्ष्य पूरा गर्न सक्ने खालको विकेट थियो। बलरहरूले शुरुमा गल्ती गरे पनि पछि राम्रो कमब्याक गरे। त्यसपछि ब्याटिङमा चाहिँ प्रतियोगिताभरि नै उतारचढाव भइरहेको थियो।”

केहि अपवादलाई छोड्ने हो भने यो सेमिफाइनल खेलमा मात्र होइन ओमान टुरका अधिकांश खेलमा नेपाललाई ब्याटिङले साथ दिएको थिएन। ब्याटिङ चलेको अपवादका म्याचमा कि त प्रतिद्वन्द्वी कमजोर थिए कि त पहिलो इनिङमा शानदार बलिङ गरेर नेपालले विपक्षी टिमको ‘ढाड भाँचिसकेको’ थियो।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानसँग मात्र ११७ रन बनाए पनि बलिङका कारण ओमानलाई ७८ रनमा रोक्दै लो स्कोर डिफेण्ड गरेको थियो।

कमजोर टिम फिलिपिन्ससँग भने नेपालले २१८ रन बनाएको थियो। क्यानडालाई पनि ८० रनमै रोकोर खेल जित्न सफल भयो। तर यूएईसँगको निर्णयक एक खेलमा बलिङ नचल्दा यूएईले १७५ रन हान्यो। तर नेपालको ब्याटिङ चलेन। १०७ मा अलआउट समेटियो।

यसअघिको चारदेशीय सिरिजमा आयरल्याण्डलाई शानदार बलिङका कारण १२७ रनमा रोके पनि ब्याटिङ फेरि खराब हुँदा ‘रन अ बल’ को लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। प्रतियोगिताको अन्तिम खेलमा फेरि ओमानलाई ८७ रनमा रोक्दा सहज भएको थियो।

त्यस्तै यो सिरिजको खेलमा पनि यूएईले दिएको १९३ रनको लक्ष्य नेपली ब्याटिङले पूरा गर्न सक्नेभन्दा माथि थियो।

यो ओमान टुरमा पनि नेपाली टिमको पुरानै फर्मुलाको निरन्तरता थियो। पहिले बलिङ गरेर विपक्षीलाई सस्तोमा रोकेर खेल जित्ने। तर विपक्षी टिमले धेरै रन हानेमा आफुले रन हान्ने ल्याकत भने राख्न सकेन। पुरानो समस्या यथावतै रह्यो।

पुबुदु भन्छन्, “हामीसँग टी–ट्वान्टीका लागि दुई तीनजना राम्रा ब्याटर छन्। मैले सही कम्बिनेसन भेट्नका लागि चारदेशीय सिरिजमा ब्याटरको क्रम परिवर्तन गरिरहेको थिए, किनकि ब्याटिङमा धेरै भ्वाङहरू थिए। तेस्रो नम्बरको पोजिसनको ब्याटिङका लागि संघर्ष गरिरहेका थियौं। फिनिसिङ टचमा हामी चुकिरहेका थियौं। त्यसैले यसमा अब धेरै गृहकार्य गर्नुपर्नेछ।”

बलिङ र ब्याटिङ दुवै पक्ष क्रिकेट खेलको दुई प्रमुख आधार हुन्। मैदानमा राम्रो प्रदर्शनका लागि कुनै पनि क्रिकेट टिम यी दुवै पक्षमा सन्तुलनमा हुनुपर्छ। अझ हालको क्रिकेटको माग त आक्रामक खेल हो।

विशेषगरी लिमिटेड ओभर क्रिकेट (ओडीआई र टी–ट्वान्टी) ब्याटिङतर्फ ढल्किरहेको छ। रोमाञ्चकताका लागि दर्शक पनि हाई स्कोर म्याच नै चाहन्छन्। टी–ट्वान्टीमा २०० र एकदिवसीय खेलमा ३०० को स्कोर सामान्य भइसक्यो।

हालको आधुनिक क्रिकेट भनेको विष्फोटक ब्याटिङको पर्याय बनिसकेको छ। तर नेपाली टिम पुरानै कसिलो बलिङ गरेर डिफेन्सिभ रणनीतिमा छ। अब पहिलेको जस्तो राम्रो बलिङ मात्र गरेर खेल जित्ने अवस्था छैन।

नेपालले अब आक्रामक खेलका लागि ब्याटिङलाई सुधार्नैपर्छ। सन्दीप पनि भन्छन्, “यदि भविष्यमा हामी राम्रो क्रिकेटको कुरा गरिरहेका छौं भने हामीले १७०,१८० रनको लक्ष्यचाहिँ चेज गरेर ने अगाडि बढ्नुपर्छ।”

“नेपाली टिमको दृष्टिकोणबाट हेर्दा यो प्रतियागिताले हामीले सिक्नुपर्ने चिज धेरै रहेको देखाएको छ। हामीलाई थाहा छ निश्चिय नै हाम्रो ब्याटिङको समस्यालाई समाधान गर्नुपर्नेछ,”,पुबुदु थप्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved